
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि तयार गरिएको पछिल्लो शान्ति योजनामा डोनबास क्षेत्रमा सैन्यरहित (डिमिलिटाराइज्ड) क्षेत्र स्थापना र पूर्वी भागबाट युक्रेनी सेना फिर्ता गर्ने सम्भावनाबारे विस्तृत जानकारी दिएका छन् ।
अमेरिका र युक्रेनका दूतहरूबीच फ्लोरिडामा भएको छलफलपछि तयार पारिएको २० बुँदे शान्ति योजनाबारे जानकारी दिँदै जेलेन्स्कीले अमेरिकी पक्षले रुससँग छलफल गरेपछि प्रतिक्रिया आउने बताएका छन् । उनले यो योजनालाई ‘युद्ध अन्त्य गर्ने मुख्य रूपरेखा’का रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार योजनामा यदि रुसले पुनः आक्रमण गरेमा अमेरिका, नाटो र युरोपेली देशहरूले संयुक्त रूपमा सैनिक प्रतिक्रिया दिने सुरक्षा प्रत्याभूति समेटिएको छ ।
डोनबास क्षेत्रको विषयमा जेलेन्स्कीले ‘स्वतन्त्र आर्थिक क्षेत्र’ एउटा विकल्प हुनसक्ने बताएका छन् । उनले भने, ‘युक्रेन सेना फिर्ताको पक्षमा छैन, त्यसैले अमेरिकी वार्ताकारहरूले असैन्य क्षेत्र वा आर्थिक क्षेत्रको अवधारणामाथि छलफल गरिरहेका छन् ।’
युक्रेनी सेना फिर्ता हुने कुनै पनि क्षेत्रको सुरक्षाको जिम्मा भने युक्रेनकै प्रशासन र प्रहरीले लिने उनले स्पष्ट पारे ।
‘दुई विकल्प छन्’, जेलेन्स्कीले भने, ‘या त युद्ध जारी रहन्छ, वा सम्भावित आर्थिक क्षेत्रबारे कुनै निर्णय लिनुपर्छ ।’
२० बुँदे योजना केही हप्ता अघि अमेरिकी दूत स्टिभ विटकोफले रुससँग सहमति जनाएको २८ बुँदे प्रारम्भिक दस्तावेजको परिमार्जित रूप मानिन्छ, जुन दस्तावेज क्रेमलिनको पक्षमा झुकेको भन्दै आलोचित थियो ।
रुसले शान्ति सम्झौताका लागि डोनेत्स्क क्षेत्रको करिब एक चौथाइ भागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ । बाँकी क्षेत्र पहिल्यै रुसी नियन्त्रणमा छ ।
जेलेन्स्कीका अनुसार क्षेत्रीय सीमा, भूभागजस्ता संवेदनशील विषयहरू राष्ट्र प्रमुख तहमै टुंग्याउनुपर्नेछ । तर नयाँ योजनाले युक्रेनलाई बलियो सुरक्षा प्रत्याभूति र शान्तिकालमा ८ लाखसम्मको सेना राख्न पाउने व्यवस्था प्रस्ताव गरेको छ ।
योजना अनुसार यदि युक्रेनले डोनेत्स्कमा आफूले नियन्त्रणमा राखेको २५ प्रतिशत भूभागमा पाँच, १० वा ४० किलोमिटर पछाडि भारी हतियार फिर्ता गर्यो भने, रुसले पनि त्यही अनुपातमा सेना फिर्ता गर्नुपर्नेछ ।
हाल रुसी सेना युक्रेनका ‘फोर्ट्रेस बेल्ट’ भनिने स्लोभियान्स्क र क्रामाटोर्स्क सहरबाट करिब ४० किलोमिटर पूर्वमा छ र उसले सिभेर्स्क सहर नियन्त्रणमा लिइसकेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस महिनामै युक्रेनी सेना फिर्ता नभए बल प्रयोग गरेर सम्पूर्ण पूर्वी युक्रेन नियन्त्रणमा लिने चेतावनी दिएका थिए ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि सम्झौतामा जोड दिइरहेका छन् । जेलेन्स्कीका अनुसार रुसले अमेरिकी प्रस्ताव अस्वीकार गर्न सजिलो छैन ।
‘उनीहरूले राष्ट्रपति ट्रम्पलाई शान्ति समाधानको विरोध गर्छौं भन्न सक्दैनन्’, जेलेन्स्कीले भने, ‘यदि अवरोध गरे भने ट्रम्पले हामीलाई ठूलो मात्रामा हतियार उपलब्ध गराउँदै सबै सम्भावित प्रतिबन्ध लगाउनुपर्ने हुन्छ ।’
जेलेन्स्कीले यदि डोनबासमा स्वतन्त्र आर्थिक क्षेत्र बनाइए पनि त्यो पूर्ण रूपमा युक्रेनी प्रशासन र प्रहरीको नियन्त्रणमा रहने स्पष्ट पारे । हालको अग्रपंक्ति नै आर्थिक क्षेत्रको सीमाना बन्ने र त्यहाँ अन्तर्राष्ट्रिय बल तैनाथ गरी रुसी घुसपैठ रोक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
युरोपेली देशहरूको ‘कोएलिसन अफ द विलिङ’ले शान्ति सम्झौताको निगरानी गर्ने प्रस्तावलाई रुसले यसअघि नै अस्वीकार गरिसकेको छ ।
जेलेन्स्कीका अनुसार शान्ति योजनामाथि अन्तिम निर्णय जनमतसंग्रहबाट मात्र हुनुपर्नेछ । उनले जापोरिज्जिया आणविक केन्द्र वरिपरि पनि आर्थिक क्षेत्र बनाइनुपर्ने र रुसले ड्निप्रोपेट्रोभ्स्क, मायकोलाइभ, सुमी र खार्किभ क्षेत्रबाट सेना फिर्ता गर्नुपर्ने माग दोहोर्याए ।
अमेरिकाले प्रस्ताव गरेको जापोरिज्जिया आणविक केन्द्रलाई युक्रेन, अमेरिका र रुसले संयुक्त रूपमा सञ्चालन गर्ने अवधारणालाई भने कीभले अस्वीकार गरेको छ ।
योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिएको छ र रुससँग गैर–आक्रमण सम्झौताको प्रस्ताव गरिएको छ । साथै नाटोको धारा पाँचसरहको सुरक्षा प्रत्याभूति, युरोपेली संघमा युक्रेनको सदस्यता निश्चित मितिसहित र करिब २०० अर्ब डलरको युक्रेन लगानी कोष स्थापना गर्ने प्रस्ताव पनि समावेश छन् ।
शान्ति सम्झौता भएपछि युक्रेनमा यथाशीघ्र निर्वाचन गरिनुपर्ने व्यवस्था पनि योजनामा छ, यद्यपि पूर्ण युद्धका कारण हाल देशमा सैनिक शासन लागू छ ।