
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा रवि भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।
रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको जानकारी दिएको थियो ।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ।
उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
पार्टी सभापतिसँगै जाने प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
सत्तारूढ रास्वपाको विज्ञप्ति जारी हुनु केही समयअघि मात्र भाजपाले उनको भारत भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो । भ्रमण क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा छ ।