
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितका लागि २०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा केवल दुई विकेट गुमाएर २०१ रन बनाएको हो ।
जारी सिजनको एनपीएलमा कुनै पनि टोलीले बनाएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो ।
पोखराका लागि ओपनर ब्याट्सम्यान एडम रोसिङ्टनले शतकीय पाली खेले । उनले टोलीका लागि अविजित १०८ रनको योगदान गरे ।
रोसिङ्टनले केवल ५८ बलको सामना गरी सात छक्का र ११ चौका हिर्काए । उनी जारी सिजनको एनपीएलमा शतक बनाउने दोस्रो खेलाडी हुन् ।
यसअघि, कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४४ बलमा अविजित एक सय १४ रन बनाएका थिए ।
जारी सिजनको एनपीएलमा रोसिङ्टनले पोखराका लागि एउटा अर्धशतक पनि बनाएका छन् । एनपीएलको पहिलो संस्करणमा एकजना ब्याट्सम्यानले मात्र शतक बनाउन सकेका थिए ।
पहिलो संस्करणमा पोखरा एभेन्जर्सकै प्रभावशाली ब्याट्सम्यान एन्ड्रिस गाउसले अविजित एक सय चार रन बनाएका थिए । रोसिङ्टन एनपीएलको इतिहासमा शतक बनाउने पोखराका दोस्रो खेलाडी हुन् ।
कर्णालीविरुद्धको खेलमा जासन रोयले पनि ४६ रनको योगदान गरे । उनले केवल ३४ रनमा तीन छक्का र दुई चौका प्रहार गरे ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल भने १७ बलमा एक छक्का र तीन चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए ।
धनन्जय लक्सनले केवल ११ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित २३ रन बनाए । पोखराले अतिरिक्त रुपमा ६ रन पायो । कर्णालीका बलर नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।