२२ जेठ २०८३, शुक्रबार
भीम रावलसँग वार्तालाभ

अन्तरिम सरकार निष्पक्ष हुनुपर्छ, चुनाव लड्ने भए कुलमानले राजीनामा दिऊन्– भीम रावल [अन्तर्वार्ता]

मंसिर १७, २०८२
काठमाडौं
अन्तरिम सरकार निष्पक्ष हुनुपर्छ, चुनाव लड्ने भए कुलमानले राजीनामा दिऊन्– भीम रावल [अन्तर्वार्ता]

'नेपाली कम्युनिस्ट पार्टी' नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावल यतिबेला निकै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको विगतको संघर्षदेखि वर्तमान अन्तरिम सरकारका मन्त्रीहरूको गतिविधिसम्मको उनले खुलेर आलोचना गर्ने गरेका छन् ।

विशेषगरी अन्तरिम सरकारका मन्त्रीहरूले पदमै रहेर दल खोल्ने र चुनाव लड्ने चर्चा चलेकोमा रावलले कडा आपत्ति जनाएका छन् । निष्पक्ष रहनुपर्ने अन्तरिम सरकारका मन्त्रीहरू दल खोलेर चुनावमा होमिनु जेनजी शहीदहरूको अपमान भएको उनको टिप्पणी छ ।

नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी अभियान, एमालेबाट बाहिरिँदाको प्रसंगदेखि चुनावी सरकारका मन्त्रीसम्मका विषयमा लोकान्तरका लागि उत्तम पोख्रेलले डा. रावलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाईंहरूले चारवटा प्रदेशमा सन्देशसभा गरिसक्नुभएको छ । नयाँ पार्टीप्रति कस्तो उत्साह पाउनुभएको छ?

एकदमै व्यापक उत्साह छ । देशको यो अन्योलग्रस्त र विषम परिस्थितिमा पनि जुन संख्यामा जनसमुदायको हाम्रो जुलुस र सभाहरूमा उपस्थिति भइरहेको छ, त्यो उत्साहजनक छ । यसले जनतामा रहेको अन्योल, अनिश्चय र भयको वातावरणलाई चिर्दै गएको छ भन्ने मलाई लाग्छ  ।

अहिले १५–१६ वटा पार्टी जम्मा भइसक्नुभयो । नेताहरूलाई व्यवस्थापन गर्न त गाह्रो होला नि?

लाखौं जनतालाई एकताबद्ध गर्छु भन्ने दल र नेताले विभिन्न समूहका नेतालाई व्यवस्थापन गर्ने कुरालाई अप्ठ्यारो वा कठिन मान्नु हुँदैन । राष्ट्रिय स्वाधीनताको रक्षा, देशको हित र प्रतिस्पर्धी विश्वमा उभिनका लागि हजारौं मानिसहरूलाई संगठित गर्नुपर्ने हुन्छ । यसमा चुनौती र कठिनाइ त हुन्छन्, तर व्यवस्थापन गर्दै जानुपर्छ । उच्च समझदारी र परिश्रम भयो भने यो असम्भव छैन ।

null

अहिलेसम्म हेर्दा तल्ला कमिटीहरू बनेका छैनन्,मर्ज भएका छैनन् । बाहिरबाट हेर्दा तपाईंहरूको पार्टी हावा भरिएको बेलुनजस्तो देखिन्छ । कहिले फुट्छ भन्ने संशय अहिलेदेखि नै देखिन्छ नि?

त्यो हावा भरेको बेलुन जस्तो होइन । यो त हजारौं मानिसहरू पंक्तिबद्ध भएर, एउटा यात्रामा कटिबद्ध भएर हिँडेको जुलुसजस्तो छ । अब हामी क्रमशः ती सम्पूर्ण व्यक्तित्वलाई जिम्मेवारी दिँदैछौं । जिम्मेवारी दिएपछि यो एउटा सशक्त संरचनामा परिणत हुन्छ ।

तपाईंले अन्तरिम सरकार र चुनावको कुरा पनि उठाउँदै आउनुभएको छ । फागुन २१ मै चुनाव हुन्छ भन्ने देख्नुहुन्छ?

अन्तरिम सरकारको काम नै त्यही हो, उसले चुनाव गर्नुपर्छ । आफूले पाएको जिम्मेवारीभन्दा बाहिर गएर दीर्घकालीन सन्धि–सम्झौता गर्ने, अर्थतन्त्रलाई असर गर्ने वा राज्य प्रणालीलाई नै असर गर्ने काम गर्ने अधिकार यो सरकारलाई छैन । यदि उसले चुनाव गरेन भने यो सरकारको औचित्य त्यही दिन समाप्त हुन्छ ।

अहिले अन्तरिम सरकारका मन्त्रीहरू आफैं दल खोल्ने,चुनाव लड्ने चर्चा छ । मन्त्री पदमै बसेर यसो गर्न मिल्छ र?

यो पूर्ण रूपमा गलत हो । मैले पनि सुनें, जस्तै– कुलमान घिसिङजी मन्त्री रहेर म चुनाव लड्छु भन्नुभयो रे! यो एकदमै गैरजिम्मेवार कुरा हो । अन्तरिम सरकारमा रहेको कुनै पनि व्यक्ति यदि चुनावमा जाने हो भने उसले तत्काल पद छोड्नुपर्छ ।

यदि पद नछोडी चुनाव लड्ने वा दल खोल्ने हो भने जुन युवा र नवयुवाहरूले 'जेन्जी' को नाममा विद्रोह गरे, त्यो विद्रोहको योभन्दा घोर अपमान अरू हुन सक्दैन । किनभने, अन्तरिम सरकार भनेको त निष्पक्ष हुनुपर्छ । यसका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले यदि राजनीतिक दल खोल्छन् वा चुनावमा जान्छन् भने उनीहरूले तुरुन्त पद त्याग्नुपर्छ । पदको दुरुपयोग गरेर राजनीति गर्न पाइँदैन ।

प्रसङ्ग बदलौं,एमाले अध्यक्ष केपी ओलीले हालै एउटा कार्यक्रममा'हामीले भीम रावललाई तेस्रो वरीयता (उपाध्यक्ष) मा बसभन्दा नमानेर छैटौं वरीयतामा पुग्नुभयो'भनेर आरोप लगाउनुभयो । वास्तविकता के हो?

त्यो पाखण्डयुक्त भनाइ हो । दशौं महाधिवेशनमा म अध्यक्षको उम्मेदवार थिएँ । ओलीजी आठौं र नवौंमा उम्मेदवार हुँदा झलनाथ खनाल र माधव नेपालसँग प्रतिस्पर्धा गर्न मिल्ने, अनि भीम रावलले ओलीजीसँग प्रतिस्पर्धा गर्न नपाउने? जनताको बहुदलीय जनवाद भनेको नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने हो । त्यो सिद्धान्तलाई उहाँले बुटले कुल्चेर 'तिमीलाई मैले उपाध्यक्ष दिएँ, तिमीले खाऊ' भन्ने? एउटा विधि र प्रणाली मान्ने आत्मस्वाभिमानी मान्छेले कसैले दया गरेर दिएको पद लिन्छ र?

अर्को कुरा, गएको पुस महिनामा केपी ओलीजीले मलाई पार्टी सदस्यबाटै निष्कासन गर्नुभयो । मैले राष्ट्रिय स्वाधीनता र विधिको कुरा उठाउँदा मलाई निकाल्ने मान्छेले अहिले आएर 'हामीले यो वरीयतामा राख्न खोज्यौं थियौं, नखाएर गयो' भन्नु जनतालाई भ्रम छर्ने र आफ्नो पाखण्ड देखाउने असफल प्रयास मात्र हो । उहाँको लोकप्रियता घट्दो छ, भीम रावलको बढ्दो छ । पराजित भइन्छ कि भनेर मलाई निकाल्ने, अनि अहिले गोहीको आँसु झार्ने? यो हास्यास्पद छ ।

null

एमाले फुट्दा १० बुँदे सहमति गरेर बस्ने अरू नेताहरू (१० भाइ) अहिले पार्टीमा रक्षात्मक अवस्थामा देखिनुहुन्छ । उहाँहरूको अवस्था देख्दा कस्तो लाग्छ?

हेर्नुस्, १० भाइ भन्दाखेरि जनतामा एउटा भ्रम छ । त्यो १० बुँदे सहमतिमा हस्ताक्षर गर्ने हामी मात्र थिएनौं । अहिलेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केपी ओलीका विश्वासपात्र विष्णु रिमाल पनि त्यहीँ हुनुहुन्थ्यो ।

उहाँहरूलाई म यहीँबाट चुनौतीका साथ भन्छु– ओलीजीले १० बुँदे सहमति कार्यान्वयन नगर्दा उहाँहरूले 'हामीले त हस्ताक्षर गरेका छौं, कार्यान्वयन गर' भन्न सक्नुभएन । राजनीतिक नैतिकता भनेको यही हो? त्यसैले म भन्छु– ओलीजीमा यति ठूलो निरंकुशता, सत्तालिप्सा र अहंकार छ कि, सामान्य लोकतन्त्र मान्ने मान्छेले पनि त्यस्तो गर्न सक्दैन । अहिले एमालेमा जसरी प्रतिनिधि छनोटमा जताततै टीका लगाउने र घोषणा गरिदिने काम भएको छ, यो देखेर मलाई दुःख लाग्छ ।

तपाईंहरूले विद्या भण्डारीको पार्टी सदस्यताको कुराचाहिँ किन उठाउनुहुन्छ?

हो, विद्या भण्डारी, जो मदन भण्डारीकी पत्नी र पूर्व राष्ट्रपति हुनुहुन्छ, उहाँको नवीकरण भइसकेको सदस्यता समेत ओलीजीले 'कप्ल्याक्क' खाइदिएको स्थिति हामीले देख्यौं । अनि यस्तो खालको अत्याचार हुँदा पनि कोही बोल्दैनन् । केपी ओली भनेको पार्टी विधान र देशको संविधानभन्दा माथि हो र? २३–२४ सालको त्यत्रो घटना घट्दा देशको प्रधानमन्त्री भएर भाग्ने, देशलाई खरानी हुन दिने तर पद नछाड्ने मान्छे संसारमा बिरलै पाइन्छ ।

अन्त्यमा,तपाईंहरूको नयाँ पार्टी पनि त नयाँ बोतलमा पुरानो रक्सी जस्तो छ नि?

हाम्रो पार्टी 'नेपाली कम्युनिस्ट पार्टी' नयाँ बोतलमा पुरानो रक्सी होइन । यो रूपान्तरित शक्ति हो । हामी आउने निर्वाचनमा कसैसँग गठबन्धन गर्दैनौं, जनताको ताजा जनादेश लिन्छौं ।

म एमालेभित्र रहेका इमान्दार, देशभक्त र विधि मान्ने कार्यकर्ताहरूलाई आह्वान गर्छु– अहिलेको नेतृत्वबाट देश र पार्टी बन्दैन । एघारौं महाधिवेशनमा गम्भीरतापूर्वक सोचेर नेतृत्व परिवर्तन गर्नुहोस् वा सशक्त रूपमा देशभक्त र वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने अभियानमा जोडिनुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्