०७ साउन २०८३, बिहीबार

राजस्थान रोयल्समा दोहोरो भूमिकामा कुमार सांगाकारा

मंसिर १, २०८२
काठमाडौं
राजस्थान रोयल्समा दोहोरो भूमिकामा कुमार सांगाकारा

​इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणमा कुमार सांगाकाराले राजस्थान रोयल्समा दोहोरो भूमिका निर्वाह गर्ने भएका छन् । उनले राजस्थान रोयल्सका लागि प्रमुख प्रशिक्षक र निर्देशकको दोहोरो भूमिका निर्वाह गर्नेछन् ।

अघिल्लो सिजन ब्याटिङ प्रशिक्षकको भूमिकामा रहेका विक्रम राठौडलाई भने राजस्थान रोयल्सले आगामी संस्करणका लागि सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । सांगाकाराले यसअघि पनि राजस्थान रोयल्समा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

श्रीलंकाका प्रभावशाली पूर्वखेलाडी सांगाकारा सन् २०२२ र सन् २०२४ मा पनि क्लबको प्रमुख प्रशिक्षक थिए । ‘सांगाकाराको प्रशिक्षकत्वमा यसअघि पनि क्लबले उत्कृष्ट प्रदर्शन गरेको छ । आगामी संस्करणमा पनि हामीले त्यस्तै प्रदर्शनको आश गरेका छौँ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सांगाकाराको प्रशिक्षकत्वमा राजस्थान रोयल्स सन् २०२२ मा फाइनलसम्म पुगेको थियो । सन् २०२४ मा पनि उनकै प्रशिक्षकत्वमा राजस्थान रोयल्स प्ले–अफ चरणसम्म पुगेको थियो ।

राजस्थान रोयल्सका मालिका मनोज बदालेले पनि सांगाकारालाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको स्वीकारेका छन् ।

सांगाकाराले पनि प्रमुख प्रशिक्षकका रूपमा पुन: राजस्थान रोयल्ससँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्