![पार्टी मात्र होइन, देश बन्नुपर्छ भनेर सभापतिमा दाबी गरेको हुँ– चन्द्र भण्डारी [कुराकानी]](https://lktcdn2.prixacdn.net/media/Chandra_Bhandari_sUBNwqkkOl.jpg)
बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति बन्न महाधिवेशनमा प्रतिस्पर्धा गर्ने घोषणा गरे । कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने गरी कार्यतालिका सर्वजनिक भइसकेको छ ।
भण्डारी गुल्मीबाट प्रतिनिधित्व गर्ने नेता हुन्। उनी १४औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लडेका थिए। शेखर कोइराला समूहबाट उपसभापति लडेका उनले चौथो नम्बरमा मत ल्याएका थिए। १५८० मत ल्याएर महाधिवेशन हारेपश्चात भण्डारीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरे।
इतर समूहका प्रभावशाली नेता मानिने भण्डारी एकाएक महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने दौडमा लागेपश्चात इतर समूहबाट सभापतिमा तीनजना दाबेदार देखिएको छन् । यसअघि नै समूहबाट शेखर कोइराला र महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवार घोषणा गरिसकेका छन् ।
सभापति लड्ने सन्देश सामाजिक सञ्जालमा लेखेका उनै भण्डारीलाई लोकान्तरले इतर समूह छाडेर नयाँ समूह बनाउन लाग्नुभएको हो ? भनेर प्रश्न गरेको छ। प्रस्तुत छ, भण्डारीसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश:
बिहान स्टाटस लेखेर सभापति बन्छु भन्नुभयो। १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा लाग्नुभएको हो ?
म अबको महाधिवेशनको उम्मेदवार पनि हुँ। सँगै म समन्वयकर्ता पनि हुँ र पार्टीलाई निकास दिने पनि हुँ। पार्टीमा विचारले, दृष्टिकोणले, कर्मले यी तीनै पक्षको मैले नेतृत्व गर्छु ।
सभापति नै बन्न खोज्नुको कारण के हो?
कांग्रेस अहिले देशलाई निकास दिने बाटोमा लाग्नुपर्ने थियो। तर, आन्तरिक कुरामा अल्झियो।
कांग्रेसका लागि मुलुकभन्दा ठूलो, जनताभन्दा ठूलो, आफूले ल्याएको र देशले प्राप्त गरेको डेमोक्रेसीभन्दा ठूलो केही थिएन नि! अनावश्यक रूपमा हामीले इन्टरनल कन्फ्लिक्टमा समय बितायौं। त्यो हाम्रो गलत बाटो थियो।
बीपी बाबु नेपालमा त्यत्रो ८ वटा फाँसीको मुद्दा हुँदाहुँदै पनि नेपाल किन आए भने म आफूभन्दा पनि नेसन फर्स्ट हो । सोहीकारण मेलमिलापको नीति लिएर नेपाल आएको हो नि ! हो, हामी नेपाली कांग्रेस अहिले यही बाटोबाट डीरेल भइरहेका थियौं। डिरेलमा गएको कांग्रेसलाई सही बाटोमा र सही ठाउँमा ल्याउने मेरो आफ्नो अभियान हो। भोलि जे होला, बसेर थप सल्लाह गर्दै जान्छु।
तपाईंले भनेको अभियान एक्लो हो कि समूह नै बनाएर लागिसक्नुभएको छ?
साथीहरूसँग बसेर सल्लाह गर्छु र समूह बनाएर लाग्छु। गगन-विश्व मात्र होइन, गुरु घिमिरे, एनपी साउद, भीष्म आङ्देम्बे, शंकर भण्डारी, किशोर राठौरहरू जति पनि हुनुहुन्छ, उहाँहरूसँग बसेर संवाद गरेर अगाडि बढ्छु।
१४ औं महाधिवेशनमा उपसभापति लड्नुभएको शेखर कोइराला समूह तपाईंले छाड्नुभएको हो?
अहिले यसबारेमा प्रतिक्रिया दिने बेला भएको छैन। १४ औं महाधिवेशनको टीमको भविष्य के हुन्छ भन्दा पनि मुलुक कता जान्छ भन्ने मेरो आफ्नै दृष्टिकोण हो। यो मुलुक सबैभन्दा धेरै संकटमा परेको छ। यो मुलुकलाई हामीले निकास दिनुपर्छ र हामी सबै मिलेर मुलुक बनाउनुपर्छ।
पार्टी रूपान्तरण पक्षधर (गगन-विश्व-गुरूलगायत) नेताहरूको नेतृत्वमा तपाईं पुग्न लाग्नुभएको हो?
त्यो सम्भावना छ। मुलुकका लागि, नयाँ पुस्ताका नयाँ युवाहरूका लागि नेतृत्व लिन म 'शून्यदेखि सयसम्म' तयार छु भनेकै छु नि! मुलुकले निकास पाउनुपर्यो। मुलुकलाई यसरी बन्धक बनाउनुभएन। मुलुकलाई कुनै व्यक्तिगत स्वार्थमा हाल्नुभएन। मुलुक छ र त हामी छौं, हाम्रो पार्टी र हाम्रो डेमोक्रेसी छ। मुलुक नभए के हुन्छ?
समूह बनाएर महाधिवेशन लड्न अन्य नेता (नयाँ-पुराना)सँग संवादमा तपाईं जानुहुने भयो?
कांग्रेस बनाउन होइन, मुलुक बनाउनका लागि नेतृत्व हो। नेताहरू नयाँ-पुरानो भन्ने हुँदैन। नेताहरूको इच्छाशक्ति र इमान्दारिता मुख्य कुरा हो। हो हजुर, यो कुरालाई पनि हामीले भन्नुपर्छ, यो रूप व्यक्ति होइन नि ! हरेक व्यक्तिमा केही न केही मानवीय गुण त हुन्छन्।
तर, पहिलो कुरो भनेको मुलुक बनाउने इच्छाशक्ति र इमान्दारी हुनुपर्छ। घर बनाउन त सबैले सक्छन्— बारुलाले पनि आफ्नै घर बनाएर बस्छ, माकुराले पनि जालो बुनेर घर बनाउँछ। कमिलाले त कति ठूलो-ठूलो घर बनाएको हुन्छ। तर, मुलुक बनाउनु भनेको घर बनाउने जत्तिकै कुरा होइन। त्यसका लागि 'मुलुक बनाउने मान्छे' चाहिन्छ, 'कमिला'जस्तै मात्र घर बनाउने क्षमता भए पुग्दैन ।