
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेको छ ।
नोभेम्बर १७ मा, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट बाहिर राख्ने राजनीतिक षड्यन्त्रको हिस्सा भएको आरोप लगाएको छ ।
पार्टीले न्यायाधिकरणको निर्णयलाई अस्वीकार गरेको र यसलाई अवैध भनेको आफ्नो आधिकारिक एक्स ह्यान्डलमा लेखेको छ । लिगले युनुसको राजीनामा समेत माग गरेको छ।
अवामी लिगले युनुस र उनका सहयोगीहरूलाई स्वतन्त्रता विरोधी र राष्ट्रविरोधी गतिविधिहरूमा संलग्न भएको आरोप लगाएको छ। 'बंगलादेशमा नक्कली चुनाव हुन दिइने छैन। यसको कुनै पनि हालतमा विरोध गरिनेछ,' उसले लेखेको छ ।