
सशस्त्र प्रहरी बल नेपालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा सहभागी हुने अवसर प्रदान गरेको छ । भीआईपी कोटाका नाममा दबाब दिने पुरानो परिपाटीको अन्त्य गर्दै उद्धार तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पाँच जनालाई सिधै यूएन मिसनमा सहभागी गराइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।
विपद् व्यवस्थापन तथा गोताखोर तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर उद्धार कार्यमा खटिएका, २०८१ सालमा ‘वर्ष जवान’ घोषित प्रहरी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई संगठनको नीतिअनुसार यूएन मिसनको अवसर दिइएको उनले बताए ।
यूएन मिसनमा सहभागी हुनेमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले देशका विभिन्न भागमा विपद्का समयमा १९ पटकसम्म खटिँदै १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए । उनले दुईजना विदेशी पर्यटकको समेत जीवितै उद्धार गर्न सफल भएका थिए ।
यसैगरी, सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत १३ गते सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये पाँच जनाको रोप रेस्क्यु विधिबाट सकुशल उद्धार गरेका थिए । उनले विभिन्न घटनामा २० पटकसम्म खटिँदै १५ जनाको शव निकाल्ने कार्य गरेका छन् ।
सशस्त्र प्रहरी सहायक हवल्दार मेखबहादुर गुरुङले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिममा उत्कृष्ट प्रशिक्षकको रूपमा योगदान पुर्याउँदै आएका छन् । उनले विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुका साथै विदेशी नागरिकको उद्धार कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरेका छन् ।
आपत्–विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारमा उत्कृष्ट योगदान पुर्याएका सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारीलाई गत वर्ष ‘वर्ष जवान–२०८१’ घोषित गरिएको थियो । उनलाई पनि संगठनको नीतिअनुसार यूएन मिसनको अवसर प्रदान गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
त्यसैगरी, सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लबमा आबद्ध भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बक्सिङ विधामा उत्कृष्ट प्रदर्शन गर्दै आठ स्वर्ण, तीन रजत र एक कास्य गरी कुल १२ पदक प्राप्त गरेका छन् । देश र संगठनको प्रतिष्ठा उच्च बनाएको योगदानका आधारमा उनलाई पनि यूएन मिसनमा सहभागी गराइएको थापाले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापना कार्यका लागि ‘युनाइटेड नेशन्स मिशन इन साउथ सुडान’ अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) मार्फत तैनाथ हुँदै आएको छ ।
यसपटक पहुँच र भीआईपी कोटाका आधारमा होइन, उत्कृष्ट कार्यका आधारमा कर्मचारी छनोट गरिनुले संगठनभित्र सकारात्मक सन्देश प्रवाह भएको सशस्त्र प्रहरी बलले जनाएको छ । विपद् उद्धार र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गर्ने कर्मचारीलाई यूएन शान्ति मिसनमा छनोट गरिएपछि सशस्त्र प्रहरी कर्मचारीहरूमा थप हौसला र प्रेरणा बढेको प्रवक्ता डीआईजी मनिष थापाको विश्वास छ ।