०७ साउन २०८३, बिहीबार
नेपाल प्रिमियर लिग क्रिकेट

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

मंसिर २, २०८२
काठमाडौं
कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा मंगलबार चितवन राइनोजलाई जितका लागि एक सय ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ६६ रन बनाएको हो ।

कर्णाली याक्सका लागि ओपनर ब्याट्सम्यान प्रियांक पन्चालले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनी केवल १० रनका कारण शतक पूरा गर्नबाट चुके ।

भारतीय खेलाडी प्रियांकले टोलीका लागि ९० रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४८ बलको सामना गरी ६ छक्का र सात चौका हिर्काए ।

प्रियांकले २८ बलमा तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । उनी दोस्रो संस्करणमा अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् ।

दोस्रो संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी भने जनकपुर बोल्ट्सका आसिफ शेख हुन् । उनले सोमबार खेलिएको काठमान्डु गोर्खाजविरुद्धको उद्घाटन खेलमा अर्धशतक बनाएका थिए ।

चितवनविरुद्धको खेलमा कर्णालीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डड भने २० रन बनाउँदै आउट भएका थिए । उनले ३० बलमा एक चौका पनि प्रहार गरे ।

कर्णाली याक्सका लागि दुवै ओपनर ब्याट्सम्यानले ६१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क वाट २१ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए ।

पवन सर्राफ २७ र नजिबुल्लाह जदरान चार रनमा अविजित रहे । पवनले केवल १६ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।

कर्णालीले अतिरिक्त रूपमा नौ रन पायो । चितवन राइनोजका बलर सोहेल तनविर, सेन जेब र रवी बोपराले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्