
चर्चित विदेशी खेलाडीहरूको सहभागिता, रंगशालामा दर्शकहरूको लोभलाग्दो उपस्थिति, रोमाञ्चक खेलहरूमा आउने अनुमानै गर्न कठिन नतिजाको बाढी जस्ता कारणले लोकप्रियताको शिखरतर्फ उन्मुख नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण बिट मार्ने तयारीमा छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दुई अब्बल टोली सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त हुँदैछ । नतिजा जसको पोल्टामा परे पनि एनपीएलको दोस्रो संस्करणले नयाँ च्याम्पियन जन्माउने भने पक्का छ ।
जारी सिजनको एनपीएलमा सुदूरपश्चिम र लुम्बिनी फरक विशेषता बोकेका टोली हुन् । एकातिर, सुदूरपश्चिमको फाइनल यात्रा निकै लोभलाग्दो देखिन्छ । प्रारम्भदेखि नै एकपछि अर्को उत्कृष्ट प्रदर्शनसहित फाइनलमा पुग्ने टोली हो, सुदूरपश्चिम ।
यसको विपरीत, लुम्बिनी लायन्सको फाइनल यात्रा निकै उतार–चढावपूर्ण रह्यो । लिग चरणदेखि नै आफ्नो टोलीको खेललाई नजिकबाट नियाल्दै आएका लुम्बिनीका समर्थकसमेत टोलीको फाइनल यात्राप्रति आशावादी त थिए, तर ढुक्क थिएनन् ।
अघिल्लो संस्करणको बिर्सनलायक प्रदर्शन अनि, जारी सिजनमै पनि पूर्वार्धमा देखिएको सुस्त लयले लुम्बिनीलाई पक्कै पनि फाइनल यात्राको हकदारका रूपमा उभ्याएको थिएन ।
तर, पछिल्ला खेलहरूमा टोलीको प्रदर्शनमा आएको नाटकीय सुधार र सन्तुलित चरित्रले लुम्बिनीलाई अन्तत: फाइनलको हकदार बनाएरै छाड्यो । शायद, ठूला प्रतियोगिताको क्रममा सिर्जना हुने यस्तै नाटकीय परिस्थितिहरूले क्रिकेटलाई अनिश्चितताको खेल बनाएको होला ।
सुदूरपश्चिम रोयल्स एनपीएलको साविक विजेता हो । अघिल्लो संस्करणमा पनि अब्बल प्रदर्शन गर्दै अगाडि बढेको सुदूरपश्चिम उपाधि भिडन्तमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो ।
सुदूरपश्चिमको फाइनल यात्रा

अघिल्लो संस्करणजस्तै यसपटक पनि सुदूरपश्चिम रोयल्स प्रारम्भिक चरणमा १२ अंकसहित ‘लिग लिडर’ बन्दै पहिलो क्वालिफायरमा छनोट भएको हो । लिग चरणमा सुदूरपश्चिम रोयल्सले सातमध्ये ६ खेलमा जीत र एक खेलमा हारको नतिजा निकाल्यो ।
लिग चरणमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले, पोखरा एभेन्जर्सलाई १८ रनले, कर्णाली याक्सलाई ४५ रनले, लुम्बिनी लायन्सलाई सात विकेटले, जनकपुर बोल्ट्सलाई ६ विकेटले र चितवन राइनोजलाई ४९ रनले हराएको थियो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा भने सुदूरपश्चिमको टोली विराटनगर किङ्ससँग ६ विकेटले पराजित भएको थियो । तर, त्यो नमीठो हारको बदला सुदूरपश्चिमले पहिलो क्वालिफायर खेलमै विराटनगरलाई ७७ रनले हराएर लिएको थियो । त्यही जीतपछि सुदूरपश्चिम फाइनलमा पनि पुग्यो ।
लुम्बिनीको फाइनल यात्रा
अर्कोतिर, पहिलो संस्करणमा निकै खराब प्रदर्शन गर्दै तालिकाको सबैभन्दा तल खुम्चिएको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा पनि शुरूमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । तर, पछिल्ला खेलमा सुधारिएको प्रदर्शनसहित लुम्बिनी आठ अंकसहित तालिकामा चौथो हुँदै प्ले–अफमा पुग्न सफल भयो ।
लिग चरणमा लुम्बिनीले चार जीत र तीन हारको नतिजा निकाल्यो । यो सिजन लिग चरणमा लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । त्यसपछि लुम्बिनी लायन्सको टोली निराशाजनक प्रदर्शनसहित लगातार तीन खेलमा पराजित भएको थियो ।
लुम्बिनीको टोली दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले, काठमान्डु गोर्खाजसँग २२ रनले र सुदूरपश्चिम रोयल्ससँग सात विकेटले पराजित भएको थियो । लगातार तीन हारपछि लयमा फर्किएको लुम्बिनीले बाँकी तीनवटै खेलमा जीत हात पार्दै आफ्नो समर्थकलाई खुशी तुल्याएको थियो ।

लुम्बिनीले आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले, बलियो प्रतिद्वन्द्वी विराटनगर किङ्सलाई पाँच विकेटले र जनकपुर बोल्ट्सलाई चार विकेटले हराएको थियो । त्यसपछि पनि लुम्बिनीको यात्रा सहज थिएन ।
एलिमिनेटर खेलमा लुम्बिनी लायन्सको प्रतिद्वन्द्वी काठमान्डु गोर्खाज थियो । लिग चरणमा तेस्रो भएर एलिमिनेटर चरणमा पुगेको काठमान्डु गोर्खाज पक्कै पनि लुम्बिनीका लागि बलियो तगारो थियो ।
तर, लुम्बिनीले एलिमिनेटर खेलमा काठमान्डुलाई चार विकेटले हराएर आफूलाई दोस्रो क्वालिफायरमा मात्र उभ्याएन, लिग चरणमा भोगेको नमीठो हारको बदला पनि लिन भ्यायो ।
त्यसपछि, दोस्रो क्वालिफायर खेलमा लुम्बिनीको प्रतिद्वन्द्वी थियो, अर्को प्रभावशाली टोली विराटनगर किङ्स । धेरैको अनुमानविपरीत अन्तत: लुम्बिनीले दोस्रो क्वालिफायर खेलमा पनि विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनायो ।
दुबै टोलीको अब्बल प्रदर्शन
जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सले बनाएको सबैभन्दा ठूलो स्कोर एक सय ९३ रन हो । सुदूरपश्चिमले पोखरा एभेन्जर्सविरुद्ध उक्त रन बनाएको थियो । लुम्बिनी लायन्सले बनाएको उच्च स्कोर भने एक सय ५६ रन हो । लुम्बिनीले कर्णाली याक्सविरुद्ध उक्त स्कोर बनाएको थियो ।
राष्ट्रिय टोलीका उप–कप्तान एवं प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको टोलीमा विनोद भण्डारी, सिल्डन ज्याक्सन, हरमित सिंह, आरिफ शेख, स्कट कुग्गेलियन, इशान पाण्डे, मुख्तार अहमद, हेमन्त धामी, अभिनाष बोहरालगायतका क्षमतावान खेलाडी छन् ।
अर्कोतिर, राष्ट्रिय टोलीका कप्तान एवं अलराउन्डर रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीको टोलीमा डी’आर्ची सर्ट, दिनेश अधिकारी, निरोसन डिकवेल्ला, सन्दीप जोरा, जोहानेश जोनाथन स्मिथ, दिलिप नाथ, रुवेन ट्रम्पलम्यान, शेर मल्ल, अभिषेश गौतम, तिलक भण्डारी लगायतका अनुभवी खेलाडी छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी दोस्रो स्थानमा आसीन छन् । उनले आठ खेलमा कुल दुई सय ६४ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक पनि प्रहार गरेका छन् । उनले बनाएको उच्च स्कोर अविजित ६९ रन हो । सुदूरपश्चिम रोयल्सका आरिफ शेख पनि लयमा देखिएका छन् ।
उनले आठ खेलमा कुल एक सय ८० रन बनाएका छन् । उनले बनाएको उच्च स्कोर अविजित ४५ रन हो । कप्तान दीपेन्द्र ऐरीले पनि कुल एक सय ४९ रन बनाइसकेका छन् ।
अर्कोतिर, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा आसीन छन् । उनले नौ खेलमा कुल दुई सय ६० रन बनाइसकेका छन् । उनले बनाएको उच्च स्कोर ४९ रन हो ।
लुम्बिनीका लागि डी’आर्ची सर्टले पनि कमालको प्रदर्शन गर्दै आएका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा छन् । उनले नौ खेलमा कुल दुई सय ४२ रन बनाएका छन् । यसक्रममा उनले एक अर्धशतक पनि प्रहार गरेका छन् ।
लुम्बिनी लायन्सका निरोसन डिकवेल्ला पनि लयमा छन् । उनले पाँच खेलमा कुल एक सय २६ रन बनाएका छन् । दिलिप नाथले पनि नौ खेलमा कुल एक सय २१ रन बनाएका छन् ।
यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा सुदूरपश्चिम रोयल्सका अविनाष बोहरा दोस्रो स्थानमा छन् । उनले आठ खेलमा १६ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा लुम्बिनी लायन्सका शेर मल्ल छन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् ।
पहिलो स्थानमा रहेका विराटनगर किङ्सका सन्दीप लामिछानेले १७ विकेट लिएका छन् । त्यसैले फाइनल खेलमा सुदूरपश्चिमका अविनाष र लुम्निीका शेर दुवैसँग सन्दीपलाई उछिन्न अवसर रहने छ ।
सुदूरपश्चिमका हरमित सिंहले पनि आठ खेलमा १२ विकेट लिएका छन् । लुम्बिनी लायन्सका रुवेन ट्रम्पलम्यानले पनि नौ खेलमा १२ विकेट नै कुम्ल्याइसकेका छन् । सुदूरपश्चिमका स्कट कुग्गेलियनले पनि सात खेलमा १० विकेट लिएका छन् ।
एनपीएलमा तेस्रो आपसी भिडन्त
एनपीएलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तेस्रोपटक आपसमा भिड्न लागेका हुन् । यसअघि, दुईपटक यी दुई टोली आपसमा भिडिसकेका छन् । तर, दुवै भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई हराएको छ ।
पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो । दोस्रो संस्करणमा पनि यी दुई टोली लिग चरणमा आपसमा भिडेका थिए । उक्त खेलमा पनि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हराएको थियो ।
‘कार’माथिको अर्जुन दृष्टि
यसका अतिरिक्त, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार जित्ने दौडमा पनि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सकै खेलाडीबीच चर्को प्रतिस्पर्धा देखिन्छ । यो दौडमा सुदूरपश्चिमका विनोद भण्डारी र लुम्बिनीका रोहित पौडेल छन् ।
सुदूरपश्चिमका विकेटकिपर ब्याट्सम्यान विनोदले दुई सय ६४ र लुम्बिनीका कप्तान रोहितले दुई सय ६० रन बनाइसकेका छन् । रोहितले सात विकेट पनि लिएका छन् । उनले एउटै खेलमा २५ रन खर्चिएर तीन विकेट हात पारेका छन् ।
अर्कोतिर, विकेटकिपरको भूमिकामा विनोद भण्डारीले विपक्षी टोलीका १० ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् । यसक्रममा उनले सातवटा क्याच लिएका छन् भने तीन ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।
रोहित पौडेलले पनि नौ खेलमा ६ वटा क्याच लिएका छन् । उनले एउटै खेलमा दुई क्याचसमेत लिएका छन् । यसका अतिरिक्त, कप्तानको भूमिकामा टोलीलाई फाइनलसम्म पुर्याउन पनि रोहितको भूमिका महत्त्वपूर्ण छ ।

त्यसैले कार पुरस्कारमा सुदूरपश्चिमका विनोद र लुम्बिनीका रोहित दुवैको बलियो दाबेदारी देखिन्छ । तर, यसका लागि पनि फाइनल खेल नै निर्णायक बन्ने देखिन्छ ।
यसरी, दुई फरक विशेषतासहित फाइनलमा पुगेका दुई अब्बल टोली सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुनेछ । अब, आक्रामक चरित्रसहित अघि बढेको सुदूरपश्चिम र सुस्त गतिमा यात्रा अघि बढाएको लुम्बिनीमध्ये बाजी कसले मार्ने हो, त्यसको फैसला शनिबार नै हुनेछ ।