![७ सेकेन्ड स्वीच थिच्दा नगर प्रहरीको मोवाइलमा बज्नेछ अलर्ट, तुरून्तै पुग्नेछ दमकल [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/image_2025-11-11_215843778_lWAzk3qTdX.png)
ललितपुर महानगरपालिकाले आगलागीजस्ता विपद्को घटनामा तत्काल उद्धारका लागि 'फायर इमर्जेन्सी अलर्ट सिस्टम' सुरु गरेको छ। पाटन दरबार क्षेत्रमा जडान गरिएको उक्त प्रणालीको मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे। अब कुनै पनि स्थानमा आगलागी भएमा ७ सेकेन्डसम्म 'एसओएस' स्वीच थिच्नेबित्तिकै दमकललाई घटनास्थलको नक्सासहित सूचना पुग्नेछ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुले प्रणालीको बारेमा जानकारी दिँदै भने, 'स्वीच थिच्नेबित्तिकै महानगर प्रहरीको कार्यालयमा साइरन बज्छ र सबै अग्नि नियन्त्रकको मोबाइलमा म्यासेज र घटनास्थलको लोकेसनसहितको नक्सा पनि पुग्छ।' यसले गर्दा फोन व्यस्त हुने वा घटनास्थल पत्ता लगाउन गाह्रो हुने समस्या हट्ने र छिटोभन्दा छिटो सेवा प्रदान गर्न सकिने उनले बताए।
कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगलाई सधैं प्राथमिकता दिएको बताए। उनले भने, 'यो प्रविधिले विपद्को समयमा कुनै कमीकमजोरी हुन नदिन सहयोग पुर्याउँछ। फोन गर्दा ठाउँ ठ्याक्कै थाहा नहुने समस्या थियो, अब यो स्वीचले सही लोकेसन बताउँछ।'
उनले यो प्रणाली हाल परीक्षणका लागि पाटन दरबार क्षेत्र र पाटन अस्पतालमा जडान गरिएको र सफल भएमा महानगरका सबै चोकचोकमा विस्तार गरिने जानकारी दिए। यसैगरी उनले महानगरले थप दुईवटा अत्याधुनिक दमकल किन्ने प्रक्रिया पनि अघि बढाएको उनले बताए। यो प्रविधिले आगलागीबाट हुने धनजनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महानगरले लिएको छ।