
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ आन्दोलनकारीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका असई र हवल्दारलाई कुटपिट तथा ४ घण्टा बन्धक बनाएर लुटपाट गरेको पाइएको छ ।
भीडमा रहेका उनीहरूलाई शुरूमा कसैले पनि चिनेका थिएनन् । एक्कासि कसैले ‘यो पुलिसको असई र सहायक हवल्दार हो’ भनेपछि सबै उनीहरू माथि जाइलागेका थिए ।
‘हामी तपाईंहरूकै सुरक्षामा खटिएका हौं,’ भन्दा पनि आन्दोलनकारीले लछारपछार पारेर कुटपिट गरी एउटा घरमा चार घण्टा थुनेर उनीहरूसँग भएको सुनको औँठी र पैसा लुटपाट गरेको अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा आएको भिडियो हेरेर लामो समयपछि कुटपिट र बन्धक गराउने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० मरुटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री र चिकामुगल बस्ने ४१ वर्षीय निरज चित्रकार छन् ।
असई र हवल्दारलाई लछारपछार पार्ने र कुटपिट गर्नेमा क्षेत्री तथा चित्रकारको मुख्य भूमिका रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए ।
क्षेत्री र चित्रकारलाई अन्य अपराधमा संलग्न भएको आरोपमा प्रहरी वृत्त जनसेवाले पहिले पक्राउ गरेर छाडेपछि उनीहरूले प्रहरीसँग रिसइबी साँधेको पाइएको छ ।
‘हाम्रो टोली जनसेवा वृत्तमा पीसीसीबीमा सादा पोशाकमा खटिन्छ,’ एसपी आचार्यले लोकान्तरसँग भने, ‘२४ गते पनि जनसेवा तोडफोड र आगजनी हुँदा टोली त्यतै खटिएको थियो, एक्कासि भीडमा यिनीहरू पनि प्रहरी हुन् भनेर कुटपिट भएको देखियो ।’
हेर्नुहोस्, भिडियो: