१३ असार २०८३, शनिबार
आन्दोलन घोषणा गरेका प्रसाईं पक्राउ

मध्यराति किन पक्राउ परे दुर्गा प्रसाईं ?

मंसिर २, २०८२
काठमाडौं
मध्यराति किन पक्राउ परे दुर्गा प्रसाईं ?

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । सोमबार राति भक्तपुरस्थित निवासबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । 

आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ । प्रसाईंले आन्दोलन गरेर देशै ठप्प पार्ने भन्दै अभिव्यक्ति दिइरहेका थिए । 

नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले सोमबार मात्रै पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले बोलाए मात्र सरकारसँग वार्तामा बस्ने बताएका थिए । सरकारले आफूहरूका माग पूरा नगरे मंसिर ७ देखि आन्दोलन शुरू गर्ने उनको चेतावनी थियो । 

प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र वार्तामा बस्ने भन्दै उनले गृहमन्त्रीसँग वार्तामा बस्न अस्वीकार गरेका थिए । कात्तिक २६ गते प्रसाईंका सहयोगीहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेका थिए ।

किराँत, बौद्धसहितको सनातन हिन्दु राष्ट्र घोषणा, गरिबको ऋण मिनाहालगायत २७ बुँदे मागसहित प्रसाईंले मंसिर ७ देखि आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईंले यसपटक आफूहरूको आन्दोलन पूर्वपश्चिम महेन्द्र राजमार्ग केन्द्रित हुने बताएका छन् ।

यसअघि प्रसाईं नेतृत्वको अभियानले सरकारसमक्ष २७ बुँदे माग पेश गरेको थियो । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी गत बुधबार २७ बुँदे माग पेश गरिएको थियो ।

यसअघि गत १५ चैतको हिंसात्मक आन्दोलनपछि पनि उनी पक्राउ परेका थिए । तर, अदालतको आदेशपछि  धरौटीमा छुटेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्