०२ साउन २०८३, शनिबार
नेपाल प्रिमियर लिग

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

मंसिर ८, २०८२
काठमाडौं
सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान गरे । छैटौं नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए ।

सातौं नम्बरका ब्याट्सम्यान हरमित सिंहले पनि टोलीका लागि १९ रनको योगदान गरे । हरमितले १६ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । दीपेन्द्र र हरमितले ४८ रनको साझेदारी गरे ।

आरिफ शेखले पनि टोलीको खातामा २७ रन थपे । उनले २५ बलमा तीन चौका हिर्काए । क्रिस लिन भने २० बलमा दुई चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका थिए ।

सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै ओपनर जोस ब्राउनलाई गुमाएको थियो । अर्का ओपनर विनोद भण्डारी पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

नरेश साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किए । स्कट कुग्गेलेइजनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए ।

हेमन्त धामी एक र अविनाष बोहरा एक रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि ११ रन पायो । कर्णाली याक्सका बलर सोमपाल कामीले तीन विकेट लिए ।

कप्तानसमेत रहेका सोमपालले चार ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिए । नन्दन यादवले दुई विकेट हात पारे । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले पनि एक/एक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्