
भारत मिडिया र मनोरञ्जन उद्योगका ग्लोबल क्यापाबिलिटी सेन्टर (जीसीसी)का लागि विश्वकै प्रमुख गन्तव्यका रूपमा तीव्र गतिमा अघि बढिरहेको छ । विशेषज्ञहरूका अनुसार यी केन्द्रहरू अहिले 'मिडिया क्यापाबिलिटी सेन्टर' का रूपमा विस्तार हुँदै छन् ।
भारतमा स्थापित यी केन्द्रहरू विश्व प्रसिद्ध मिडिया कम्पनीहरूको उत्पादन, पोस्ट–प्रोडक्सन, लोकलाइजेसन, डाटा एनालिटिक्स र विज्ञापनजस्ता कार्यहरू सम्पन्न गर्ने आधारभूत संरचना बनेका छन् ।
उद्योग विश्लेषकहरूका अनुसार यो परिवर्तन अब केवल 'कम लागतको ब्याक–अफिस' बाट अघि बढेर रणनीतिक रूपमा भारतलाई 'नवाचार र क्षमताको केन्द्र' बनाउँदै लैजान खोजिएको संकेत हो ।
अर्न्स्ट एन्ड यङको 'ए स्टुडियो कल्ड इन्डिया' शीर्षकको प्रतिवेदनअनुसार मिडिया क्यापाबिलिटी सेन्टरहरू प्रसारण, डिजिटल, विज्ञापन, खेलकुद, गेमिङ र प्रकाशनलगायत क्षेत्रमा सेवा दिने विशेष केन्द्रहरू हुन् । प्रतिवेदनका अनुसार भारतमा अहिले करिब ५० मिडिया जीसीसी छन्, जसको मुख्य उपस्थिति मुम्बई, चेन्नई, हैदरावाद, दिल्ली र बेंगलुरुमा छ ।
भारतको सबैभन्दा ठूलो बलियो पक्ष यसको जनशक्ति हो । यहाँ दृश्य–प्रभाव, एनिमेसन, गेमिङ, लोकलाइजेसन र इमर्सिभ मिडियामा दक्ष १ लाखभन्दा बढी क्रिएटिभ प्रोफेसनल्स छन् । मेनस्ट्रीम भाषाहरूमा कन्टेन्ट उत्पादन गर्ने क्षमताले पनि भारतलाई लोकलाइजेसनमा प्रतिस्पर्धी बढाइ दिएको छ ।
३५ प्रतिशतसम्म लागत बचत
उद्योगका मापदण्डहरूअनुसार भारतमा मिडिया क्यापाबिलिटी सेन्टर सञ्चालन गर्दा मिडिया कम्पनीहरूले बर्सेनि १० देखि २५ प्रतिशतसम्म लागत घटाउन सक्ने देखिएको छ । स्वचालन र क्रिएटिभ टेक्नोलोजीको प्रयोगसँगै दक्ष साझेदारसँग काम गर्दा यो लागत बचत ३५ प्रतिशतसम्म हुने सुझाव विश्लेषकहरूले दिएका छन् ।
नेटफ्लिक्सले हैदरावादको हाइटेक सिटीमा ४१ हजार वर्गफुट क्षेत्रमा नयाँ क्रिएटिभ टेक्नोलोजी क्यापाबिलिटी सेन्टर स्थापना गरेको छ । जुलाई महिनामा खेलकुद स्ट्रिमिङ प्लेटफर्म डेजोनले भारतमा ग्लोबल स्पोर्ट्स टेक्नोलोजी अपरेसन सेन्टर खोलेको छ, जसमा ५० करोड रुपैयाँ लगानी र करिब ३ हजार जनालाई रोजगारी दिने लक्ष्य छ ।
'विश्व मिडियाको इनोभेसन इन्जिन'
अर्न्स्ट एन्ड यङ भारतका मिडिया तथा मनोरञ्जन क्षेत्र प्रमुख आशिष फेरवानीका अनुसार भारतका मिडिया क्यापाबिलिटी सेन्टरहरूले अब केवल लागत प्रतिस्पर्धा होइन, सिर्जनशीलता, प्रविधि र स्केलको संयोजनमार्फत विश्व मिडिया सञ्चालनलाई पुनर्परिभाषित गरिरहेका छन् ।
'५० भन्दा बढी विशेष केन्द्रहरू र करिब १ लाख 'क्रिए–टेक' जनशक्तिसहित भारत एआई–आधारित कार्यप्रवाहमार्फत ५० प्रतिशतसम्म लागत कार्यक्षमता दिन सक्षम छ,' उनले भने ।
उनका अनुसार विश्वका प्रमुख मिडिया कम्पनीहरूले अब आफ्नो सञ्चालन भारतमा एकीकृत गर्दै छन् । 'यो लहरले लगानी बढाइरहेको छ, उच्च मूल्यका रोजगारी सिर्जना भइरहेको छ र भारत विश्व मिडियाको 'इनोभेसन इन्जिन' बन्दैछ ।'
पिडब्ल्युसी भारतका मिडिया, मनोरञ्जन र खेलकुद प्रमुख राजेश सेठीका अनुसार भारत उत्पादन लागतमा लाभदायक हुनु त छँदैछ, तर अब रणनीतिक ध्यान नवाचार, बौद्धिक सम्पदा निर्माण र एआई प्रविधिमा नेतृत्वतर्फ मोडिएको छ ।
अल्भारेज एन्ड मार्सल भारतका बिजनेस ट्रान्सफर्मेसन सेवा प्रमुख शिल्पा मलैया सिङ्घाईका अनुसार भारतका मिडिया क्यापाबिलिटी सेन्टरहरू अब गहिरो प्रविधि र नवाचार केन्द्रका रूपमा विकसित हुँदैछन् ।
'रचनात्मक क्षमता, एआई र अटोमेसनको मेलले विश्व मनोरञ्जनको भविष्य यतैबाट निर्धारण हुनेछ ।'
उनका अनुसार भारतमा अहिले १ हजार ७०० भन्दा बढी ग्लोबल क्यापाबिलिटी सेन्टर छन्, तर तीमध्ये केवल २–३ प्रतिशत मिडिया उद्योगसँग सम्बन्धित छन् । यो प्रतिशत अब द्रुत गतिमा बढ्ने देखिन्छ ।
लागतको हिसाबले पनि भारत ३०–४० प्रतिशत फाइदामा रहेको उनले बताइन् ।
महाराष्ट्रको नागपुरमा निर्माणाधीन एभीजीसी–एक्सआर हबलाई उनले भारत सरकारको नीतिगत तयारीको उदाहरणका रूपमा प्रस्तुत गरिन् । 'भारत चाँडै नै विश्वकै शीर्ष तीन मिडिया केन्द्रमध्ये एक बन्नेछ,' उनले भनिन् ।
विश्व प्रख्यात कम्पनीहरूको लगानी
वार्नर ब्रदर्स डिस्कभरीले हैदरावादमा आफ्नो सबैभन्दा ठूलो टेक–हब खोलेको छ, जहाँ प्रोडक्ट इन्जिनियरिङ मुख्य फोकस हो । कम्केस्टले पनि भारतमा क्षमता केन्द्र स्थापनामा चासो देखाएको छ ।
डब्लुपिपीले चेन्नईमा आफ्नो नयाँ क्याम्पस विस्तार गर्दैछ । मध्यम–२०२५ सम्म कर्मचारी संख्या ३३० बाट बढेर ६५० पुग्ने लक्ष्य छ र यो २ हजारदेखि ३ हजारसम्म पुर्याउने योजना बनाइएको छ । कम्पनीले आगामी केही वर्षमा भारतमा ७ हजारदेखि ८ हजार जनालाई रोजगारी दिने घोषणा गरिसकेको छ ।
अमेरिकी विज्ञापन समूह इण्टरपब्लिकको आइपिजि मिडियाब्रान्ड्सले पुणेमा आफ्नो सबैभन्दा ठूलो ग्लोबल सेन्टर अफ एक्सिलेन्स खोलेको छ, जसमा ३ हजार कर्मचारी रहनेछन् ।
अर्न्स्ट एन्ड यङको प्रतिवेदनका अनुसार युट्युबले कन्टेन्ट मोडरेशन, क्रिएटर सपोर्ट र क्षेत्रीय मोनेटाइजेसन रणनीति भारतबाट सञ्चालन गर्छ । प्राइम भिडियोले डबिङ, क्वालिटी चेक र पोस्ट–प्रोडक्सन भारतमै गर्दै आएको छ ।
स्पोटिफाइको भारतीय टोलीले प्लेलिस्ट क्युरेसन र एआई–आधारित रिकमेन्डेसन हेर्छ । मेटाले कन्टेन्ट सेफ्टी, एआई अनुसन्धान र भिडियो इन्टेग्रिटी सञ्चालन भारतमा नै गरिरहेको छ ।
डब्लुपिपी र ग्रुपएमले विज्ञापन तथा एनालिटिक्स कार्य भारतबाट नेतृत्व गर्छन् । वार्नर ब्रदर्स डिस्कभरीले पनि आफ्नो उपभोक्ता विश्लेषण, स्ट्रिमिङ टेक्नोलोजी र प्रोडक्ट अपरेसन भारतमै सम्हाल्छ ।
सरकारी सहयोगले थप गति
सरकारी सहयोगले पनि यस परिवर्तनलाई गति दिएको विशेषज्ञहरू बताउँछन् । सूचना तथा प्रसारण मन्त्रालयले प्रोत्साहन, सह–उत्पादन सम्झौता र एक–झ्याल सेवामार्फत भारतलाई 'ग्लोबल मिडिया हब' बनाउने रणनीति अघि बढाइरहेको छ ।
सेठीका अनुसार सरकारको १०० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी नीतिले पनि यो गति बढाएको छ । 'यसले हजारौं उच्च मूल्यका रोजगारीहरू सिर्जना गर्दै भारतलाई विश्व मनोरञ्जन मूल्य शृङ्खलामा पुनर्स्थापित गरिदिएको छ ।'
उनका अनुसार गहिरो कथावाचन परम्परा र क्लाउड रेन्डरिङ, एआई–आधारित लोकलाइजेसन र इन्टरएक्टिभ मिडियामा अग्रणी क्षमताको संयोजनले भारतलाई 'क्रिएटिभ–टेक पावरहाउस' को रूपमा स्थापित गरिरहेको छ ।