
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेनजी समूहबीच बुधबार सिंहदरबारमा भएको सम्झौताले प्रहरी वृत्त तरंगित बनेको छ ।
सम्झौता पत्रको तेस्रो र चौथो बुँदामा उल्लेखित शब्दावलीले प्रहरी वृत्तमा चिन्ता र चासो बढेको हो ।
मुलुकका प्रमुख प्रशासनिक (सिंहदरबार), न्यायिक (सर्वोच्च अदालत) र व्यवस्थापिका (संसद् भवन) तोडफोड र आगजनी गर्ने आन्दोलनकारीमाथि गरिँदै आएको अनुसन्धान एवं कारबाहीले अब कस्तो मोड लिने अन्योल पनि प्रहरीमा देखिन्छ ।
सम्झौताको तेस्रो बुँदामा भनिएको छ, ‘कसैलाई आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनी आन्दोलनकारी स्वयं वा निजको तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणको आधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने ।’
नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार जुनसुकै प्रदर्शन वा आन्दोलनका नाममा सरकारी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटका घटना आपराधिक गतिविधिभित्रै पर्छन् ।
‘सबै घटनामा प्रत्यक्ष प्रमाण नभएकै आधारमा देशको इतिहास बोकेका संरचना जलाउनेलाई कानूनको दायराभित्र नल्याऊ भन्न मिल्दैन,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘सिंहदरबार जल्दा ढुंगामाटो र कागज मात्रै जलेका छैनन्, नेपालको इतिहास जलेको छ । नेपालको पहिचान जलेको छ । पुराना ऐतिहासिक सम्झौता जलेका छन् । यो वा त्यो नभनी भदौ २४ मा सिंहदरबारअघि देखिएका आन्दोलनकारीमाथि अनुसन्धान गर्नुपर्छ, अनुसन्धान हुन्छ ।’

जेनजी समूहसँग भएको सम्झौताको चौथो बुँदा झन् झस्काउने खालको छ । सम्झौताको सो बुँदामा भनिएको छ, ‘स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित र संगठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुन सक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत र थुनामुक्त गर्न तथा निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाउन जानेहरू संगठित समूह मात्रै नभएर लहलहैमा पनि गएका छन् । तर, लहलहैमा गए पनि ऐतिहासिक भवन जलाउने, तोडफोड र लुटपाट गर्ने कार्य अपराध नै भएकाले त्यसलाई आपराधिक गतिविधि भित्रै राखेर अनुसन्धान गर्नुपर्ने प्रहरी अधिकृतहरूको भनाइ छ । सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन आगो लगाउन जानेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्येका अधिकांश विगतमा पटके अपराधमा संलग्न पनि छन् । कोही लहैलहैमा पनि गएको देखिएको छ ।
‘राज्य भनेको स्थायी हुन्छ । सरकार राज्य सञ्चालन गर्ने एउटा औजार मात्रै हो । राज्यको इतिहास हुन्छ । पहिचान हुन्छ । संस्कृति हुन्छ । एउटा इतिहास बोकेको संरचनाको संरक्षण गर्नु सरकारको दायित्व हो,’ अनुसन्धानरत प्रहरी अधिकृतले भने, ‘तर, ज्यान मार्ने कसुर वा सुनियोजित र संगठितरूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुन सक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदन बमोजिम हुने गरी सो व्यक्तिलाई तत्काल हिरासत र थुनामुक्त गर्न तथा निजविरुद्ध दायर भएका मुद्दा फिर्ता गर्ने भनेर सम्झौता गर्दा अपराधबाट उन्मुक्ति दिन्छु भने जत्तिकै होइन र ?’

सर्वोच्चमा भएको एक अर्ब २६ करोडको क्षतिपूर्ति कसले तिर्ने ?
सर्वोच्च अदालत प्रशासनले गत कात्तिक ११ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइसक्यो । जाहेरीमा तोडफोड, आगजनी, लुटपाट गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार ५२ रुपैयाँ ५० पैसा बराबरको संरचनामा क्षति पुगेकाले दोषीमाथि कारबाही गर्न भनिएको छ ।
आन्दोलनकारीले सर्वोच्चका अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा अभिलेखका सम्पूर्ण मिसिलहरूमा आगजनी, सवारी साधनमा आगजनी र सूचना प्रविधि प्रणालीमा समेत आगजनी गरेर क्षति पुर्याएको जाहेरीमा उल्लेख छ ।

त्यसो त सर्वोच्च प्रशासनले गत भदौ २९ गते नै आफ्ना संरचनामा क्षति पुगेकाले खोजतलास गरी कारबाही गर्न पत्र पठाएको थियो । आधिकारिक जाहेरी मात्रै कात्तिक ११ गते दिएको हो ।
‘सर्वोच्च जलाउन जानेको हातमा आगो देखिएन भन्दैमा उसलाई कारबाहीबाट उन्मुक्ति दिन मिल्दैन,’ अनुसन्धानरत प्रहरी अधिकृतले भने, ‘इतिहास बोकेको न्यायिक निकाय जिल्लाबाहिर फोटो खिचाएर नाराबाजी गर्नेहरू पनि उत्तिकै दोषी हुन्, कारबाहीको दायरामा आउनुपर्छ, ल्याउँछौं, ल्याइरहेका छौं ।’
यी निकाय जलाउने र लुटपाट गर्नेमाथि कस्तो कारबाही ?
जिल्ला प्रहरी परिसर काठमाडौंमा ३७ वटा विभिन्न सरकारी र निजी संघ संस्थाले जाहेरी दिएका छन् । प्रहरीमा जाहेरीका चाङ लागेका छन् ।
सरकारी संरचनाहरू क्रमश: नेपाल विद्युत् प्राधिकरण (तामाकोशी–काठमाडौं २२०/२४० केभी प्रसारण लाइन आयोजना, सर्वोच्च अदालत, प्रधानन्यायाधीशको सरकारी निवास, काठमाडौं जिल्ला अदालत, डिभिजन वन कार्यालय हात्तीसार, सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टर निलबाराही, सशस्त्र प्रहरी बल नेपल नं. २० गण हेडक्वार्टर (विपद उद्धार) काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, तारकेश्वर नगरपालिका, जनप्रशासन क्याम्पस, यातायात व्यवस्था विभाग र संघीय संसद सचिवालयमा आन्दोलनकारीले अगजनी गरेका थिए । प्रहरीमा चाङ लागेका यी कार्यालयका जाहेरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी पवनकुमार भट्टराईले जाहेरीउपर अनुसन्धान भइरहेको बताए ।
परिसरमा निजीतर्फ एसएसजी इन्भेस्टमेन्ट प्रालि, हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि, होटल हायात रिजेन्सी, प्रोफेसनल एजुकेटर प्रालि, अन्नपूर्ण भेन्चर्स प्रालि, एनसेल आजियाटा लिमिटेड, इभोलुसन ट्रेडिङ प्रालि, सिप्रदी ट्रेडिङ प्रालि, म्याक्स इन्टरनेसनल, आईजी ग्लोबल प्रालि, नेपाल राष्ट्रिय माडबारी परिषद्, कान्तिपुर मिडिया ग्रुप, भाटभटेनी सुपरमार्केट, सीजी मोटर्स प्रालि, द चाँदवाग स्कूल प्रालि, सीजी डिजिटल प्रालि र युलेन्स स्कूलले पनि जाहेरी दिएका छन् । प्रहरीले डाँका, आपराधिक उपद्रव, संगठित अपराध, आर्थिक लाभ कसुरमा परेको जाहेरीमाथि अनुसन्धान गरिहेको एसपी भट्टराईले जनकारी दिए ।
त्यस्तै, आन्दोलनकारीले व्यक्तिगततर्फ नागार्जुन नगरपालिका– ४ सीतापाइलामा रहेको शेखर गोल्छाको घर, नैकापमा रहेको मिना अर्यालको घर, बूढानीलकण्ठमा रहेको सचन थापाको घर, टोखामा रहेको भाइकाजी तिवारीको घर, टोखामै रहेको भीम रावलको घर, कुमारीगालमा रहेको कृष्णचन्द्र झाको घर, काठमाडौं महानगरपालिका–४ मा रहेको उपेन्द्र महतोको घर, कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सपना लामाको घर, कीर्तिपुरमा रहेको एआईजी हिमालयकुमार श्रेष्ठको घर, चन्द्रागिरी नगरपालिका रहेको चिरञ्जिवी खड्काको घर, चन्द्रागिरीमै रहेको सहसचिव यमलाल भुसालको घर, चपलीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दको घर, चन्द्रागिरी नगरपालिकामा रहेको यशोदा लेखकको घरमा आगजनी गरेका थिए ।
प्रहरीमा सबै व्यक्तिले जाहेरी दिएका छन् । जाहेरीअनुसार प्रहरीले डाँका, लुटपाट र अपराधिक उपद्रव कसुरमा संलग्नलाई खोजतलास गरिरहको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालत जलाउने ६ जनामाथि अनुसन्धान
सर्वोच्च अदालत आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको क्षेत्रपाटी घर भएर ललितपुर बस्ने सम्राट भन्ने राजु परियार, काभ्रे मण्डनदेउपुरका एलेक्स भन्ने कुमार पराजुली, झापा भद्रपुर घर भएर काठमाडौंस्थित कलंकी बस्ने ज्योति थापा घताने, ललितपुर कुपन्डोल बस्ने विनोदकुमार थापा मगर, ललितपुर महालक्ष्मीस्थान बस्ने ब्राउन भन्ने सुशील श्रेष्ठ र काठमाडौं अनामनगर बस्ने विष्णु ढुंगेल अहिले प्रहरी हिरासतमा छन् ।
पक्राउ परेकाहरूले प्रहरीको हतियार लुटेर सर्वोच्चअगाडि प्रदर्शन गर्ने र अदालत जलाउने कार्य गरेको प्रहरीले जनाएको छ ।