२९ असार २०८३, सोमबार

तिनाउमा ‘सिग्नेचर पुल’ निर्माण प्रक्रिया शुरू, ठेक्का आह्वान

मंसिर १९, २०८२
बुटवल
तिनाउमा ‘सिग्नेचर पुल’ निर्माण प्रक्रिया शुरू, ठेक्का आह्वान

बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने घोषणा गरेको थियो । नारायणीमा निर्माण शुरू भइसकेको छ भने तिनाउमा टेन्डर प्रक्रिया अघि बढेको विभागले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढेपछि नयाँ पुल निर्माण आवश्यक देखिएको हो । अहिलेको पुललाई यथावत राखेर उत्तर र दक्षिणतिर २–२ लेनका गरी थप दुई नयाँ पुल बन्नेछन् । २६६ मिटर लामो पुल निर्माणमा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

तिनाउ पश्चिम–बुटवल–गोरुसिङ्गे सडक चार र छ लेनमा विस्तार भइरहेकाले भविष्यमा सवारी व्यवस्थापन सहज हुने र जीतगढी किल्ला क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ । बुटवल भित्रिएका तीन वैकल्पिक पुल पहिले नै निर्माण भइसकेका छन् ।

null

आयोजनाका निर्देशक सुरेश पौडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा बन्ने पुल आकर्षक र पर्यटनमैत्री हुने गरी डिजाइन गरिएको छ । उनले भने, 'अहिलेको पुल यथावत राखेर तलमाथि एक–एक वटा नयाँ पुल बनाइनेछ । यो क्षेत्रको पर्यटन र सौन्दर्य बढाउने लक्ष्य छ ।'

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले कालिगण्डकी डाइभर्सन वा ड्याममार्फत तिनाउको जलसतह बढाउने सम्भावना अध्ययन भइरहेको बताउँदै जीतगढी किल्लासँगै पुलले महत्वपूर्ण पर्यटन सम्भावना बोकेको उल्लेख गरे । उनका अनुसार बुटवल–पश्चिम क्षेत्रका लागि यो योजना खुसीको विषय हो ।

'कार्यान्वयन गुणस्तरीय रूपमा पूरा होस् भन्ने अपेक्षा छ, त्यसका लागि सबैको निगरानी पनि आवश्यक छ,' उनले लोकान्तरसँग भने ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्रका अनुसार सिग्नेचर पुल हेर्दै आकर्षक र कलात्मक हुने भएकाले अन्य परम्परागत पुलभन्दा फरक खालको संरचना हुनेछ । तिनाउ पुलका लागि चिनियाँ, भारतीय, स्विस र नेपाली विशेषज्ञहरूको परामर्शमा आर्किटेक्चर तथा स्ट्रक्चर डिजाइन तयार भइसकेको छ ।

हाल प्रयोगमा रहेको तिनाउ पुल वि.सं. २०३८ मा बनेको हो । पुरानो र साँघुरो भइसकेका कारण नेपाली तथा विदेशी इन्जिनियरहरूको संयोजनमा आधुनिक पुलको डिजाइन तयार गरिएको हो ।

विश्व बैंकको सहयोगमा निर्माण हुने पुलको आर्किटेक्ट डिजाइन भारतको अन्तर्राष्ट्रिय कम्पनी ‘टोटल सिनर्जी कन्सल्टिङ’ ले तयार पारेको छ भने स्ट्रक्चर डिजाइन स्वीस सरकारको स्वीस डेभलपमेन्ट को–अपरेसनले गरेको हो । विश्वका धेरै शहरहरूमा नदीमाथि आधुनिक र आकर्षक पुलका रूपमा सिग्नेचर ब्रिज लोकप्रिय मानिन्छ ।

null

salt training

कमेन्ट गर्नुहोस्