
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यसहित बुटवलमा आउँदो बिहीबार (पुस ३ गते) देखि औद्योगिक प्रदर्शनी हुने भएको छ ।
‘सम्बृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ रूपन्देही उद्योग संघको आयोजनामा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुन लागेको हो ।
विक्रम संवत् २०४५ मा काठमाडौं बाहिर बुटवलमा पहिलो पटक प्रदर्शनी सञ्चालन भएको थियो । त्यसदेखि अहिलेसम्म प्रदर्शनी निरन्तर चल्दै आएको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्रदर्शनीमा ३५० स्वदेशी उत्पादनका स्थल रहने बताए । ‘बुटवलको औद्योगिक प्रदर्शनीमा नेपाली उत्पादनको प्रवर्द्धन, बजारीकरण र विक्री वितरण गरिने छन्,’ अध्यक्ष पराजुलीले भने, ‘हामीले स्वदेशी बाहेक अन्य देशका उत्पादन राख्दैनौं । प्रदर्शनीले देशमा उद्योगीकरणमा टेवा पुर्याउने छ ।’
प्रदर्शनीको अर्थमन्त्री डा. रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाली उत्पादन उद्योगका लागि अवसरको खोजी र आन्तरिक र बाह्य औद्योगिक वातावरणको प्रदर्शनीमा जानकारी गराइने पौडेलको भनाइ छ ।
प्रदर्शनीमा ८ लाख दर्शक र २० करोड रुपैयाँको कारोबार हुने लक्ष्य लिइएको प्रचारप्रसार संयोजक किरण खरेलले जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले प्रदर्शनी व्यापार मेला जस्तो नभई औद्योगिक जनशक्ति निर्माण कृषिमा प्रविधिको आधुनिकीकरणमा टेवा पुर्याउने बताए ।