
नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की आफ्नै नाबालक छोराको हत्या आरोपमा प्रहरी हिरासतमा छन् ।
आइतबार साँझ श्रीमती कृष्णा कुँवरलाई टाउकोमा धारिलो हतियार प्रहार गरेपछि सुतिरहेका छोराको घाँटी चक्कुले रेटेर हत्या गरेको आरोप असई कार्कीमाथि छ ।
कार्की र कुँवर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छन् । उनीहरूबाट जन्मिएको नाबालक छोरा जन्मजात नै ‘ब्रेन ट्युमर’बाट ग्रसित थिए ।
उपचारका लागि दुवैबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । प्रहरी स्रोतका अनुसार छोराको उपचार गराउने पक्षमा रहेकी श्रीमतीको कुरालाई पुष्करले इन्कार गर्दै आएका थिए ।
प्रहरी कल्याणकोषबाट ऋण लिएर भए पनि ४ महिने छोराको उपचार गर्नुपर्छ भन्ने श्रीमतीको भनाइलाई असई कार्कीले बेवास्ता गर्दै आएको खुलेको छ ।
आइतबार पनि उपचारकै विषयलाई लिएर कार्की दम्पतीबीच विवाद शुरू भएको थियो ।
कार्कीले प्रारम्भिक बयानमा शुरूमा आफूले आत्महत्या गर्ने योजना बनाएको र त्यो सफल नभएपछि आवेशमा आएर श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरेको उल्लेख गरेका छन् ।
कार्की दम्पती काठमाडौंको सिनामंगलमा बस्दै आएका थिए । कार्कीले श्रीमतीलाई समेत आक्रमण गरेपछि उनी चिच्याएकी थिइन् । नाबालक छोराको हत्या गरेपछि कार्की कोठाबाट निस्किए । छिमेकीले कुँवरलाई उपचारका लागि अस्पताल पुर्याए ।
प्रहरीले कार्कीको खोजी गर्दा उनी नागढुंगा पुगिसकेका थिए । आकस्मिक चेकप्वाइन्ट राखेर आइतबार साँझ नै उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो ।
‘हामीले कार्कीलाई किन नाबालक छोराको हत्या गर्यौ ? भनेर सोधेका थियौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले कार्कीको प्रारम्भिक बयान उद्धृत गर्दै लोकान्तरसँग भने, ‘छोराको उपचारलाई लिएर हामीबीच विवाद भइरहन्थ्यो । आइतबार पनि यस्तै विवाद शुरू भयो । शुरूमा त म आफैं पनि आत्महत्या गर्न जान्छु भन्ने लाग्यो, तर पछि के भयो आवेशमा आएर छोराको हत्या गरेँ ।’
एसपी भट्टराईका अनुसार कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ ।
विमानस्थलमै ड्युटीमा रहँदा विवाह
प्रहरी जवान कुँवर विगत तीन वर्षदेखि विमानस्थलमै सुरक्षार्थ खटिएकी थिइन् । कार्की भने डेढ वर्षदेखि । त्यहीबीचमा उनीहरूले एकअर्कालाई मन पराएर विवाह गरेका थिए । विवाहपछि पहिलो सन्तानको रूपमा छोरा जन्मियो । तर, छोरा जन्मजात नै ब्रेन ट्युमरबाट पीडित थिए ।
कार्की आइतबार बिहान ११ बजे ड्युटी सकाएर डेरा फर्किएका थिए । उनकी श्रीमती कुँवर भने आइतबारदेखि नै १५ दिनका लागि बिदामा थिइन् । खासमा कुँवरले छोराको उपचारका लागि भन्दै बिदा मागेकी थिइन् । तर, श्रीमानबाट छोराको हत्या होला भन्ने उनले कल्पना समेत गरेकी थिइनन् ।
कुँवरको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । आफ्नो दुखाइको पीडा र छोराको शोकमा उनी अस्पतालको बेडमा छटपटाइरहेकी छिन् ।