
मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन्। घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् ।
सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत् सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कु’ विरोधी लडाकुहरूसँगको लडाँइका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।
एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो ।
उनले एएफपीसँग भने, “आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।”
“चिया पसलमा भीडभाड भएको समयमा सेनाको आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो,” उनले थपे । एएफपीसँग सूचनाका लागि बोलेका सबै स्रोतहरूले आफ्नो सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरेका छन् ।
आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले भने, “आक्रमणका कारण सात जनाको घटनास्थलमै र अन्य ११ जनाको पछि अस्पतालमा मृत्यु भएको थियो ।”
उनले भने, “म्यानमारमा चिया पसललाई एक परम्परागत सामाजिक केन्द्रका रूपमा भेला हुने थलो र चिया पिउने स्थानका रूपमा लिइन्छ । आक्रमणबाट चिया पसल र नजिकैका करिब एक दर्जन घरहरूमा क्षति पुगेको छ।”