२६ असार २०८३, शुक्रबार

एनपीएल २ : दुवै शतक विदेशी खेलाडीको नाममा

मंसिर २७, २०८२
काठमाडौं
एनपीएल २ : दुवै शतक विदेशी खेलाडीको नाममा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा दुई वटा शतक बनेका छन् । दुवै शतक विदेशी खेलाडीले बनाएका हुन् ।

पोखरा एभेन्जर्स र कर्णाली याक्सका खेलाडीले एक/एक शतक बनाए पनि यी दुवै टोली क्वालिफायरसम्म पनि पुग्न सकेनन् ।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्धको खेलमा शतक बनाएका हुन् । इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान रोसिङ्टनले उक्त खेलमा अविजित एक सय आठ रन बनाएका थिए ।

यसक्रममा उनले केवल ५८ बलको सामना गरी सात छक्का र ११ चौका पनि हिर्काएका थिए । उक्त खेलमा पोखरा ३४ रनले विजयी भएको थियो ।

यसैगरी, अर्को शतक कर्णाली याक्सका मार्क वाटले बनाएका हुन् । स्कटल्यान्डका खेलाडी मार्क वाटले लुम्बिनी लायन्सविरुद्धको खेलमा अविजित एक सय १४ रन बनाएका थिए ।

यसक्रममा मार्क वाटले केवल ४४ बलको सामना गरी १२ छक्का र ६ वटा चौका पनि हिर्काए । उनी एनपीएलको दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन् । उक्त खेलमा कर्णाली नौ विकेटले विजयी भएको थियो ।

यसअघि, एनपीएलको पहिलो संस्करणमा एउटामात्र शतक बनेको थियो । पहिलो संस्करणमा पनि विदेशी खेलाडीले नै शतक बनाएका थिए ।

त्यतिबेला पोखरा एभेन्जर्सका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिस गाउसले लुम्बिनी लायन्सविरुद्धको खेलमा अविजित एक सय चार रन बनाएका थिए ।

यसक्रममा उनले केवल ५५ बलको सामना गरी पाँच छक्का र १२ चौका हिर्काएका थिए । उक्त खेलमा पोखरा एभेन्जर्स १० विकेटले विजयी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्