
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर ४५७ दशमलव ५३ अङ्कमा पुगेको छ । मङ्गलबार बजारमा नेप्से परिसूचक सामान्य बढे पनि कारोबार रकम भने घटेको छ ।
आज कुल ३१९ कम्पनीका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा खरिद बिक्री भएको छ । सोमबार कुल सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा शेयर खरिद बिक्री भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएकामध्ये विकास बैंक, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटेका छन् । त्यस बाहेकका अरू उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा धेरै होटल तथा पर्यटनको उपसूचक एक दशमलव ४१ प्रतिशतले बढेको छ ।
आज बन्दीपुर केबलकारको शेयर २६ करोड ९९ लाख ९७ हजार ६४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धी भइ सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै सागर डिस्टिलरी लिमिटेड र श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् ।
आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले शेयर मूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए ।