
राज्यको झण्डै ४० अर्ब रूपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) उडानबिहीन छ ।
उडान हुँदै-रोकिँदै आएको विमानस्थलले अहिलेसम्म लय समात्न सकेको छैन । २०७९ मा उद्घाटनका बेला कुवेतको जजिरा एयरलाइन्सदेखि कतार एयरवेजसम्मले दैनिक ५ वटासम्म उडान भरेका थिए ।
२६ मार्चसम्म थाई एयर एसियाले सातामा दुई दिन आइतबार र बुधबारसम्म उडान गरे पनि अहिले ‘समर भ्याकेसन’मा यात्रु अभावको कारण देखाउँदै उडान स्थगित गरेको छ ।
वैदेशिक उडानका लागि भिसा प्रक्रियादेखि श्रम स्वीकृतिसम्मका निकायलाई भैरहवा ल्याउन नसक्दा केही एयरलाइन्सले क्षणिक समयका लागि उडान गर्दै आए पनि नियमित हुन सकेको छैन ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले विमानस्थल सञ्चालनका लागि आवश्यक श्रम, मेडिकल, भिसा प्रक्रिया लगायत कार्यालय भैरहवा र पोखरामा सञ्चालन गर्ने जनाएको थियो । अहिलेसम्म श्रम, मेडिकल, भिसा, कार्गो, क्वारेन्टाइन लगायत विषय सम्बोधन गरिएका छैनन् ।

काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले ६० अर्बभन्दा बढी लगानी गरेका छन् । विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बौंको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ । व्यवसायीहरूमा बैंकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ भने कतिपय त पलायन हुने चिन्तामा देखिन्छन् ।
विमानस्थल सञ्चालनका लागि निरन्तर आन्दोलित सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले नयाँ सरकारले विमानस्थल सञ्चालन गर्ने योजना ल्याउला भनेर आशामा रहेका व्यवसायीलाई निरास बनाएको बताए ।
‘सरकारले स्वास्थ्य परीक्षण, भिसा सेन्टर र श्रम स्वीकृतिका पूर्वाधार तयार गर्न निश्चित बजेट छुट्याएर, केही महिनाभित्र उडान शुरू गर्छौं भन्ने योजना आउला भन्ने आशा थियो’, ज्ञवालीले भने, ‘कूटनीतिक पहल गरेको भए पनि हुने तर, उही अघिल्ला सरकारले जस्तो पुरानै ट्रेन्ड देखायो । दुई तिहाइको सरकारले पनि केही गर्ने देखिएन ।’
सरकारले आउँदो आर्थिक वर्षको बजेट भाषणमा जीबीआईएलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लैजाने बताएको छ । विमानस्थललाई देखेर व्यवसायीले ठूलो लगानी गरेको पर्यटन क्षेत्र जोखिममा परेको भन्दै एयरपोर्ट सञ्चालनको माग गर्दै निजी क्षेत्र आन्दोलित छन् ।

सरकारले १५ जेठमा ल्याएको बजेटमा विमानस्थल सञ्चालन गर्ने घोषणा गरे पनि कार्ययोजना ल्याउन सकेन । झण्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान र सञ्चालनको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए पनि स्पष्ट योजना ल्याउन नसकेको निजी क्षेत्रले गुनासो गरेका छन् ।
काठमाडौंमा ठूलो मेनपावर कम्पनी र एयरलाइन्सको सिन्डिकेट अहिलेको सरकारले पनि तोड्न सक्ने छाँट देखाउन नसकेको सिद्धार्थ सञ्जालका अध्यक्ष ज्ञवाली बताउँछन् ।
‘सुकुम्बासीलाई २४ घण्टाभित्र हटाउन सक्ने सरकारको चाहना हुने हो भने, विदेश जान गर्नुपर्ने सम्पूर्ण प्रोसेसिङका काम सरकारले भैरहवाबाट गराउन सक्थ्यो’, ज्ञवालीले थपे ।
नेपाल उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ सरकारको घोषणा स्पष्ट नभएको बताउँछन् । ‘सरकारले कम्तीमा यति महिनाभित्र सञ्चालन गर्ने भनेर योजना ल्याउनुपर्थ्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘यो सरकारले पनि अघिल्ला सरकारले जस्तै भुलभुलैयामा पारेको देखियो । व्यवसायी खिन्न छन्, अरु नभए पनि नेपाल एयरलाइन्सको दैनिक एउटा उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाउन सक्नुपर्थ्यो । वैदेशिक रोजगारीमा जानेलाई भैरहवा र पोखराबाट अनिवार्य गर्ने भन्न सक्थ्यो केही पनि गरेन ।’
विमानस्थल लुम्बिनी प्रदेशका जनताको भविष्यसँग जोडिएकाले निजी क्षेत्र चुप लागेर बस्न नहुने नेपाल चेम्बर अफ कर्मश लुम्बिनी प्रदेश उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सीपी) बताउँछन् ।

एयरपोर्टमा सुरक्षाका लागि एसएसपीको नेतृत्वमा १८५ जना नेपाल प्रहरीको दरबन्दी छ । विमानस्थल सुरक्षाका लागि ७० जना हाराहारी सैनिक खटिइरहेका छन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंक लगायत कार्यालय सञ्चालनमा छन् ।
विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गत कूल ४१ कर्मचारीको दरबन्दी छ । तीमध्ये महाप्रबन्धकको नेतृत्वमा दरबन्दी अनुसारका कर्मचारी कार्यरत छन् । त्यसबाहेक २४ जना सेवाप्रदायक र ६० जना दैनिक ज्यालादारीका कर्मचारी रहेका छन् । विमानस्थलमा इन्धनका लागि पहिल्यै आयल निगमको डिपो रहेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत रामचन्द्र अर्याल राज्यको तदारुकताबिना निजी क्षेत्रले मात्र पूर्ण क्षमतामा एयरपोर्ट सञ्चालन गर्न गाह्रो हुने देख्छन् ।
‘राज्यले कम्तीमा दुई वटा एयरबस थप गरेर आफ्नो उडान काठमाडौंबाट मात्र होइन, भैरहवाबाट पनि गर्नुपर्छ । अन्य निजी क्षेत्रका एयरलाइन्सलाई काठमाडौंमा टु इज भैरहवा वान कम्पलसरी गराउने साहस देखाउनुपर्छ’, अर्याल भन्छन्, ‘विमानस्थल चलाउनुपर्छ भन्ने आन्तरिक छलफल र बहस सरकारले अघि बढाएको छ, आउँदो दशैँसम्म केही नयाँ विषय पक्कै आउँछ जस्तो लाग्छ ।’
राष्ट्रिय गौरवको आयोजनाका रूपमा १ माघ २०७१ मा शिलान्यास भएको एयरपोर्ट निर्माणमा झन्डै आठ वर्ष लागेको थियो । २०७९ जेठ २ मा विमानस्थलको उद्घाटन भएको थियो ।