
नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बल्खुबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू सट्टेबाजीमा संलग्न रहेको खुलेको छ ।
अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत आन्द्र प्रदेशका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयव, नभिन मड्डेला, मोहम्मद रफी सेख, साई कुमार तम्मिसेठ्ठी र सेख चन्द बसल छन् ।
उनीहरूले अनलाइनमार्फत ‘वेटाकुलर डट लाइभ’ नाम बेटिङ साइटबाट खेलमा हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजी गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार यो गिरोहले कीर्तिपुरस्थित क्रिकेट मैदानमै पुगेर खेल भइरहेका बेला सट्टेबाजी गराउँदै आएको थियो ।