
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ ।
आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेँटीलाई ‘संगत र सहकार्य’ शीर्षक दिइएको थियो । कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचना प्रस्तुत भएका थिए ।
कार्यक्रमलाई आभास आफैंले ‘न्यारेट’ गर्दै गीति रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरूआत उनले पहिलोपल्ट स्टेजमा गाएको एकल गीत ‘भुइँ कुहिरो उड्न थाल्यो’बाट भएको थियो । संगीतकार तथा गीतकार चन्द्र भण्डारीले सिर्जना गरेको यस गीतमा वैचारिक दृढताको अनुभूति झल्कन्थ्यो ।
हरेक गीतको प्रस्तुतिसँगै आभासले त्यस गीतसँग जोडिएको रचनागर्भको चर्चा गरेका थिए । जसमा कहिले गीतकार जोडिन आइपुग्थे भने कहिले संगीतकार । कहिले रोचक संस्मरण जोडिन आइपुग्थे भने कहिले भावुक सम्झना ।
दोस्रो र तेस्रो प्रस्तुतिमा आभासको पहिलो सांगीतिक एल्बम पलापलामा संग्रहित गीत रहेका थिए । उनले आफ्नै शब्द रचनाको ‘आँसुले यो मन बहकिन्छ’पछि कवि तथा गीतकार विप्लव प्रतीकले सिर्जना गरेको ‘जीवनभर टिठ्याइ रह्यो मलाई जिन्दगीले’ गाएका थिए । आभासले आफ्ना पुराना तीनवटा गीत प्रस्तुत गरिसकेपछि पलेँटीमा सम्लग्न नयाँ पुस्ताकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेलाई प्रस्तुत गरेका थिए ।
शुरूमा आफ्ना लागि आफैं शब्द रचना गर्ने गरेको जानकारी दिँदै आभासले क्रमश: गीतकार विप्लव प्रतीक र श्रवण मुकारुङसँग संगत भएपछि अन्य गीतकारका शब्दमा पनि आकर्षित भएको जनाएका थिए ।
चौथो प्रस्तुतिमा अभिज्ञाले श्रवण मुकारुङको गीत ‘हजुर हजुर म पो हजुरको’ प्रस्तुत गरेकी थिइन् । पाँचौं र छैठौं प्रस्तुति पनि अभिज्ञाकै कण्ठमा गुञ्जिएका थिए । जसमा कवि मञ्जुलको शब्द रचना ‘कुर्नु कुरिसकेपछि पर्वतले जून पायो’ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना ‘जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत’ रहेका थिए।
यसपालिको पलेँटीमा आभासले आफूले धुन भरेका पाँचवटा बिल्कुल नयाँ सिर्जना रहेको जानकारी गराएका थिए । नयाँ गीत सुनाउने क्रममा आभासले सबैभन्दा पहिले कुमार नगरकोटीको शब्द रचनामा ‘कहिले घाम कहिले पानी, जिन्दगानी, कहिले धुवाँ कहिले खरानी, जिन्दगानी’ प्रस्तुत गरेका थिए । यमन रागको झलक रहेको यस गीतले निषाद स्वरमा विश्राम लिँदा, पानीकै तरलताको अनुभूति झल्काउँथ्यो ।

त्यसपछि श्रवण मुकारुङको नयाँ गीति रचना ‘तिमीलाई भेट्न भनेर, नौ डाँडा काटी म आएँ’ प्रस्तुत भएको थियो । दादरा तालमा आवद्ध यस गीतलाई अभिज्ञा घिमिरेले नै स्वर दिएकी थिइन् ।
कार्यक्रमको पुछारतिर आभासले आफ्नो प्रसिद्ध गीति रचना ‘गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो, आफैं फेरिएछ’ प्रस्तुत गरेका थिए । यो गीतले नेपालको राजनैतिक नेतृत्वलाई करुणापूर्वक व्यङ्ग्य गरेको प्रतीत हुन्थ्यो ।
यसपालिको पलेँटीको समापन रमाइलो ढंगले भएको थियो । आभासले कवि तथा गजलकार बूँद रानाको गजल ‘पिउँदै नपिउने मान्छे पिएँ अलिकति’लाई मौलिक तरिकाले प्रस्तुत गरेका थिए ।
आफ्ना गुरु अम्बर गुरुङ र अग्रज सर्जक भीमबिरागसँगका अन्तरङ्ग क्षणहरूको स्मरण गर्दै उनले बैठकी शैलीमा यस गजललाई प्रस्तुत गरेका थिए । अम्बर गुरुङकै उपस्थितिमा पलेँटीमा निक्कै वर्ष पहिले आभासले गाएको यस गजलले नयाँ रौनक उत्पन्न गराएको थियो ।
यसपालिको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), सुन्दरकुमार महर्जन र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (बेस गिटार) र प्रविन पुलामी मगर (रिदम गिटार) को सहभागिता रहेको थियो ।
अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना कवि तथा लेखक भूषिता वशिष्टको काव्यात्मक प्रस्तुति हुने भएको छ ।