२५ जेठ २०८३, सोमबार

कण्ठरोग निवारणमा नेपाल सफल, गलगाँडको समस्या शून्यमा

पुस ५, २०८२
काठमाडौं
कण्ठरोग निवारणमा नेपाल सफल, गलगाँडको समस्या शून्यमा

नेपालले कण्ठरोग (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । आयोडिनयुक्त नुनको सर्वसुलभ आपूर्तिका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्ला वर्षहरूमा शून्यमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

विगतमा आयोडिनको कमीका कारण ठूलो जनसङ्ख्या गलगाँडबाट पीडित हुने गरेकोमा सरकारले सञ्चालन गरेको कण्ठरोग निवारण कार्यक्रम प्रभावकारी बनेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुगेपछि आयोडिन अभावजन्य रोग नियन्त्रणमा आएको छ ।

सरकारको नीति अनुसार आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरण जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिइएको छ । कर्पोरेशनको चुस्त व्यवस्थापनका कारण दुर्गम हिमाली र पहाडी जिल्लासमेत आयोडिनयुक्त नुन सहज रूपमा उपलब्ध भएको छ । राष्ट्रिय योजना आयोगको आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३ ले पनि कण्ठरोग निवारण कार्यक्रममा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आयोडिनको कमीबाट हुने गलगाँड मात्र नभई मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्या पनि घट्दो क्रममा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ यता दुर्गम २२ जिल्लामा आयोडिनयुक्त नुनको सहज आपूर्तिले कण्ठरोग निवारण कार्यक्रम शतप्रतिशत सफल भएको छ ।

गत आर्थिक वर्षमा मात्र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत एक लाख दुई हजार पाँच सय क्विन्टल नुन आपूर्ति गरिएको थियो । मन्त्रालयका सहसचिव शिवराम पोखरेलका अनुसार कर्पोरेशनको वितरण प्रणाली प्रभावकारी भएकै कारण आम नागरिकको भान्सासम्म आयोडिनयुक्त नुन पुगेको हो ।

स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षाविद्हरूले ढिके नुनको प्रयोग लगभग अन्त्य भएको र आयोडिनयुक्त नुनप्रतिको जनचेतना उल्लेखनीय रूपमा बढेको बताएका छन् । उनीहरूका अनुसार आयोडिनको कमीले गर्भवती, बालबालिका तथा वयस्कमा गम्भीर स्वास्थ्य समस्या ल्याउने भएकाले यसको निरन्तर आपूर्ति र सचेतना आवश्यक छ ।

सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ अभियानमार्फत दुई बालबालिकाको चिन्ह अङ्कित आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व भएकाले थाइराइड हर्मोन उत्पादन, मानसिक तथा शारीरिक विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको विज्ञहरूको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्