२९ जेठ २०८३, शुक्रबार
रत्न नीतिकथा सङ्ग्रह

बालबालिकामा नैतिक शिक्षाको आडिलो खुराक

मंसिर २७, २०८२
काठमाडौं
बालबालिकामा नैतिक शिक्षाको आडिलो खुराक

नेपालको सर्वाधिक पुरानो प्रकाशनगृह रत्न पुस्तक भण्डाको नाम बाला दिनमै सुनेको हुँ, जतिबेला हामी (माइला दाजु र म) पुज्य पिताश्रीबाट कर्मकाण्डको कखरा सिक्दै थियौँ । तथापि पहिलोपटक देखेको भने २०३७ सालतिर २०/२२ वर्षको उमेरमा हो, त्यो पनि पुज्य माताश्रीको कारण । किनभने उहाँले घर आउँदा मलाई एउटा वेदको पुस्तक ल्याइदेऊ है भन्नुभएको थियो । यद्यपि उहाँ निरक्षर हुनुहुन्थ्यो । तैपनि खोइ कुन्नि किन हो, शायद गाउँघरमा ब्राह्मणहरूबाट सस्वर पाठ गरेको सुन्नुभएको थियो कि वेद भनेपछि हुरुक्कै हुने गर्नुहुन्थ्यो ।

माताजीको यही आग्रहका कारण वनारसबाट फर्कने बेला कचौडी गल्लीको धार्मिक पुस्तक पसलहरूमा पुगेको थिएँ तर त्यता पुरानो सकिकाले नयाँ छापिँदै भन्ने उत्तर दिएपछि यहाँ पाइन्छ कि भनेर घर फर्कने बेला रत्न पुस्तक भण्डार पुगेको थिएँ । सहपाठी मित्रहरूले वनारसमा नभेटिने कतिपय धार्मिक पुस्तक रत्न पुस्तक भण्डारमा पाइन्छ भन्ने गरेका कुरा बरोबर सुन्दै आएकाले पनि मलाई त्यहाँ पस्न घचघच्याएको थियो ।   

त्यतिबेला रत्न पुस्तक भण्डार भोटाहिटीको मोडमा थियो । पुस्तक पसलमा पुग्नेवित्तिकै दौरासुरुवाल, कालोकोट र भादगाउँले टोपीमा सजिएका एक जना भद्रपुरुषको दर्शन पाएँ । उहाँलाई दौरासुरुवाल, कोट र भादगाउँले टोपीको साथमा निधारको रातो टीका निकै सुहाएको थियो । उहाँका वरिपरि एक/दुई जना अन्य उमेरदार व्यक्तिहरू पनि थिए । शायद छोरा भतिजा होलान् । पुस्तकको नाम सुन्नेवित्तिकै उहाँले हातको इसाराले दराजतिर सङ्केत गर्नुभयो । सङ्केत मिल्नु के थियो सहयोगीले पुस्तक निकालेर दिए ।

त्यतिबेला उहाँ को हुनुहुन्थ्यो चिनेको थिइनँ । तथापि उहाँको स्मरणशक्ति देखेर छक्क पर्र्दैै भनेँ, ‘तपाईँको स्मरणशक्तिलाई नमन गर्छु । यो उमेरमा पनि कुन पुस्तक कहाँ छ भन्ने कण्ठै रहेछ ।’ प्रतिउत्तरमा उहाँ बोल्नुभएको थियो– ‘सरस्वतीको सेवा गरेर बस्नेमा यति त हुनै पर्‍यो नि ।’ पछि थाहा पाएँ रत्न पुस्तक भण्डारको संस्थापक उहाँ नै हुनुहुँदो रहेछ, जसको नाममा पुस्तक भण्डारको नाम कायम छ ।

त्यसपछि लामो समयसम्म त्यता जाने अनुकुल परेको थिएन तर २०४८ सालतिर गोरखापत्रको उपसम्पादक भएपछि भने यदाकदा छिर्ने गर्र्थेँ र आफूलाइ चाहिएको पुस्तक खरिद गर्ने पनि गर्थेँ तर उहाँलाई देख्ने अवसर भने त्यसपछि कहिल्यै जुरेन । पछि गोरखापत्रको शनिवारीय परिशिष्टाङ्को संयोजक हुँदा समीक्षार्थ त्यहाँबाट प्रकाशित भएका प्राय: धार्मिक पुस्तकहरू मेरै नाममा आउने पनि गर्थे र कतिपय पुस्तक सम्बन्धित विज्ञबाट समीक्षा पनि गराएको थिएँ । तथापि त्यहाँका प्रकाशकहरूलाई चिनेको भने थिइनँ । चिनजान भएको त २०७२ सालमा मेरो रत्न नीतिकथा सङ्ग्रह पहिलो भाग प्राशित भएपछि मात्र हो, जसको २०७६ सालसम्ममा तेस्रो संस्करण निस्किसकेको थियो ।

जब चिनजान भयो त्यतिबेलादेखि भने रत्न पुस्तक भण्डार र खासगरी प्रबन्ध निर्देशक गोविन्द दाइसँग यति बढी मित्रताको गाँठो कसियो कि रत्न नीतिकथा सँगालोका अन्य भागहरू क्रमश: प्रकाशित हुँदै गए । फलत: हाससम्म छ भागसम्म प्रकाशित भइसकेका छन् । अझ खुशीको कुरा त के छ भने उहाँबाट अन्य भागहरू पनि क्रमश: प्रकाशित गर्दैै जाने आश्वासन प्राप्त भएको छ ।

हाम्रो नीतिकथाको मूल स्रोत भनेका वेद, उपनिषद् इतिहास (रामायण र महाभारत) तथा पुराणहरू नै हुन् । यसबाहेक ईसपको (विदेशी) कथामा पनि नीति तथा असल संस्कारपरक प्रशङ्गहरू प्रशस्तै पाइन्छन् । रत्न नीतिकथाको सबै भागको आधार पनि तिनीहरू नै हुन् । जहाँका रमाइला र शिक्षाप्रद प्रसङ्गहरूलाई सरल तरिकाले बालोपयोगी सरल भाषा लेख्ने प्रयास गरेको छु ।

कथाको पृष्टभूमि पुरानै भए पनि त्यसको आशयलाई यथासम्भव वर्तमानलाई जोड्ने प्रयास भएका छन् । कथा लेख्ने क्रममा शुरूको एक प्यारामा कथाको आशय प्रष्ट्याउने प्रयास गरेको छु भने अन्तिम एक प्यारामा कथाको उपसंहार दिएर कथाको आशय बुझ्न थप सघाउने प्रयास गरेको छु । लाग्छ रत्न नीतिकथा सङ्ग्रहहरू यति बढी लोकप्रिय हुनुको एउटा कारण त्यो पनि हो ।

कथा सङ्ग्रहका सबै भागमा छोटाछोटा २० वटा कथा रहेका छन्, जहाँबाट पाठकलाई हाम्रा वैदिक वाङ्मयको राम्रैसँग रसास्वादन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु । कथाहरू खासगरी कक्षा ४ देखि ७ सम्मका विद्यार्थी भाइबहिनीरूलाई लक्षित गरी लेखिएको छ । सोभन्दा कम उमेरका विद्यार्थी भाइबहिनीलाई अभिभावकको सहयोग चाहिन सक्छ भने प्रौढ उमेरका पाठकहरूलाई पनि पक्कै पुराना कुरामा नयाँ किसिमको रसास्वादन प्राप्त हुनेछ ।   

प्रकाशक रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द दाइ भन्ने गर्नुहुन्छ– ‘आफ्ना नानीबाबुहरूलाई सानै उमेरमा नैतिक शिक्षा दिनु भनेको जरामा पानी हाल्नुजस्तै हो । मुलुकको भविष्य उनीहरूकै काँधमा हुन्छ । उनीहरूलाई सानैदेखि नैतिक शिक्षाको पाठ दिँदै जान सके मुलुकको भविष्य निर्माणमा पक्कै केही सहयोग पुग्नेछ । कसले कसरी लिनुहुन्छ उहाँहरूको कुरा हो तर हामीले आफ्नो कर्तव्य भने भुल्नुहुँदैन । हाम्रा प्रयासले मुलुकको भविष्य निर्माणजस्तो महायज्ञमा अलिकति मात्र सहयोग पुर्‍याउन सक्यो भने पनि त्यही नै ठूलो कुरा हो ।’  

अन्य भाग पनि क्रमश: प्रकाशित गर्दै जाने उहाँको सदाशयभित्र पनि यही नै यही नै भावना निहित रहेको अनुभूत हुन्छ । यसका लागि रत्न पुस्तक भण्डार तथा गोविन्द दाइलाई मुरीमुरी धन्यवाद दिँदै आभार प्रकट गर्न चाहन्छु ।

salt training

कमेन्ट गर्नुहोस्