
पूर्व-पश्चिम राजमार्गको कोलाहलबाट अलि भित्र छिरेपछि एउटा शान्त चौतारी भेटिन्छ- दाहाल चौतारी । विराटचोक-घिनाघाट सडक खण्डमा अवस्थित यो चौतारीमा दौँतरी खोज्दै पुग्ने पाका उमेरका छिटफुट मानिस भेटिन्छन् ।
पूर्णप्रसाद दाहालले मोरङको सुन्दरहरैँचा नगरपालिका बेलेपुरमा बनाएको यो चौतारी अरूका लागि सामान्य विश्रामस्थल होला तर यहाँका केही पाका अनुहारहरूका लागि भने जीवनको पाठशाला, एक्लोपनको औषधि र दिन काट्ने एक मात्र सहारा हो ।
समय फेरियो, समाज फेरियो । गाउँघरबाट चौतारीहरू मासिए, अनि उमेर ढल्किँदै जाँदा मन मिल्ने ‘दौँतरी’ (साथीहरू) पनि हराउँदै गए ।
तर, यो चौतारीमा हरेक बिहान एउटा नियमित दृश्य देखिन्छ । ८६ वर्षीय चन्द्रप्रसाद खतिवडा, उनका छिमेकी पदमप्रसाद निरौला र पञ्चबहादुर तामाङ यहाँ भेटिन्छन् । उनीहरू यहाँ केवल घाम ताप्न मात्र आउँदैनन्, आफूजस्तै एक्लिएको समयको किस्सामाथि गफिन आइपुग्छन् ।
८६ वर्ष टेकेका चन्द्रप्रसाद खतिवडाको दैनिकी घडीको सुईजस्तै निश्चित छ । उज्यालो भएपछि उठ्नु, नित्यकर्म सक्नु, छोराबुहारीले दिएको तातोपानी र चिया खानु अनि लौरो टेक्दै चौतारीमा आउनु ।
‘बिहान चिया खाएपछि यता आयो, बस्यो । ९ बजेपछि घरमा खाना खान गयो, फेरि फर्कियो,’ चन्द्रप्रसाद आफ्नो रुटिन सुनाउँछन्, ‘बुढेसकालमा शरीर गल्दै गएपछि टाढा जाने तागत छैन । घरभित्र एक्लै गुम्सिनु भन्दा चौतारीको हावा प्यारो लाग्छ ।’
उनको यो भनाइमा सयौं बृद्धबृद्धाहरूको साझा कथा लुकेको छ । जब उमेर ढल्किन्छ, मान्छेलाई सबभन्दा ठूलो भार ‘समय’ बनिदिन्छ । त्यो समय कटाउन उनीहरूलाई यस्तै चौतारी सहारा बन्छ ।
चौतारीमा बसेर गफिँदा उनीहरू विगत सम्झिन्छन् । तर, सम्झना साट्न एउटै उमेर समूहका (दामल) साथीहरू अब बाँकी छैनन् । चन्द्रप्रसादको अनुहारमा एक किसिमको रिक्तता देखिन्छ जब उनी आफ्ना बालसखा र समकालीनहरूलाई सम्झिन्छन् ।
‘अब ७०–८० वर्षको मान्छेले के भजन गाउनु ? गफ पनि के गर्नु ?’ उनी भन्छन् ‘आफ्ना दौँतरीहरू गएपछि (निधन भएपछि) हामी अन्तिम साक्षी हौं जस्तो लाग्छ ।’
समाजले भन्छ- बुढेसकालमा भजनकीर्तन गर्नुपर्छ । तर उनीहरूको तर्क बेग्लै छ । जीवनका ७०–८० वसन्तमा यति धेरै दु:ख र सुख भोगिसकियो कि अब भजनले भन्दा आफ्नै पुराना दिनका स्मृतिले मन शान्त हुन्छ । उनीहरू यहाँ राजनीति गफ गर्दैनन्, न त कसैको कुरा काट्छन् । यहाँ त केवल जीवनको समीक्षा हुन्छ ।
सँगै बसेका पदमप्रसाद निरौला अर्का जिउँदा इतिहास हुन् । उनीहरूको गफमा पहाड (भोजपुर)देखि मधेश झर्दाको संघर्षको कथा व्यथा मिसिन्छ । पदमप्रसाद सम्झिन्छन्, ‘अहिलेको पुस्तालाई थाहा छैन, हामीले निगुरो खाएर ज्यान बचाएको जमाना थियो ।’

उतिबेला मधेशमा औलोको डर थियो । अनिकाल लाग्थ्यो । पदमप्रसाद २००६ सालतिरको समय सम्झिन्छन्, जतिबेला ‘टिमटिमे झोडा’ (हालको इटहरा, राजघाट) मा ४० रूपैयाँ तिर्दा चार बिघा जग्गा पाइन्थ्यो । जंगल फाँडेर बस्ती बसाउनुको दु:ख, असार–साउनमा लाग्ने अनिकाल र पैसाको अभाव– यी सब उनीहरूको मष्तिष्कमा चलचित्रजस्तै घुमिरहन्छ ।
‘त्यतिबेला मान्छे पाइन्थ्यो, पैसा थिएन । हलीलाई वर्ष दिनको एक मन धान दिएर काम लगाइन्थ्यो,’ चन्द्रप्रसाद थप्छन्, ‘अहिले अन्न छ, पैसा छ, तर मान्छे छैनन् । सबै विदेश गए, गाउँ रित्तियो ।’
उनीहरूको यो संवादले नेपालको बदलिँदो सामाजिक र आर्थिक चित्रलाई प्रष्ट पार्छ । हिजो अनिकालमा पनि मान्छेको साथ थियो, आज सहकालमा पनि मान्छेको अभाव छ ।
रोचक कुरा के छ भने, चौतारीमा भेटिने यी तीन पात्रहरू एउटै परिवारका होइनन्, न त रगतको नाता नै छ । चन्द्रप्रसाद र पदमप्रसादको पुर्ख्यौली थलो भोजपुर (दिङ्ला) एउटै भए पनि उनीहरू यहाँ आएर मात्र नजिक भएका हुन् ।
‘हामी कसैसँग बाझाबाझ गर्दैनौं । कोहीसँग पैसा नहुँदा अर्कोले चिया खुवाउँछौं । हामी त अब एकअर्काका सुखदु:ख साट्ने चौतारी हौं,’ पदमप्रसाद भन्छन् ।
आफन्त र छोरा नाति आ–आफ्नै काम र संसारमा व्यस्त हुँदा यी बृद्धहरूले एकअर्कालाई ‘दौँतरी’ बनाएका छन् । उनीहरू एकअर्काको विगत सुन्छन् र वर्तमानको एक्लोपनलाई साझा गर्छन् । पञ्चबहादुर तामाङ उनीहरूभन्दा केही कान्छा भए पनि यही समूहमा मिसिएर आफ्ना कुरा राख्छन् ।
बेलेपुरको दाहाल चौतारीमा भेटिने यी बृद्ध बुवाहरूको कथाले हामीलाई सोच्न बाध्य बनाउँछ । विकासको नाममा हामीले फराकिला सडक र अग्ला घर त बनायौं, तर मन बिसाउने चौतारीहरू मासिरहेका छौं ।
उनीहरूको जीवनको उत्तरार्धमा देखिएको यो मेलमिलाप र चौतारी प्रेमले नयाँ पुस्तालाई एउटा सन्देश दिन्छ– मानिसलाई अन्त्यमा चाहिने भनेको मानिस नै हो । जतिसुकै प्रविधि र सुविधा भए पनि, मनको भारी बिसाउन प्रत्यक्ष संवाद र आत्मीयताको खाँचो पर्छ ।
‘छैनन् चौतारी, छैनन् दौँतरी’ भन्ने भनाइ आजको समाजमा चरितार्थ हुँदै गएको छ । तर चन्द्रप्रसाद, पदमप्रसाद र पञ्चबहादुरले बेलेपुरको त्यो चौतारीलाई जीवन्त राखेर प्रमाणित गरिदिएका छन् कि- जबसम्म आफ्ना कुरा सुन्ने कोही हुन्छ, तबसम्म बुढेसकाल पनि बोझिलो हुँदैन ।
यो चौतारी केवल इँटा र सिमेन्टको संरचना होइन, यो एउटा खुला संग्रहालय हो जहाँ ८६ वर्षको अनुभव, संघर्ष र इतिहास हरेक बिहान घाम ताप्न आइपुग्छ ।
यस्ता चौतारी र त्यहाँ बस्ने ‘जिउँदा इतिहास’लाई जोगाउनु र सम्मान गर्नुपर्छ, किनकि भोलि हामी पनि त्यही चौतारीको बाटो भएर हिँड्नुपर्नेछ । अबको पुस्ताले यत्ति कुरा चाहिँ बुझ्ने कि !?