१६ असार २०८३, मंगलबार

नक्कली नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

पुस २, २०८२
काठमाडौं
नक्कली नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुट्टा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाई विभिन्न व्यक्तिलाई तेस्रो मुलुक पठाउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट उक्त कार्यमा संलग्न रहेका यमबहादुर बस्नेत, कृष्णबहादुर कटुवाल र सूर्यबहादुर खड्कालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ बस्ने ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकवल गाउँपालिका–३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान नागरिकता, एक थान राहदानी, ई–पासपोर्ट आवेदन फारमको एक प्रति, राष्ट्रिय परिचयपत्रसम्बन्धी आवेदन तथा रुजु फारमको एक प्रति र चार थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध नागरिकता, लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका आज जिल्ला प्रहरी कार्यालय झापा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्