
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो हार व्यहोरेको छ ।
नेपाली टोली सोमबारको आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग सात विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।
लगातार दोस्रो हारपछि नेपाली टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ ।
लगातार दोस्रो जितसँगै बंगलादेशले भने सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई तीन विकेटले हराएको थियो । बंगलादेशले आफ्नो अन्तिम खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।
दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये ३१.१ ओभरमै अलआउट हुनुअघि एक सय ३० रनमात्र बनाउन सकेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशी टोलीले भने २४.५ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ३५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
बंगलादेशको जितमा ओपनर जवाद अबरारले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले आक्रामक पाली खेल्दै केवल ६८ बलमा तीन छक्का र सात चौकाको मद्दतले अविजित ७० रन बनाए ।
बंगलादेशका लागि चौथो नम्बरका ब्याट्सम्यान कलाम सिद्दकीले पनि ३४ रनको योगदान गरे । उनले ६६ बलमा चार चौका हिर्काए । रिजन होसैन १२ रनमा अविजित रहे ।
ओपनर रिफत बेग पाँच र कप्तान अजिजुल हकिम एक रनमै आउट भएका थिए । नेपाली टोलीका बलर अभिषेक तिवारी र युवराज खत्रीले एक/एक विकेट लिए ।
त्यसअघि, बंगलादेशविरुद्धको खेलमा पनि नेपाली ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेका थिए । कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
माथिल्लो क्रमका ब्याट्सम्यानको प्रदर्शन त झनै निराशाजनक रह्यो । आठौं नम्बरमा क्रिज समाल्न आएका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । उनले ४३ बलमा दुई छक्का हिर्काए ।
सातौं नम्बरका ब्याट्सम्यान आशिष लुहारले टोलीको खातामा २३ रन थपे । विकेटकिपर ब्याट्सम्यान आशिषले ४१ बलमा एक चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान साहिल पटेल १८ र निरज कुमार यादव केवल १४ रनमा पेभेलियन फर्किए । वंश क्षेत्री चार र सिबरिन श्रेष्ठ पाँच रनमै आउट भए । युवराज खत्रीले ६ रन बनाए ।
निश्चल क्षेत्रीले खातासम्म खोल्न सकेनन् । कप्तान अकोश धामी पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।
विपिन शर्माले पनि खाता खोल्न सकेनन् । दयानन्द मण्डल दुई रनमा अविजित रहे । नेपाली टोलीले अतिरिक्त रूपमा २३ रन पायो ।
बंगलादेशी टोलीका बलर मोहम्मद सोबुजले तीन विकेट लिए । साद इस्लाम, शाहरिया अल–आमिन र अजिजुल हकिमले दुई/दुई विकेट लिए ।
यसअघि, प्रतियोगिताको पहिलो खेलमा पनि श्रीलंकाविरुद्ध नेपाली टोलीका ब्याट्सम्यानले निकै कमजोर प्रदर्शन गरेका थिए । उक्त खेलमा नेपाली टोली केवल ८२ रनमा समेटिएको थियो ।