२९ असार २०८३, सोमबार
नेपाल प्रिमियर लिग क्रिकेट

साबिक विजेता जनकपुरलाई हराउन काठमाण्डूले १३१ रन बनाउनु पर्ने

मंसिर १, २०८२
काठमाडौं
साबिक विजेता जनकपुरलाई हराउन काठमाण्डूले १३१ रन बनाउनु पर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उद्‌घाटन खेलमा सोमबार साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३० रन बनायो । पालीको गतिलो शुरूआत गरे पनि पाँचौं ओभरमा लगातार दुई विकेट गुमाएपछि जनकपुर बोल्ट्स दबाबमा परेको थियो ।

जनकपुरका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५४रनको योगदान गरे । यसक्रममा उनले केवल ४१ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । एनपीएलको दोस्रो संस्करणमा छक्का प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बने ।

त्यसअघि, उनले ३७ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी एनपीएलको दोस्रो संस्करणमा छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । आसिफ शेख र लाहिरु मिलनथाले ओपनि विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए ।

मिलनथा भने १२ बलमा एक चौकाको मद्दतले सात रनमात्र बनाउन सके । उनी एनपीएलको दोस्रो संस्करणमा चौका प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बने । पाँचौं ओभरमा मिलनथा र अनिल साह (शून्य रन) को विकेट गुमाएरपछि जनकपुर बोल्ट्स दबाबमा परेको थियो ।

जनकपुरका लागि माथिल्ला पाँचमध्ये एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । छैटौँ नम्बरमा क्रिज समाल्न आएका मायान यादवले टोलीको खातामा महत्वपूर्ण अविजित ३४ रनको योगदान गरे । उनले २९ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।

लाहिरु समाराकुनले पनि टोलीको खातामा २२ रन थपे । उनले २१ बलमा दुई छक्का हिर्काए । काठमाण्डू गोर्खाजका बलर मिलिन्द कुमारले तीन विकेट लिए । उनले चार ओभरमा केवल १५ रन खर्चिए । करण केसी, साहद आलम र सन्तोष यादवले पनि एक/एक विकेट हात पारे ।

त्यसअघि, प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्‌घाटन गरेकी थिइन् ।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्