११ साउन २०८३, सोमबार

अफगानिस्तानसँग १७ रनले हार्‍यो नेपाल, दोस्रो खेल दक्षिण अफ्रिकासँग

कात्तिक २१, २०८२
काठमाडौं
अफगानिस्तानसँग १७ रनले हार्‍यो नेपाल, दोस्रो खेल दक्षिण अफ्रिकासँग

‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपाली टोली अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाएर एक सय १२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै केवल १४ बलमा अविजित ५३ रन बनाए । उनले यस क्रममा आठ छक्का र एक चौका प्रहार गरे ।

अफगानिस्तानविरुद्ध कप्तानको भूमिकामा ओर्लिएका सन्दीप जोरा प्रतियोगिताको नियम अनुसार, अर्धशतक पूरा गरेपछि ‘रिटायर्ड आउट’ हुँदै मैदानबाट बाहिरिए ।

अर्का ओपनर लोकेश बम १० बलमा एक छक्काको मद्दतले केवल १० रन बनाउँदै आउट भए । उनले सोचेजस्तो ब्याटिङ गर्न सकेनन् ।

रासिद खान पनि ६ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । आदिल आलमले पाँच बलमा दुई चौकाको मद्दतले अविजित ११ रन बनाए । रुपेश सिंह एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा नौ रन पायो ।

त्यसअघि, नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । रासिद खानले चार विकेट लिए । उनले दुई ओभरमा केवल २७ रन खर्चिए ।

लोकेश बमले पनि एक विकेट हात पारे । अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । कप्तान गुलबदिन नाइबले पनि २२ रन जोडे । फर्मानुल्लाह साफीले पनि ३० रन बनाए ।

नेपाल र अफगानिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा तेस्रो टोलीको रुपमा दक्षिण अफ्रिका रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । अफगानिस्तानले भने आफ्नो दोस्रो खेल शुक्रबार नै दक्षिण अफ्रिकासँग खेल्नेछ ।

‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ को २१औँ संस्करणमा १२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’ मा भने भारत, पाकिस्तान र कुवेत रहेका छन् ।

यसैगरी, समूह ‘डी’ मा बंगलादेश, आयोजक हङ्कङ र श्रीलंका रहेका छन् । प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्नेछन् ।

‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगितामा दुबै टोलीले ६–६ ओभर ब्याटिङ गर्नेछन् । दुबै टोलीमा ६–६ जना खेलाडी हुन्छन् ।

फिल्डिङ गर्ने टोलीका ६ जना खेलाडीले नै बलिङ गर्न पाउँछन् । एकजना खेलाडीमात्र दुई ओभर बलिङ गर्न पाउँछ । तर, एउटा बलरले लगातार दुई ओभर बलिङ गर्न भने पाउँदैन ।

५० रन बनाएपछि ब्याट्सम्यानले नट आउट रहँदै स्वत: क्रिज छाडनु पर्नेछ । पाँचौँ ब्याट्सम्यान आउट भएपछि पनि ओभर बाँकी रहेमा भने ५० रन बनाउने ब्याट्सम्यान पुन: ब्याटिङका लागि आउन पाउँछ ।

ओभर बाँकी रहँदै पाँचजना ब्याट्सम्यान आउट भए छैटौँ नम्बरमा नट आउट रहने ब्याट्सम्यानले पनि ब्याटिङ गर्न पाउँछ । यस्तो स्थितिमा पाँचौँ नम्बरमा आउट हुने ब्याट्सम्यानले रन लिनका लागि केवल ‘रनर’ को भूमिका निर्वाह गर्नेछ ।

नेपाली टोलीमा शरद भेषावकर (कप्तान), सन्दीप जोरा, लोकेश बम (विकेटकिपर), रुपेश कुमार सिंह, मोहम्मद आदिल आलम, रासिद खान र बसिर अहमद छन् ।

salt training

कमेन्ट गर्नुहोस्