
नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका सबै उम्मेदवारको टुंगो लागेको छ ।
जस अनुसार अध्यक्षमा ओलीकै निरन्तरता हुनेछ । उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार हुनेछन् ।
महासचिवमा शंकर पोखरेल नै उम्मेदवार हुनेगरि सहमति जुटेको छ ।
संस्थापन समूहका एक नेताले दिएको जानकारी अनुसार उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकाल उम्मेदवार हुनेछन् । रिमाल यसअघि पनि उपहासचिव थिए भने महासेठ सचिव थिए ।
सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईलाई उठाइने भएको छ ।
भट्ट, विश्वकर्मा र अर्याल यसअघि पनि सचिव थिए ।
संस्थापन इतरबाट ओलीसँग अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् ।
पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्टको उम्मेदवारी टुंगो लागेको छ ।
यसैगरी महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई पोखरेल समूहका उम्मेदवार बन्ने तय भएको छ ।
यो समूहबाट सचिवका लागि ठाकुर गैरे, रचना खड्का, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल लगायतका नेताको नाम चर्चा छ ।
महाधिवेशनबाट ९ जना सचिव निर्वाचित हुनेछन् ।
महाधिवेशन अन्तर्गत आज सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ६ बजे हुनेछ । मतदान भने भोलि मंगलबार बिहान १० देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ ।