
सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)बीच संवाद भयो । केही समय सामूहिक र करिब पाँच घण्टा यी दुईले गोप्य संवाद गरे ।
त्यो संवादमा के भयो खुलाइएको छैन । तर, रास्वपा पूर्व सांसद असीम साहको म्युजिक कम्पनी जी२१ को कार्यालय कमलपोखरीमा मध्यरातसम्म चलेको बैठकले पुसको चिसोमा नेपाली राजनीतिलाई मज्जाले तताइदिएको छ ।
सात घण्टा लामो छलफल सकिएर रवि र बालेन एउटै गाडीमा बाहिरिएपश्चात रातको १:३६ मा साहले सामाजिक सञ्जालमा लेखे- ‘रवि र बालेन दुई दाजु-भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
बालेन रविभन्दा अगाडि राजनीतिमा आएका हुन् । ‘र्यापर ब्याकग्राउन्ड’ का बालेन २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बन्दै मेयर बने । बालेनको त्यो जीत देखेपछि पत्रकारिता ब्याकग्राउन्डका रविले पनि २०७९ को संघीय निर्वाचनमा भाग लिए । सानदार चुनाव जित्दै रास्वपालाई चौथो दल बनाए । घण्टी चुनाव चिह्नलाई ब्रान्डिङ गर्न सफल भए ।
त्यसपश्चात रवि र बालेनको राजनीतिक गतिविधिहरूले उनीहरूलाई वैकल्पिक राजनीतिको मियोका रूपमा स्थापित गरेको छ । रवि र बालेन मिल्नुपर्छ भन्ने मत बलियो बन्दै गएको छ ।
सहकारी प्रकरणमा रविलाई जेल हाल्दा राजनीतिक प्रतिशोध भयो भन्दै आएको रास्वपा पंक्ति बालेनसँग मिल्नुपर्ने पक्षमा छ ।
धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङको ‘बेलगाम बोली'का कारण उनीप्रति धेरै रुचि नभए पनि रास्वपा नेताहरू नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख तथा हालका ऊर्जा मन्त्री कुलमान घिसिङसँग समेत मिल्नुपर्ने पक्षमा छन् ।
यसैबीच, सोमबार राति रवि-बालेनको भेटले आमपरिवर्तन चाहेका नेपाली जनतामा उत्साहको सञ्चार भएको रास्वपा प्रवक्ता मनिष झा बताउँछन् । ‘केहीलाई बाहेक धेरैलाई हिजोको भेटले उत्साह र आशाको सञ्चार गरेको छ,’ झाले लोकान्तरसँग भने, ‘जनताको चाहना र राष्ट्रको आवश्यकताअनुसार वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने मत छ ।’

यसरी बन्यो भेटको वातावरण
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्ने आदेश दियो । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तसहित रविलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछाने ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझाएर रिहा भएका हुन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने रूपन्देही जिल्ला अदालतमा शुक्रबार साँझ आफैं उपस्थित भएर कागज गरी थुनामुक्त हुँदा ३ करोड ७४ लाख ८४ हजार बैंक ग्यारेन्टी बुझाएका थिए ।
रवि थुनामुक्त भएको भोलिपल्ट अर्थात् शनिबार चितवन पुगे । आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उनले आमजनता र कार्यकर्तालाई सम्बोधन गरे । त्यसबखत उनले देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका थिए । भैरहवाबाट सिधै चितवन पुगेका उनले मिलेर जाने विषयमा आफू सधैँ सकारात्मक भएको बताएका थिए ।
‘मैले कारागारबाट पनि भनेको थिएँ- म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु,’ लामिछानेले भनेका थिए, ‘मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिह्न चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति, उपसभापति चाहिन्छ, लैजानुस् ।’
उनले आफ्ना साथीहरू मिल्नका लागि संवादमै रहेको जानकारी पनि गराए थिए । साथै, मिल्नुपर्नेहरू जो-जो हो, अन्तिममा मिलेरै छाड्ने दाबी उनको थियो । ‘हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’ उनले भनेका थिए ।
त्यसपश्चात काठमाडौं आएर रविले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार साँझ भेट गरे । औपचारिक छलफलपश्चात प्रधानमन्त्री कार्की र रविबीच २० मिनेट जति गोप्य, र गहन संवाद भयो । त्यसको सम्पूर्ण सूचना बाहिर नआउँदै रविले सोमबार राति बालेनसँग संवाद गरे ।
बालेनसँग संवाद अकस्मात् कि तयारीसहित भेट भयो भन्ने प्रश्न अहिले उठिरहेको छ । त्यसो त त्यसअघि पनि एकपटक यी दुईबीच भेटवार्ता भएको बताइन्छ । रास्वपा प्रवक्ता झाले केही समयको गृहकार्यपश्चात् भेटवार्ता सम्भव भएको बताए ।
रवि-बालेन भेट गराउन भूमिका खेलेको स्रोत पनि यो भेटको पृष्ठभूमि धेरै अघिदेखि बनेको दाबी गर्छ ।
‘केही समय अगाडि मेयरसापका सहयोगी कुमार बेन र हाम्रोतर्फबाट राजनीतिक संवाद गरिरहनुभएका शिशिर खनालजीबीच भेट भएको थियो । त्यस भेटमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो । शुरूआत त्यहीँबाट भएको हो,’ स्रोतले लोकान्तरसँग भन्यो ।
जेनजी आन्दोलनपछि नै सहकार्यको सम्भावनाबारे छलफल शुरू भएको थियो । त्यसबखत रवि लामिछाने नख्खु जेलमा थिए । बालेन पनि संसदीय राजनीतिमा आउने कि नआउने भन्नेमा स्पष्ट निर्णयमा पुगिसकेका थिएनन् ।
‘खासगरी, कुलमान र रवि एक ठाउँमा आए रास्वपालाई समर्थन गर्न सकिन्छ भनेर बालेन बसिरहेका छन् भन्ने म्यासेज हामीमाझ सर्कुलेट भएपश्चात शिशिरजी बालेनको टीमसँग संवादमा अघि बढ्नुभयो,’ स्रोतले थप्यो
रास्वपाले त्यतिबेलासम्म कुलमान र उनको टीमसँग संवाद गरिसकेको थियो ।
कुलमानले चाहिनेभन्दा बढी सर्त राखेपश्चात रास्वपा एक कदम पछाडि हट्यो । स्रोतको दाबीअनुसार त्यही परिस्थितिमा बालेनका तर्फबाट कुमार बेन र रास्वपा सचिवालय सदस्य शिशिर खनाल छलफलमा जुटेका थिए ।
उक्त छलफलमा बालेन समूह रास्वपासँग पोजेटिभ बन्यो । त्यसमाथि रास्वपा केन्द्रीय सदस्य गणेश कार्की पनि बालेननिकट भएर काम गर्दै आएकाले पनि परिवेशलाई सहज बनाउन मद्दत पुग्यो ।
‘उहाँहरूले कमै सर्त राख्नुभयो । बनिसकेको र एक स्थापित संस्था रास्वपालाई अघि बढाऊँ भन्नेमा सहमत हुनुभयो भनेर हामीलाई ब्रिफिङ भयो,’ स्रोतले थप्यो । बालेन समूह रास्वपाको नीति, नेतृत्व र चुनाव चिह्न मान्न तयार भएपश्चात पार्टीभित्र उत्साह थपियो । तर, चुनावपश्चात प्रधानमन्त्री भने बालेनलाई बनाउनुपर्ने सर्त उक्त पक्षको थियो । यसबेलासम्म छलफलमा रवि र बालेनको कतै सहभागिता थिएन ।
‘सबै पक्षलाई समेटेर जानुपर्ने निष्कर्षसहित केही विषयमा नेगोसिएसनको आवश्यकता देखियो,’ स्रोतले थप्यो, ‘पावर सेयरिङ जस्ता विषयमा सम्भावना भए छलफल गर्न सकिने कुरा आयो ।’
त्यसपश्चात पनि एकदुई राउन्ड बालेन समूह र खनाल संवादमा जुटे ।

ती संवादबाट आएका विषयहरू दुवै पक्षमा प्रवाह भए । पार्टी सभापतिको हैसियतले कानूनी रूपमा पनि मुख्य हक सभापतिकै हुने भएकाले अन्तिम निर्णय दुईजना शीर्ष नेताहरू बसेर गर्नुपर्छ भन्ने समझदारी त्यसपश्चात बन्यो ।
यहीबीचमा बालेनका बुवाको निधन भयो । बालेन करिब दुई साता काजकिरियमा बस्नुपर्ने भएपश्चात् सम्पूर्ण राजनीतिक संवाद बन्द भए । तर, रवि र बालेनलाई कसरी भेटाउने भन्ने विषयमा दुई समूहबीच फोनमा प्रशस्त राजनीतिक संवादहरू भए ।
चलचित्र क्षेत्रसँग जोडिएका आसिफ शाह, निश्चल बस्नेतलगायत पनि रवि-बालेन मिलनका लागि सक्रिय भएर लागेका थिए ।
‘जेनजी आन्दोलनपश्चात आसिफ, निश्चलहरू बालेन-रवि मिलाएर वैकल्पिक शक्ति बलियो बनाउनुपर्छ भनेर लागेका छन्,’ स्रोत भन्छ ।
यसरी पृष्ठभूमिमा बालेन र रविलाई एक ठाउँमा उभ्याउन निरन्तर संवाद भए । तर, दुवै समूहले पहिले फाउन्डेसन बनाउने काम गरे । बालेन समूह र रास्वपा दुवै पक्षलाई वैकल्पिक शक्ति एकजुट नभए पुराना शक्तिहरू पुनः हाबी हुने डर भयो ।
शुरूमा हर्क, कुलमान र रास्वपा मिले बालेन स्वतः आउने भन्ने बुझाइ रहे पनि परिस्थिति सोचेअनुरूप नभएपश्चात रास्वपाले सबैलाई जोड्ने संकल्प लिएको स्रोत बताउँछ । लिगेसी बोकेको विवेकशीललाई जोडेपश्चात वैकल्पिक शक्ति एक हुनुपर्ने आवाज झन् बलियो भएको बुझाइ रास्वपाभित्र छ ।
रास्वपाले स्वर्णिम वाग्लेको संयोजकत्वमा उपसंयोजक शिशिर खनाललाई राखेर राजनीतिक संवाद टीम बनाएको छ । बालेनलाई मिलाउने केसमा भने शिशिरले धेरै भूमिका खेलेको स्रोतको दाबी छ ।
पछिल्लो समय भने स्वर्णिम वाग्लेले पनि बालेन समूहसँग संवाद गरेका थिए । अनौपचारिक छलफलका क्रममा बालेन पक्ष नेतृत्वमा रविलाई स्वीकार्ने तर, प्रधानमन्त्री भने आफूहरूलाई चाहिने अडानमा रहेको थियो ।
बालेनको टीममा मुख्य व्यक्ति नै कुमार बेन हुन् । यसबाहेक जेनजी मुभमेन्टपश्चात बालेनसँग रास्वपा नेता असीमका भाइ आसिफ शाह र निश्चल बस्नेत पनि निरन्तर जोडिएर काम गरिरहेका छन् ।
त्यसैले सोमबार रातिको भेट पनि असीम आसिफको कार्यालय कमलपोखरीमा भएको स्रोत बताउँछ ।
‘भेट भएको स्थान दुवै पक्षका लागि सहज थियो । रवि दाइ र बालेन दुवै कम्फर्ट देखिनुहुन्थ्यो,’ स्रोत भन्छ ।
करिब एक महिना अगाडिबाट मिलन प्रक्रियाले हिजो मात्र ठोस परिणाम पाएको छ । रास्वपामा शिशिरले कुमार बेनसँग संवाद गरेपश्चात पटक-पटक रवि लामिछानेलाई नख्खु पुगेर मनाएका थिए ।
‘स्वर्णिमजीले भएका प्रगतिबारे जेल पुगेर रविजीलाई बताउनुभयो । दोस्रो राउन्डमा स्वर्णिमजी र शिशिरजी पटक-पटक नख्खु पुगेर मिलेर जानुपर्छ भन्दै सम्झाउनुभयो,’ स्रोत भन्छ ।
यद्यपि, बालेनसँग संवाद भए पनि रवि पूर्णरूपमा ढुक्क भइनसकेको स्रोत बताउँछ । तर, के विषयमा रिजर्भेसन भन्नेचाहिँ स्रोतले खुलाउन चाहेन । बालेनले प्रधानमन्त्री चाहिन्छ भनेपश्चात के गर्ने भन्ने विषयमा रविले निर्णय गरिनसकेको बुझाइ रास्वपाभित्र छ ।
‘मुख्य उद्देश्य संवाद शुरू गर्नु र एक ठाउँमा आएर छलफल गर्नु नै थियो र त्यो भयो । हिजोको भेटमा पूरै निष्कर्ष निस्किने गरी छलफल भएको होइन,’ स्रोत थप्छ, ‘सबै कुरा खुलाउने अवस्था छैन । मिलाउनुपर्छ र मिल्नुपर्छ भनेर सबै लाग्नुभएको छ ।’