
प्रहरीको हतियार लुटेर डेरामा राखेका शिवराज धमला हतियार बेच्न ग्राहकको खोजीमा थिए । अर्कातर्फ प्रहरीले पनि उनलाई खोजिरहेको थियो ।
काठमाडौंको तारकेश्वर नगरपालिका– ११ मा डेरा गरी बस्ने धमलाले हतियार बिक्रीका लागि ग्राहक खोज्दै गरेको सूचना प्रहरीमा पुग्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमान्डमा टोली खटियो । धमलालाई प्रहरीले चिनिहाल्यो । उनलाई नियन्त्रणमा लिएर डेरामा लगियो ।
डेरामा लुकाएर राखेको अवस्थामा प्रहरीले एउटा चाइनिज पेस्तोल, उक्त पेस्तोलमा लाग्ने तीनवटा म्यागजिन, एउटा इन्सास राइफल, राइफलमा लाग्ने एउटा म्यागजिन, एउटा सट गन र २० वटा रबर बुलेट बरामद गर्यो ।
शुरूमा प्रहरीले नियन्त्रणमा लिने क्रममा धमला ‘तपाईंहरू को हो ? मैले चिन्दिनँ । मसँग केही छैन । पठाओ चलाउँछु,’ भन्दै उम्किन खोजेका थिए । अनि भदौ २४ को जेनजी आन्दोलनमा भूमिकासहितको फोटो प्रहरीले देखाएपछि मात्रै धमला नरम हुन थाले । उनले आफूसँग हतियार रहेको तर, उक्त हतियार जनक चलाउनेले ल्याएर दिएको बताए ।
धमलाकै बयानका आधारमा अनुसन्धान कार्यालयले इलाका प्रहरी कार्यालय टीकपुरसँग समन्वय गरेर कैलाली घर भएका चलाउनेलाई बुधबार राति सवा १० बजे नियन्त्रणमा लियो ।
पछि चलाउनेले काठमाडौं बस्ने मनोज ढुंगानाको कोठामा एउटा ग्यास गन रहको प्रारम्भिक बयानमा खुलाए । अनुसन्धान कार्यालयले बिहीबार बिहान मनोज बस्ने डेरामा खानतलासी गर्दा एउटा ग्यास गन र राइट कन्ट्रोल गियरको ‘नी क्याप’ बरामद गर्यो ।
ढुंगाना र चलाउने आफ्नो कोठामा हतियार राखेर तिहार मान्न घर (कैलाली) गएको र फर्किएपछि ढुंगानाले हतियार बिक्रीका लागि भनेको धमलाले बयानमा खुलाएका छन् ।
बरामद भएको हतियार प्रहरी वृत्त सोह्रखुट्टे वा प्रहरी वृत्त महाराजगञ्जमध्ये एउटाको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

धमला, ढुंगाना र चलाउने भदौ २४ गते राति एक बजेसम्म प्रहरीको हतियार लिएर हिँडेको अनुसन्धानले देखाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकाका प्रहरी युनिटबाटै धेरै हतियार लुटिएका छन् ।
अनुसन्धान कार्यालयले मात्रै २० थानभन्दा बढी साना/ठूला हतियार बरामद गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।
‘प्रहरीका ठूला र घातक हतियारहरू काठमाडौंमै लुकाएर राखेको सूचना प्रहरीसँग छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा आएका भिडियो हेर्दै अनुसन्धान गरेर हामीले पक्राउ गर्दै आएका छौं ।’
ती अधिकृतका अनुसार धमलाले बयान दिए अनुसार ढुंगानाले भनेर उनले हतियार कोठामा राखिदिएका थिए ।
प्रहरीका अनुसार ढुंगाना काठमाडौंको एक कलेजमा स्नातक तह पढ्दै आएका छन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ढुंगानाले ग्यास गनलाई राइफल भनेर डेरामा लुकाएर राखेका थिए ।
ढुंगानाको घर पनि कैलाली नै हो । आन्दोलनको रापतापपछि ढुंगाना तिहार मान्न घर गएका थिए । उनले हतियार बोकेर हिँडेको फोटो र भिडियो प्रहरीसँग छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार धमला, चलाउने र ढुंगाना भदौ २४ को आन्दोलनमा सक्रिय भएर लागेका थिए । उनीहरूले जानीजानी प्रहरीको हतियार लुटेर लुकाएका थिए ।
‘प्रहरीको हतियार लुटेपछि कारबाही हुन्छ भन्ने थाहा छैन ? भनेर हामीले सोध्दा थाहा भएपनि लिएर गएको भन्ने जवाफ उनीहरूले दिएका छन्,’ एसपी आचार्यले लोकान्तरसँग भने, ‘पक्राउ परेका तीन जनालाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरको जिम्मा लगाउँछौं ।’