
नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन–३ गते खोटाङको दिक्तेल बजारमा स्थापना गरिएको सालपा विकास बैंकलाई बोर्डले १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको हो ।
संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी दुई करोड लगानीमा स्थापना गरिएको बैंकको कूल चुक्ता पुँजी ३५ करोड पुगेपछि आईपीओका लागि अनुमति माग गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगेन्द्र पुनले जानकारी दिए ।
'कूल चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार पुर्याउने गरी आईपिओ खुला गर्ने तयारी गरिएको छ । यसका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ,' उनले भने, 'यो शेयर सर्वसाधारण समूहमा निष्कासन हुन्छ । जसअनुसार वैदेशिक रोजगारीमा रहेकाका लागि दश प्रतिशत, मेच्यिुअल फन्टका लागि साढे दुई प्रतिशत, कर्मचारीका लागि शून्य दशमव पाँच प्रतिशत र बाँकी ८७ प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।'
नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणीको अनुमति लिएर सञ्चालन गरिएको सालपा विकास बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनी तोकिएको जनाइएको छ । पहिलोपटक निष्कासन गर्न लागिएको शेयर प्रतिगोटा १०० का दरले बिक्री गरिने बैंककले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको सालपा विकास बैंकले १२ वर्षपछि मोबाइल बैंङ्किङ सेवा उपलब्ध गराएको थियो । आईपीओ खुला गरेलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टङ्क राईले जानकारी दिए ।
बैंकले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीको व्यवसाय प्रवद्र्धनका लागि शुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानुपर्छ’ भन्ने अवधारणा लिएर स्थापना गरिएको सालपा विकास बैंक ‘एक घर, एक खाता’ परियोजनासमेत सञ्चालन गरेको छ ।
दश जिल्लाका एक सय २० जना शेयर सदस्यबाट शुरू गरिएको बैंकमा हाल ६८ जिल्लाका तीन हजार ५०० शेयर सदस्य छन् । स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको बैंकको गत फागुन–२० गते सम्पन्न ११औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ ।