०२ साउन २०८३, शनिबार

दूध, मासु र तरकारीमार्फत शरीरमा पुग्दैछ एन्टिबायोटिक

असार १३, २०८३
काठमाडौं
दूध, मासु र तरकारीमार्फत शरीरमा पुग्दैछ एन्टिबायोटिक

हामीले दैनिक रूपमा उपभोग गर्ने दूध, मासु, अण्डा, माछा तथा फलफूल र तरकारीका माध्यमबाट एन्टिबायोटिक औषधिहरू हाम्रो शरीरमा प्रवेश गरिरहेको पाइएको छ। पशुपालन र खाद्य उत्पादनका क्रममा प्रयोग गरिने यस्ता औषधिहरू खानेकुरामा अवशेषका रूपमा बाँकी रहने भएकाले यो अदृश्य संकट हाम्रो थालीसम्म आइपुगेको हो। 

खानामा रहने यस्ता औषधिको मात्रा सुरुमा निकै कम देखिए पनि लामो समयसम्म यसको निरन्तर उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ। विश्वभर नै प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखा परेको 'एन्टिबायोटिक रेजिस्टेन्स' हुनुको एउटा ठूलो कारण खाद्य पदार्थमार्फत शरीरमा पुगिरहेको एन्टिबायोटिक नै हो।

खाद्य शृङ्खलामा एन्टिबायोटिक मिसिनुका पछाडि पशुपालन र कृषि क्षेत्रका विभिन्न कमजोरीहरू जिम्मेवार छन्। कुखुरा, गाई, भैँसी र माछाजस्ता जीवहरूलाई रोग निको पार्न वा उत्पादन बढाउन एन्टिबायोटिक दिने गरिन्छ। नियमअनुसार जनावरलाई औषधि दिएपछि निश्चित समयसम्म उनीहरूको दूध वा मासु बिक्री गर्न पाइँदैन। तर, यो नियम पालना नगर्दा ती औषधिका अवशेषहरू सिधै मानव भोजनमा आइपुग्छन्। 

यसबाहेक चिकित्सकको सल्लाहबिना पशुपन्छीलाई मनपरी एन्टिबायोटिक खुवाउनाले पनि यो समस्या बढेको छ। कृषिको कुरा गर्दा, बालीनालीमा अत्यधिक कीटनाशकको प्रयोग, औद्योगिक प्रदूषणका कारण दूषित बनेको माटो र पानी, तथा एन्टिबायोटिक खुवाइएका पशुको गोबरबाट बनेको जैविक मलका कारण फलफूल र तरकारीमा समेत एन्टिबायोटिकका अंशहरू सर्ने गरेका छन्।

भोजनका माध्यमबाट शरीरमा प्रवेश गर्ने यी रसायनहरूले तत्कालै ठूलो असर नदेखाए पनि दीर्घकालमा कलेजो र मिर्गौलामा गम्भीर क्षति पुर्‍याउँछन्। यदि खानामा यसको मात्रा धेरै छ भने तत्कालै नकारात्मक असरहरू देखिन सक्छन्, तर कम मात्रा भएमा बिस्तारै स्वास्थ्य बिग्रिँदै जान्छ। 

यसले हाम्रो पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। यसको सबैभन्दा खतरनाक पाटो भनेको शरीरमा रहेका ब्याक्टेरियाहरू बिस्तारै यी औषधिहरूसँग अभ्यस्त हुनु हो। परिणामस्वरूप, भविष्यमा कुनै गम्भीर रोग लाग्दा एन्टिबायोटिक औषधिहरूले शरीरमा काम गर्न छाड्छन्। 

विशेष गरी बालबालिका, वृद्धवृद्धा र पेट सम्बन्धी समस्या भएका मानिसहरू यसबाट बढी प्रभावित हुने गरेका छन्। स्वास्थ्य विज्ञ र पोषणविद्हरूका अनुसार यसले पेटमा रहने फाइदाजनक ब्याक्टेरियालाई नष्ट गर्दछ।

कुनै पनि खानेकुरामा एन्टिबायोटिक मिसावट छ वा छैन भन्ने कुरा यसको रङ, स्वाद वा गन्धबाट थाहा पाउन असम्भव हुन्छ। यसका लागि प्रयोगशालामा गरिने 'माइक्रोबियल इनहिबिसन टेस्ट', वा वैज्ञानिक परीक्षणहरू नै आवश्यक पर्छन्। अचेल बजारमा दूध परीक्षणका लागि केही द्रुत किटहरू उपलब्ध भए पनि सर्वसाधारणले आफैँ यसको पहिचान गर्न सक्दैनन्। 

धेरैमा भ्रम छ कि खानेकुरालाई राम्ररी पकाउँदा वा उमाल्दा एन्टिबायोटिक नष्ट हुन्छ, तर धेरैजसो एन्टिबायोटिकहरू 'हीट-स्टेबल' अर्थात् ताप सहन सक्ने खालका हुने भएकाले पकाउँदा पनि पूर्ण रूपमा नष्ट हुँदैनन्। त्यस्तै, बजारमा पाइने अर्गानिक खानेकुराहरू तुलनात्मक रूपमा सुरक्षित मानिए पनि तिनमा प्रयोग हुने प्राकृतिक कीटनाशक वा भण्डारणको कमजोरीका कारण तिनीहरू पनि शतप्रतिशत सुरक्षित हुँदैनन्।

यस्तो अवस्थामा उपभोक्ताहरू आफैँ सचेत हुन जरुरी छ। दूध, मासु र अण्डा जस्ता संवेदनशील वस्तुहरू संदिग्ध वा सस्तो मूल्यमा जथाभावी बेच्ने पसलबाट लिनु हुँदैन। भान्साको सरसफाइमा विशेष ध्यान दिँदै काँचो र पाकेको खानेकुरालाई सधैँ छुट्टाछुट्टै राख्नुपर्छ। 

स्थानीय स्तरमा विश्वासिलो सप्लायर वा प्रमाणित प्राङ्गारिक उत्पादनहरूलाई प्राथमिकता दिएर हामीले आफ्नो थाली र स्वास्थ्य दुवैलाई एन्टिबायोटिकको यो अदृश्य विषबाट जोगाउन सक्छौँ। एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्