२४ असार २०८३, बुधबार

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ

मंसिर २७, २०८२
काठमाडौं
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ

इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पुनः पक्राउ गरेको छ। उनका परिवार तथा नरगिस फाउन्डेसनका अनुसार उनलाई हिंस्रक ढंगले गिरफ्तार गरिएको हो।

नरगिस फाउन्डेसनले जनाए अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मसादबाट नियन्त्रणमा लिइएको हो। उनलाई अन्य अधिकारकर्मीहरूसँगै पक्राउ गरिएको बताइएको छ। पक्राउका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाइएको छ।

मोहम्मदीको गिरफ्तारी लगत्तै नोबेल कमिटीले कडा प्रतिक्रिया जनाएको छ। कमिटीले एक विज्ञप्ति जारी गर्दै नरगिस मोहम्मदीको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

नोबेल कमिटीले इरानी अधिकारीहरूसँग अपील गर्दै भनेको छ, 'मोहम्मदीलाई हाल कहाँ राखिएको छ, त्यसको जानकारी तत्काल दिइयोस्। उनको सुरक्षा र सम्मान सुनिश्चित गर्दै उनलाई बिनाशर्त रिहा गरियोस्।'
यद्यपि, इरान सरकारको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारिक टिप्पणी सार्वजनिक भएको छैन।

नरगिस मोहम्मदी लामो समयदेखि इरानमा महिला अधिकार र मानव अधिकारका पक्षमा वकालत गर्दै आएकी छन्। इरानमा महिलाहरूमाथि भइरहेको दमनविरुद्धको साहसिक संघर्ष र मानव अधिकारको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्