
मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा पेरिसलाई एक प्रस्ताव गरेको छ । जासुसीको आरोपमा २० वर्षको जेल सजाय हुनसक्ने मुद्दामा छलफलका लागि मस्को सकारात्मक देखिएको छ ।
आश्चर्यजनक पछिल्लो प्रस्तावपछि रुस र फ्रान्स दुवैले राष्ट्रपति भ्लादिमिर पुटिन र इमानुएल म्याक्रोँबीच सम्भावित वार्ताका लागि चासो देखाएका छन् ।
स्विस गैर–सरकारी संस्थाका लागि द्वन्द्व मध्यस्थताको काम गर्ने र जुन २०२४ मा जेल परेका भिनाटियरले ‘विदेशी अधिकारकर्मी’ को रूपमा नाम दर्ता गर्न असफल भएको आरोपमा तीन वर्षको सजाय भोगिरहेका छन्। उनले जासुसीको नयाँ आरोपको सामना गरिरहेका छन् ।
“हाम्रो पक्ष र फ्रान्सबीच उचित सम्पर्क थियो। वास्तवमा, भिनाटियरको बारेमा फ्रान्सेलीहरूलाई प्रस्ताव गरिएको थियो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीसहितका पत्रकारहरूसँग भने ।
पेस्कोभले नयाँ प्रस्तावबारे विस्तृत विवरण भने प्रदान गरेका छैनन् ।
भिनाटियरको परिवारले उनमाथि लागेको आरोपलाई अस्वीकार गर्दै उनी युक्रेनमा युद्धलाई लिएर मस्को र पेरिसबीचको तनावको शिकार भएको बताएका छन् ।