२४ जेठ २०८३, आइतबार
जीवनदर्शन

वेद र अवेस्ता : सौरसेनी प्राकृत भाषापरिवारको इण्डो–ईरानी शाखाको उपज !

कात्तिक २९, २०८२
काठमाडौं
वेद र अवेस्ता : सौरसेनी प्राकृत भाषापरिवारको इण्डो–ईरानी शाखाको उपज !

वेद र अवेस्ता दुवै प्राचीनतम धर्मग्रन्थ हुन् । दुवै समकालीनमात्र होइनन् उनीहरूले धर्म र भाषालाई समेत जनाउने गरेका छन् । यिनमा वेद सनातनी आर्यहरूको धार्मिक ग्रन्थमा पर्दछ भने अवेस्ता फारसी (ईरानी)हरूको धार्मिक ग्रन्थमा पर्दछ । सनातनी आर्यहरूको वैदिक धरातल जति फराकिलो छ अवेस्ताको धरातल पनि त्योभन्दा कम रहेको पाइन्न ।

सनातनी आर्यहरूले वेदको माध्यमबाट विशाल वैदिक धर्म–दर्शन तथा साहित्य र संस्कृति निर्माण गरेका थिए, जुन अहिलेसम्म पनि भारतीय उपमहाद्वीपको धरोहरको रूपमा रहेको छ । फारसीहरूले अवेस्ताको माध्यमबाट जरथ्रुष्ट्रधर्म तथा साहित्य र संस्कृति निर्माण गरेका थिए, जुन सातौँ शताब्दीतिरको इस्लामको आक्रमणपूर्वसम्म फारस (ईरान)को मूल धर्म र संस्कृति रहेको थियो । सर्वाधिक प्राचीन मानिएको ऋग्वेदलाई ई. पू. १८०० यताको उपज मानिन्छ । अवेस्तासाहित्यको समय पनि करिब त्यतैतिरको पाइएको छ । यस आलेखमा यी दुई ग्रन्थका बीचमा विद्यमान यस्तैयस्तै समानता खोज्ने प्रयास गरिएको छ ।​

प्रथमत: विद् ज्ञाने (जान्नु वा बोध गर्नु) धातुबाट वेदशब्द निर्माण भएको छ । अवेस्ताका शब्दको मूल पनि विद् धातुबाटै उत्पन्न भएको मानिन्छ । किनभने अवेस्ताको पहिलेको भाषा अवेस्तानी थियो, जसको उत्पत्ति अविस्तविक शब्दबाट भएको देखिन्छ, जुन शब्दको मूलमा विदधातु रहेको पाइन्छ । ऋग्वेद ४०० भन्दा बढी (४०३) ऋषिहरूद्वारा गाइएको मन्त्रहरू छन्, जसमा विश्वामित्र, वसिष्ठ, वामदेव, अत्रि, कण्व, अङ्गिरा आदि प्रमुख मानिएका छन् । अवेस्थामा पनि धेरै प्यागम्बरहरूद्वारा गाइएको पद्यहरू रहेका छन्, जसमा जरथ्रुस्ट्र प्रमुख मानिएका छन् । वैदिकऋषिहरू ईश्वरीय वाणीका ज्ञाता मानिन्छन् । जरथ्रुष्ट्र पनि अहुर्मज्द (ईश्वर) को सन्देशबाहक मानिएका छन् ।

वेदमा यज्ञअनुष्ठान तथा पूजा, स्तुति र प्रार्थनापरक मन्त्रहरू रहेका छन् । अवेस्ताको पनि अवस्था करीव यस्तै रहेको पाइन्छ । वेदको कुल ११३१ शाखा र एक लाखभन्दा बढी मन्त्र रहेको उल्लेख भेटिए पनि हाल केही शाखाको मात्र उपस्थिति देखिन्छ । अवेस्तामा पनि २० लाखभन्दा बढी पद्य रहेकोमा हाल ८३ हजार पद्यमात्र रहेको पाइएको छ । वेदका मन्त्रहरू लामो समयसम्म श्रुति तथा मौखिकपरम्परामा सीमित रहेको र निकै पछि गएरमात्र लिपिबद्ध भएको मानिन्छ, जुन काम भोजपत्रहरूमा हुने गरेको थियो । अवेस्ता पनि शुरूमा मौखिक गानात्मक नै थियो । पछिमात्र गाईको छालामा लिपिबद्ध हुन पुगेको हो ।

थाहा छैन वेदका मन्त्रहरू लिपिबद्ध गर्न कति भोजपत्र प्रयोग भएका थिए होलान् तर अवेस्ताको पद्यहरूलाई लिपिबद्ध गर्दा भने १२ हजार गाईको छाला प्रयोग भएको उल्लेख भेटिन्छ, जसको अधिकांश खण्ड फारसी साम्राज्य खासानीको पालामा भएको सिकन्दरको आक्रमणमा परी नष्ट भएको थियो तर केही भागलाई भने सिकन्दरका सैनिकहरूले युनानतिर लगेर ग्रीसेली भाषामा अनुवाद गराएका थिए । सिकन्दको आक्रमणबाट जेजति बचेका थिए तिनको पनि धेरै खण्ड अरबीहरूको आक्रमणका कारण जलेर नष्ट भएका थिए । त्यसपछिमात्र बचेकालाई फारसी सासानी साम्राज्यको प्रारम्भमा पहलवी (ईरानी) भाषामा अनुवाद गरेर सुरक्षित गरिएको पाइन्छ ।  

वेद र अवेस्था दुवैको शब्द तथा व्याकरणको संरचनामा गहिरो सम्बन्ध रहेको पाइन्छ । किनभने ऋग्वेदको भाषा र अवेस्ताको भाषा वैदिक संस्कृतसित धेरैहदसम्म मिल्दोजुल्दो रहेको छ । ऋग्वेदको भाषा सौरसेनी प्राकृत भाषापरिवारमा पर्दछ । अवेस्तानी भाषाको मूल पनि सौरसेनीप्राकृतसितै सम्बन्धित रहेको देखिन्छ । सौरसेनी भाषाको चलन पश्चिम भारत (गुजराँत) तिर प्रचलित छ । गुजराँतलाई सौराष्ट्र पनि भनिन्छ, जसको प्राकृत उच्चारण जौराष्ट्र हुन्छ । अवेस्तामा उल्लेख भएको जरथ्रुष्ट्रधर्म तथा साहित्य सम्बन्धी शब्द पनि यसैको अपभ्रंशरूप मानिएको छ ।

यसको आधारमा भन्नुपर्दा यी दुवै भाषाको व्याकरण एउटै रहेको बुझिन्छ । अझ कतिपयको मतमा त सौरसेनी प्राकृत र अवेस्तानी भाषा दिदीबहिनीको रूपमा रहेका थिए । उनीहरूका अनुसार यी दुवैको भाषाको कतिपय शब्द मिल्दोजुल्दो मात्र छैन कतिपय शब्द जस्ताको तस्तैसमेत प्रयोग हुने गरेको छ । भेद छ भने केवल ध्वन्यात्मकरूपमा भेटिन्छ । जस्तै वैदिक शब्द आर्यलाई अवेस्तामा अरिया भनिएको छ भने असुरलाई आहुरा र ऋत (सत्य)ं शब्दको उच्चारण अश हुन पुगेको पाइन्छ ।

त्यसैगरी वैदिक शब्द देव अवेस्तामा डेवा हुन पुगेको पाइन्छ भने वैदिक पेय सोमलाई अवेस्तामा आहोमा भनिन्छ । त्यस्तै वेदको मित्र शब्द अवेस्तामा मिथ्र: हुन पुगेको छ भने नरसिंहको उच्चारण नरिसङ्गस र द्यौस्पिता (बृहस्पति)लाई जिउस भन्ने गरिएको पाइन्छ । वेदको यज्ञ, अग्नि, गरुड, वरुण, विष्णु आदि शब्दको उच्चारण भने जस्ताकोतस्तै हुने गरेको देखिन्छ । वेदमा पनि देवासुर सङ्ग्रामको प्रसङ्ग आएको छ अवेस्तामा पनि त्यस्तै प्रसङ्ग धेरै स्थानमा आएको देखिन्छ । त्यसैले ऋग्वेद र अवेस्ताको मूलमा एकै प्राचीन संस्कृति र भाषा रहेको प्रष्टै अनुभूत गर्न सकिन्छ । दुवैले धर्मको मात्र प्रतिनिधित्व गरेका छैनन् सामाजिक संरचनामा पनि समान योगदान दिएका छन् ।

केही फारसीहरू अहिले पनि आफ्ना पूर्वजहरू सौराष्ट्रबाट आएको बताउने गरेको पाइन्छ । यसैको आधारमा कतिपय भाषा तथा नृवंशशास्त्रीहरूले के भन्ने गरेका छन् भने आर्यजातिका प्राचीन आवासक्षेत्रलाई आर्यावजेय भनिन्थ्यो, जुन स्थानमा आर्यजाति लामो समयसम्म सँगै बसेका थिए, सँगै खाएका थिए, एउटै रीतिरिवाजमा आवद्ध थिए । एउटै भाषा बोल्थे, जसको नाम सौरसेनी थियो । बिस्तारै उनीहरूका शाखाहरू धेरै भए । यिनमा दुई कुलका मानिस पछि गएर एउटा इण्डियन र अर्को ईरानी शाखाको नामले चिनिन थाले, जसलाई संयुक्तरूपमा इण्डो–ईरानी भन्ने गरिएको छ । यीमध्ये ईरानीशाखाकाहरू अफगानिस्थान हुँदै ईरानतिर गएर रहन लागे भने इण्डो शाखाकाहरू भारतीय उपमहाद्वीपमा छरिएर रहन लागे । त्यसैले वेद अवेस्ता प्रणयनको काम एउटै माऊ भाषाको परिवारबाट भएको स्वत: अनुभूत गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्