२५ जेठ २०८३, सोमबार
गुणस्तरीय बन्दै सार्वजनिक सवारी

सार्वजनिक यातायातमा ‘छलाङ’: गुड्छन् ‘लग्जरियस’ बस, जहाजभन्दा बढी सुविधा

मंसिर ३, २०८२
बुटवल
सार्वजनिक यातायातमा ‘छलाङ’: गुड्छन् ‘लग्जरियस’ बस, जहाजभन्दा बढी सुविधा
प्रतीकात्मक तस्वीर

बुटवलका व्यवसायी कृष्ण पौडेल हरेक महिना कपडा हाल्न काठमाडौं जाँदा रात्रि बसमा यात्रा गर्छन् ।

युरो डिलक्स गाडीमा आरामदायी सोफा सिट (सुत्न पनि मिल्ने), सामान्य खाजा/पानी, इन्टरनेटसहितका सुविधा पाइने भएपछि महंगो जहाजमा भन्दा गाडीमा जाने गरेको कृष्ण सुनाउँछन् ।

‘पाँच/सात वर्ष अघिसम्म लामो दुरीमा चल्ने ठूला गाडी कस्ता पुराना ढर्राका थिए, अहिले कस्ता भित्रिए,’ कपडा व्यवसायी पौडेलले भने, ‘सडक पूर्वाधार राम्रोसँग विकास हुन नसके पनि यातायात व्यवसायीले सार्वजनिक सवारीमा गरेको लगानी साँच्चै सम्मानयोग्य छ । सडकको अवस्था, यात्रु अभाव र बन्द हड्तालले व्यवसायी समस्यामा पनि होलान् । तर, काठमाडौं जाने र लामो दुरीका लागि छुट्ने गाडीमा यात्रुलाई पुर्‍याएको प्रतिस्पर्धामूलक सेवा लोभलाग्दो र हेर्नलायक देख्छु म ।’

‘जहाज चढेर ६ हजार तिर्नुभन्दा रात्रि बसमा हजार/पन्ध्र सय तिरेर काठमाडौं जानु राम्रो भयो नि ?’ उनले थपे ।

सात वर्ष अघिसम्म सार्वजनिक गाडीमा केही व्यवसायीको एकाधिकार थियो । नयाँ व्यवसायी यातायात क्षेत्रमा प्रवेश गर्न ठूलो संघर्ष र पुराना समितिमा दर्ताका लागि पनि मोटो रकम बुझाउनुपर्ने अवस्था थियो । अहिले सार्वजनिक यातायात धेरै सुधार भएर गुणस्तरीय, आरामदायी बनेको लुम्बिनीका विद्यार्थी रितेश शाह बताउँछन् ।

null

बसमा जहाजमा जस्तै सुविधा !

विशेषगरी देशका प्रमुख शहरबाट लामो दुरीमा चल्ने गाडी अहिले अधिकांश सुविधायुक्त बनिसकेका छन् । व्यवसायीले युरो डिलक्स–४ हुँदै युरो डिलक्स–६ लग्जरियस बससम्म भित्र्याइसकेका छन् ।

अहिले पश्चिम नेपालका प्रमुख शहरबाट पूर्वी नेपाल र काठमाडौं चल्ने गाडी सबैजसो सुविधायुक्त छन् ।

लामो दुरीका बसका हरेक सिटमा मोबाइल चार्ज गर्न मिल्नेसहितको एयर कन्डिसन, एयर सस्पेन्सन सिस्टम, एसी र हिटर डिजिटल सिट नम्बर, सिलिपर, नि:शुल्क वाइफाई, अनलाइन टिकट बूकिङ, इमरजेन्सी मेडिकल सिट, सीसीटीभी निगरानीको व्यवस्था, ठूलो एलईडी टीभी र मुभी सिस्टम, प्राथमिक उपचारको व्यवस्था, बसमा आगलागी भए त्यसलाई नियन्त्रण गर्न आगो नियन्त्रण गर्ने यन्त्र पनि जडान भइसकेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् ।

सार्वजनिक यातायात गरिब चढ्ने सवारी भनेर चिनिने दिन गएको खरेल दाबी गर्छन् ।

‘अहिले यातायात क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ,’ अध्यक्ष खरेल भन्छन्, ‘ठूलो लगानी गरेर व्यवसायीले सुविधासहितका बस भित्र्याएका छन् । यसलाई टिकाइराख्न र यसको संरक्षणका लागि राज्यको तर्फबाट कुनै पहल भएको छैन । लगानीका लागि अन्य क्षेत्र नदेखेका व्यक्तिहरू ठूलो जोखिम मोलेर यातायात क्षेत्रमा आइरहेका छन् ।’

हालै १ करोड २० लाख मूल्य पर्ने उडान बस मध्यपश्चिम जनसेवा यातायात प्रालिले नेपालगञ्जदेखि काठमाडौंसम्म चल्ने गरी भित्र्याएको छ । प्रालिका अध्यक्ष विश्वराज खनालले विगत दश वर्षदेखि रकेट, सफारी, तुफान रफ्तार हुँदै अहिले उडान बस भित्र्याएको बताए ।

आम यात्रुहरूलाई सुविधा होस् भन्ने हिसाबले ३९ सिट क्षमता हुने ठाउँमा ३२ सिट कायम गरी शौचालयसहितको सुविधा राखिएको उनको भनाइ छ । ‘गाडीमा यात्रा गर्दा यात्रु बिरामी परे सामान्य औषधि पनि नि:शुल्क व्यवस्था गरिएको छ । महिलाहरूका लागि सेनेटरी प्याडसहितको सुविधा राखेका छौं,’ अध्यक्ष खनालले भने ।

null

सार्वजनिक यातायातमा क्रान्ति

यात्रुको माग र आग्रहलाई लक्षित गर्दै सार्वजनिक यातायात क्षेत्रमा पछिल्ला वर्ष ऐतिहासिक परिवर्तन आएको छ । लामो दूरीका बस तथा केही शहरी रुटका सवारीसाधनमा ट्वाइलेटदेखि सुत्नेसम्मका सुविधा उपलब्ध हुन थालेका छन् ।

यात्रुहरूको सहजता, सुरक्षामा सुधार र लामो यात्रालाई थकानमुक्त बनाउने काम भएको उपभोक्ता अधिकारकर्मी समुद्र जिसी बताउँछन् । यात्रुहरू नयाँ सेवाप्रति उत्साहित देखिएका छन् ।

‘यी गाडीमा यात्रा गर्दा बाटोघाटो जस्तोसुकै होस्, यात्रुलाई अप्ठ्यारो नपर्ने रहेछ । गाडीको नोक्सानी भए अगाडि–पछाडि बसेको महसुस पनि नहुने रहेछ,’ आफ्नो यात्रा अनुभवसहित उनले भने ।

बसमा आरामदायी सेवाको माग तीव्र रूपमा बढेपछि अन्य कम्पनीहरूलाई पनि उस्तै सुविधा वृद्धिमा चासो बढाएको देखिन्छ ।

लामो दूरीसँगै सडक राम्रो भएका नगरभित्र चल्ने गाडीहरू पनि ठूलो र वातानुकूलित थपिँदै छन् ।

सफा सिट, नियमित सरसफाइ, टिकेटिङ र महिला–बालमैत्री सिट व्यवस्थासम्म थपिँदै गएको छ ।

सरकारले २०७५ सालमा ‘सिन्डिकेट’ प्रणाली खारेजीको घोषणा गरेको थियो । त्यसपछि कम्पनीमा आधारित बस सञ्चालनमा ल्याएपछि बसमा सुविधा भित्र्याउने प्रतिस्पर्धा चलेको थियो ।

null

सार्वजनिक यातायातमा ९९ प्रतिशत निजी क्षेत्रको लगानी

सार्वजनिक सवारीमा ९० प्रतिशत निजी क्षेत्रको लगानी छ । देशभर अहिले दुई लाखभन्दा बढी सार्वजनिक सवारी निजी क्षेत्रले चलाइरहेको व्यवसायीहरू बताउँछन् । देशको सडक यातायातको ‘स्टेरिङ’ निजी क्षेत्रको हातमा रहेको पुराना यातायात व्यवसायी सूर्यकुमार सारू बताउँछन् ।

‘निजी क्षेत्रले ठूलो लगानी गरी समयअनुसार आफूलाई परिमार्जन गरेर यातायात क्षेत्रमा पछिल्ला वर्षमा ठूलो परिवर्तन आएको छ,’ सारू भन्छन्, ‘व्यवसायीले कमाएर सुविधायुक्त गाडी भित्र्याएका होइनन्, आफूलाई समयसापेक्ष परिवर्तन गरेका हुन् । ठूलो लगानी गरे पनि व्यवसायी पीडित छन् ।’

‘सार्वजनिक सवारीलाई सरकारले प्रालिमा जान भनेपछि व्यवसायी गए । तर, राज्यले आफूले बनाउनुपर्ने यातायात नीति अहिलेसम्म बनाउन सकेको छैन । तैपनि व्यवसायीले सुविधा थपिररहेका छन्,’ सिद्धार्थ यातायात प्रालिका अध्यक्ष समेत रहेका सारुले थपे । स्तरीय गाडीमा दुर्घटना पनि कम हुने गरेको तथ्यांकले देखाएको व्यवसायी चेतनारायण बेल्बासे बताउँछन् ।

बुटवलमै तयार हुन्छन् लग्जरियस गाडी

व्यवसायीहरूले गाडीको इञ्जिन (चेसिस) खरिद गरेपछि सुविधासम्पन्न बस नेपालमै तयार हुने गरेका छन् । विशेष गरी नयाँ सुविधासम्पन्न गाडी बुटवल तथा यस आसपासमा बन्ने गर्छन् ।

अहिले सडकमा गुड्ने सुविधायुक्त गाडी बुटवलको मुक्तार बडी कारखानामा तयार हुने गरेका छन् । मुक्तार बडी कारखानाका सञ्चालक मनिष शर्माले व्यवसायीको चाहना र रुचिअनुसार गाडी बनाइने बताए ।

‘व्यवसायीले गाडीको चेसिस लिएर आएपछि उहाँहरूको चाहनाअनुसार एग्रिमेन्ट गर्छौं,’ मनिष भन्छन्, ‘एउटा गाडीको सम्पूर्ण काम सक्न ३ देखि चार महिनासम्म लाग्छ । एग्रिमेन्टअनुसार कस्तो सिट, इन्टेरियर, एक्सटेरियर, पेन्ट कस्तो लगाउने त्यहीअनुसार एग्रिमेन्ट गरेर काम गछौं । हामीले वर्षमा ५० वटाभन्दा बढी गाडी बनाइरहेका छौं ।’

null

यस क्षेत्रमा धेरै र ठूलो गाडी बनाउने कारखाना मुख्तर हो । बुटवल आसपासमा यस्ता कारखाना ८/१० वटा छन् । एउटा गाडी तयार पारेको ४० लाख रुपैयाँसम्म लिने गरेको उनले बताए ।

‘त्यसमा जडान गर्ने एसी हाम्रो होइन । चेसिस पनि गाडी धनीको हुन्छ । अहिलेका लग्जरियस गाडीको लगानी करोडभन्दा माथि देखिन्छ,’ उनले थपे ।

मुख्तरले एकै लटमा १५ वटा गाडी फिटिङ गर्छ । बसमा ४७ वटा सोफा सिट छन् । अशक्त र बिरामीहरू सुतेर यात्रा गर्न छुट्टै स्लिपिङ बेड छ । बसमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । यसो गरेपछि यात्रुको सामान हराउने डर पनि नहुने व्यवसायीहरूको दाबी छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्