
आफ्नो अभिव्यक्तिका कारण पक्राउ परेका कमल भुसाल (निकोलस)लाई धरौटी वा हाजिरी जमानीमा राखी अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
अदालतले अनुसन्धानको क्रममा भुसालको साथबाट कुनै विष्फोटक पदार्थ वा हातहतियार बरामद नभएको र उनको बयानसमेत भइसकेको उल्लेख गर्दै अभिव्यक्तिकै आधारमा थुनामा राखिराख्नु संविधानले सुनिश्चित गरेको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रताको उल्लङ्घन हुने ठहर गरेको छ।
त्यसैले अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार भुसाललाई धरौटी वा हाजिरी जमानीमा राखी अनुसन्धान गर्ने वा गराउने निर्णय गर्न गृह मन्त्रालयलगायत विपक्षी पक्षलाई परमादेश जारी गरेको जनाएको छ।
बन्दीप्रत्यक्षीकरणको रिटमा भुसालका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, कृष्ण प्रसाई र वीरभद्र जोशीले बहस गरेका थिए भने नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता सोमाकान्ता भण्डारी उपस्थित थिए।
*सच्याइएको