२४ जेठ २०८३, आइतबार

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

मंसिर २०, २०८२
काठमाडौं
फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

इँटा र काष्ठकलाले सजिएको फल्चा, सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो । 

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरूलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति  सुन्न र हेर्न दर्शकहरू लालयित देखिन्थे । 

स्वरसम्राट नारायणगोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त साङ्गीतिक साँझको आयोजना गरिएको थियो । बर्सेनि मङ्सिर १९ गते नारायणगोपाल र मङ्सिर ६ गते झकलमानको स्मृति दिवस मनाउने गरिन्छ । पोखराको रेडियो अन्नपूर्णले झलकमान गन्धर्व सारङ्गी पाठशालासँगको सहकार्यमा मौलिक स्वरूपमा यो कार्यक्रम गरेको हो । पाठशालाका बालकलाकारले खचाखच दर्शकमाझ नारायणगोपाल र झलकमानका गीत सुनाए । उनीहरूको गायन र वाद्यवादन कला हेरेर दर्शकदीर्घाले ताली र हौँसला दिएका थिए । 

सारङ्गी र मादलको धुनमा स्वरस्रमाट नारायणगोपालका गीत पृथक सुनिएका थिए । उनीहरूले नारायणगोपालका ‘केही मिठो बात गर...’लगायत चर्चित गीत सुनाए । ‘आमाले सोध्लिन् नि...’बाट गाउन शुरू गरेका बालकलाकारले झलकमानका ‘रामराम राम गए वनैमा...’, ‘राधा पियारीको...’को आदि गाए । बालकलाकार अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुती राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिए । 

नेपाली सङ्गीत जगत्का दुई मुध्र्यन्य प्रतिभाको स्मृति दिवससँगै रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताए । कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शुभारम्भ गरेका थिए । 

सारङ्गी पाठशालाका प्रतिभाको सम्मानसहित थप अवसर सिर्जना गर्ने प्रयास स्वरूप कार्यक्रममा वडा कार्यालयले पनि सहकार्य गरेको वडाध्यक्ष मर्सानीले बताए । उनले कला, सङ्गीत र साहित्यको श्रीवृद्धिका लागि हातेमालो गर्न महानगरपालिका र वडा कार्यालय सँधै तयार रहेको बताए । कवि एवं संस्कृतिकर्मी श्रेष्ठले गायक नारायणगोपाल र झलकमानको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्