
नेपालको बैंकिङ प्रणालीमा निक्षेप संकलन इतिहासकै सर्वाधिक पुगेको छ । चालू आर्थिक वर्षको पुस दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन हालसम्मकै उच्च पुगेको हो ।
पुस १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७६ खर्ब पुगेको छ, जुन नेपालको बैंकिङ इतिहासकै सबैभन्दा बढी हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाहरूको लगानी योग्य रकम अर्थात् कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७४.०८ प्रतिशत रहेको छ । बैंकहरूले सीडी रेसियो ९० प्रतिशतसम्म कायम राख्न सक्ने व्यवस्था छ । अर्थात् बैंकहरूले कूल निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह तथा लगानी गर्न सक्छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग झन्डै १२ खर्ब लगानीयोग्य रकम रहेको छ ।
तर, बजारमा कर्जाको माग नहुँदा बैंकहरू र नेपाल राष्ट्र बैंकका लागि तरलता व्यवस्थापन चुनौती बनिरहेको छ । बजारमा चाहिनेभन्दा बढी लगानीयोग्य रकम बैंकहरूका लागि समस्या बनेको हो ।
अहिले पैसा भएर पनि राज्य गरिब भएजस्तो अवस्थामा पुगेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । अत्यधिक रकम बैंकिङ क्षेत्रमा हुनु सबैका लागि चिन्ताको विषय रहेको उनको भनाइ छ । ‘पैसा भएर पनि गरिब भएजस्तो अवस्था भयो । पैसा छ तर, त्यसको व्यवस्थापन भएको छैन । पैसा भएर पनि व्यवस्थापन नहुँदा राज्य गरिब भएको उदाहरण नेपाल हो,’ दाहाल भन्छन्, ‘यति धेरै क्षेत्रमा लगानी गर्नुपर्ने छ, यति क्षेत्रमा सम्भावना छ त्यसको कुनै हिसाब छैन । तर, पैसाको परिचालन हुन सकेको छैन ।’
निक्षेप अत्यधिक हुनुले बैंकहरू घाटामा जाने अथवा डुब्ने अवस्थामा नपुग्ने तर, पुँजी वृद्धिमा समस्या हुने उनी बताउँछन् । ‘अत्यधिक निक्षेप बैंकहरूका लागि चिन्ताको विषय हो तर, बैंकहरूले विभिन्न क्षेत्रमा लगानी गरेर नाफा कमाउन सक्छन् । आत्तिनुपर्ने कुरा पनि होइन,’ उनी भन्छन्, ‘लगानी गर्न सक्ने क्षमता हुँदाहुँदै पनि सही ठाउँमा लगानी सदुपयोग भएन भन्ने हो । पैसा नहुनु समस्या हो, पैसा बढी हुनु त समस्या होइन तर, व्यवस्थापन नभएर समस्या भइदियो ।’
राष्ट्र बैंकले विभिन्न निक्षेप संकलन उपकरणमार्फत् बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्दै आइरहेको छ । राष्ट्र बैंकले दीर्घकालीन अर्थात् लामो समयसम्म चाहिनेभन्दा बढी लगानीयोग्य रकम अधिकतम ३ प्रतिशतसम्मको ब्याजदरमा व्यवस्थापनका लागि बन्ड जारी गर्ने अभ्याससमेत शुरू गरिसकेको छ ।
बैंकहरूमा लगानीयोग्य रकम भएर मात्रै लगानी नहुने पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पाण्डे बताउँछन् । देशमा लगानीमैत्री वातावरण नबनेसम्म लगानी नबढ्ने उनको भनाइ छ । ‘लगानी गर्न रकम भएर मात्रै भएन, लगानी गर्ने मान्छे हुनुपर्यो । बैंकहरूसँग लगानी योग्य रकम भएर मात्रै भएन, लगानी गर्नेहरूको सम्पत्ति र लगानीकर्ता सुरक्षित हुनुपर्यो,’ पाण्डेले भने, ‘जहाँ राज्य सञ्चालन गर्नेहरू नै सुरक्षित छैनन्, त्यस्तो ठाउँमा कसरी लगानी हुन्छ ? त्यस्तो ठाउँमा कसरी र कसले कर्जा लिएर व्यापार व्यवसाय गर्छ ?’
युवा जनशक्ति नेपालमा लगानी गर्न विश्वस्त नहुनु पनि ठूलो चुनौतीको विषय रहेको पाण्डे बताउँछन् । हरेक राष्ट्रहरूले आफ्नो देशमा लगानीकर्ता भित्र्याउन आकर्षक सेवा सुविधा दिँदै गर्दा नेपालमा लगानीकर्ता भित्र्याउने आधार नभएको उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहा हुनुपर्छ भन्दै मान्छेहरू हिँडिरहेका छन् । जसलाई जे मन लाग्यो त्यही भनेर हिँडेको छ, यसरी देशमा लगानी गर्ने वातावरण सृजना हुँदैन,’ पाण्डे भन्छन्, ‘सबै नेताहरू चोर फटाहा, सबै भ्रष्टाचारी हुन् भनेर परिभाषित गरिँदै आएको छ । राम्रो काम गर्नेहरू पनि छन् । साँच्चिकै राम्रो गर्नेहरू देशमा नभएका हुन् ? यसरी सबैलाई गलत, चोर, फटाहा भनेर परिभाषित गरेर कसले यो देशमा लगानी गर्छ ? अन्य राष्ट्रहरूले लगानीकर्ताहरूलाई सेवा सुविधासहित आव्हान गरिरहेका छन् । नेपालमा किन आउने ? आधार हुनु पर्यो ।’
लगानी गर्नेहरूको लगानी सुरक्षित हुने ग्यारेन्टी र कन्फिडेन्स नभएर लगानीयोग्य रकम थुप्रिएको पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत बताउँछन् । लगानीकर्तामा आत्मविश्वास नभएकाले रकम बैंकमा थुप्रिएको उनको भनाइ छ । ‘लगानी नभएको कारणले बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम बढी रहेको छ । लगानी नहुनुको कारण लगानीकर्तामा आत्मविश्वास भएन,’ डा. महत भन्छन्, ‘लगानीकर्ताहरूलाई लगानी सुरक्षित नभएको महसुस भयो । बजारमा लगानी नभई पैसा चलायमान भएन ।’
बैंकहरूसँग भएको लगानीयोग्य रकम परिचालन गर्न सुरक्षाको प्रत्याभूति गर्नुपर्ने डा. महत बताउँछन् । ‘सबैभन्दा महत्त्वपूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्यो । सुरक्षाको प्रत्याभूति गराएर लगानीका लागि वातावरण सृजना गर्न आवश्यक छ,’ डा. महत भन्छन्, ‘त्यसका लागि शान्त पूर्णरूपमा निर्वाचन हुनुपर्यो । निर्वाचन भएपछि एउटा सरकारले लगानीकर्तालाई कन्फिडेन्स दिन सक्नुपर्यो ।’
राष्ट्र बैंकको प्रमुख कामहरूमध्ये एक बजारमा भएको अत्यधिक तरलता व्यवस्था गर्नु हो । राष्ट्र बैंकले स्थायी मात्रै नभएर दीर्घकालीन रूपमा तरलता व्यवस्थापनको अभ्यास शुरू गरेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।
पछिल्लो समय निक्षेप संकलन मात्रै बढेको र कर्जा प्रवाह केही सुस्त भएकाले बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिँदै गइरहेको उनको भनाइ छ । ‘राष्ट्र बैंकको प्रमुख कामहरूमध्ये तरलता व्यवस्थापन पनि एक हो । पछिल्लो समय हेर्ने हो भने राष्ट्र बैंकले दुई तरिकाले बजारमा भएको अधिक तरलतालाई व्यवस्थापन गर्न रकम खिचिरहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘स्थायी निक्षेप सुविधा(एसडीएफ)मार्फत् तरलता व्यवस्थापन राष्ट्र बैंकले गरिरहेको छ । यसका साथै दीर्घकालीन रूपमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बन्ड पनि निष्कासन शुरू गरेका छौं । एक वर्षका लागि बन्डको अभ्यास शुरू गरिएको छ ।'