
सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनामा दरबन्दी थप हुने भएको छ ।
मन्त्रिपरिषद्ले बैठकले सशस्त्र प्रहरी नियमावली संशोधन गर्ने निर्णय स्वीकृत गरेसँगै संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणअनुसार दरबन्दी थपिने भएको हो ।
सशस्त्रको नयाँ संरचनामा दरबन्दी थप भएसँगै अब २ सय ८५ अस्थायी कार्यालय स्थायीमा रुपान्तरण हुँदैछन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बीओपी स्थायी हुने भएका छन् । सशस्त्रको ओएनएम सर्वेक्षणले पनि उक्त सिफारिश गृह मन्त्रायललाई गरेको थियो ।
पहाडी जिल्लामा रहेका आश्रित गुल्महरू स्थायी भएसँगै कानूनी र प्रशासनिक रूपमा थप जिम्मेवार हुँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्य प्रभावकारी हुने जानकारी सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं सशस्त्र प्रहरी नाबय उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले दिए ।
उनका अनुसार अब कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातैवटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा सञ्चालन हुनेछन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपालका एक सय ११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको संख्या ३ सय ९६ पुर्याउने गरी दरबन्दी थप भएका छन् ।
सशस्त्र प्रहरीको सांगठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरूको स्तरवृद्धि गरी नयाँ संरचना तयार गरिएको छ ।
संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणको स्तरवृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ ।
सशस्त्र प्रहरी मुख्यालयको नियमावली संशोधन गरेसँगै काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न अब थप सहज हुने छ । ‘आठ सय जनाभन्दा बढी जनशक्ति रहने नीलबाराही गणबाट हुल तथा दंगा व्यवस्थापनका लागि विशेष तालिमप्राप्त सुरक्षा फौज ठूलो संख्यामा एकैपटक परिचालन गर्न सहजता हुनेछ,’ मुख्यालयका एक अधिकृतले भने, ‘नियमावलीअनुसार कार्यान्वयन भएपछि परिचालनमा कुनै समस्या हुँदैन ।’
मुख्यालयका अनुसार विशिष्ठ व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोग समेतको सुरक्षा हेर्नेगरी काठमाडौंको कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपालको नम्बर २४ बाघ भैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ । गणमा स्तारोन्नति गरेसँगै अब तालिमप्राप्त सुरक्षा फौज परिचालन हुनेछन् ।
फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टरले कमान्ड गर्नेछन् । स्थायी भएपछि सशस्त्रले ती अस्पतालबाट आम सर्वसाधरणलाई समेत स्वास्थ्य सेवा दिनेछ ।
मुख्यालयका अनुसार सशस्त्र प्रहरीको कानून महाशाखालाई निर्देशनालयमा स्तरोन्नति गरी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरिएको छ ।
विपद् व्यवस्थापनको म्यान्डेटलाई थप प्रभावकारी बनाउनका लागि विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरवृद्धि गरी डीआईजीको दरबन्दी थपिएको छ ।
सरकारलाई कुनै थप आर्थिक भार नपर्ने गरी आन्तरिक रूपमा समायोजन गरिएका यी पदहरूसँगै जवानदेखि माथि सबै दर्जामा ३ सयजना भन्दा बढीको वृत्तिविकास हुने जानकारी सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले दिए ।
उनका अुनसार दरबन्दी हेरफेर भएसँगै लामो समयसम्म एउटै दर्जामा रहेका प्राविधिक जनशक्तिको बढुवा हुनेछ । आईजीपी अर्यालका अनुसार इन्टेलिजेन्स ब्यूरोको कामकारवाहीलाई थप प्रभावकारी बनाउनका लागि अधिकृतस्तरका ३८ जनासहित डीआईजीको कमान्डमा रहने गरी दरबन्दी थप गरिएको छ ।
ब्यूरोमा अब जुनियर अधिकृत तथा सोभन्दा माथिका जनशक्ति मात्र रहने छन्, जसले इन्टेलिजेन्स बेस बोर्डर सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउने अर्याल बताउँछन् ।
मुख्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपालमा ३ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप भएको छ । नीलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतिसँगै एसएसपीको दरबन्दी थप भएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवादन गुल्मलाई समेत स्तरवृद्धि गरी सांगितिक शिक्षालय बनाई सशस्त्र प्रहरी उपरीक्षकले कमान्ड गर्ने गरी दरबन्दी समायोजन गरिएको छ ।
सशस्त्र प्रहरी बलका १० वटा तालिम शिक्षालयहरूको असमान दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने जानकारी सशस्त्रका सह–प्रवक्ता थापाले दिए ।
अब सबै शिक्षालयमा दरबन्दी संख्या एउटै हुनेछ । यसका साथै प्राविधिक समूहतर्फका जवानहरू १५/१६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यतालाई सम्बोधन गरी समायोजनको काम समेत अघि बढाइएको थापा बताउँछन् ।
उनका अुनसा १६ र १८ वर्षमा पेन्सन हुने प्रस्तावलाई समेत उच्च प्राथमिकतामा राखी छलफल अगाडि बढाइएको छ ।
नियमावली संशोधन, विपद्मा खटिँदा मृत्यु भएमा एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने कुरा नियमावलीमा संशोेधन गरिएको छ ।
चौथो संशोधन नियमावली, २०८२ मा विपदमा खटिँदा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
यसअघि सो नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको सशस्त्र मुठभेड, आक्रमण वा विस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूह विरुद्धको कारवाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा उक्त सुविधा दिने व्यवस्था थियो ।