
टेकुका अमर शाही भन्ने अमर खड्गी र सुजन श्रेष्ठले लागुऔषध कारोबार गर्छन् भन्ने सूचना पाएपछि प्रहरीले तत्काल पक्राउ गर्यो ।
उनीहरूको साथबाट केही मात्रामा खैरो हेरोइन र गाँजाको धूलो पनि बरामद भयो । तर, प्रहरीले दुवै जनाको मोबाइल चेक गर्दा हतियारको फोटो/भिडियो फेला पर्यो ।
शाहीले बोकेको मोबाइलमा हतियारको भिडियो देखेपछि प्रहरीले ‘हतियार खै ?’ भनेर सोध्यो । उनीहरूले घरमा लुकाएर राखेको बताए ।
पछि प्रहरी वृत्त कालीमाटीले खोजतलास गर्दा घर पछाडि झाडीमा लुकाएर राखेको (३२६ राउन्ड वेपन लेखिएको) रिभल्वर र एक राउन्ड गोली फेला पर्यो ।
प्रहरीले श्रेष्ठको डेरामा पनि खानतलासी गर्यो । श्रेष्ठले स्टिलको दराजमुनि प्लास्टिकमा पोको पारेर एउटा रिभल्वर पाँच राउन्ड गोली राखेको भेटियो ।
प्रहरीले उक्त हतियार बरामद गरेर उनीहरूविरुद्ध हातहतियार खरखजाना मुद्दा दर्ता गर्यो । अनुसन्धानका क्रममा हाल फरार रहेका गौरव शाहीले आफूलाई जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हतियार भन्दै रिभल्वर र गोली राख्न दिएको बयान अमर र सुजनले दिए ।
गौरवले रिभल्वरमा गोली यसरी लोड गर्नुपर्छ भनेर भिडियो खिच्न लगाएपछि आफूहरूले मोबाइलमा खिचेको उनीहरूले बताएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अमर, सुजन र गौरवविरुद्ध जिल्ला अदालत काठमाडौंमा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा काठमाडौंमा प्रहरीका हतियार लुट्ने अमर, सुजन र गौरव प्रतिनिधि पात्र मात्रै हुन् ।

प्रहरीले उनीहरू जस्तै १९ समूहविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । विभिन्न प्रकारका ४० वटा हतियारसहित पक्राउ परेका ५१ जनालाई प्रहरीले मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीले १५ वटा पेस्तोल, तीनवटा रिभल्वर, एउटा इन्सास राइफल, एउटा ग्यास गन, ६ सय १३ वटा विभिन्न हतियारमा लाग्ने गोली, २० वटा रबर बुलेट, २६ वटा म्याग्जिन, एउटा ग्यास सेल र एउटा हत्कडी बरामद गरेको छ ।
जेनजी आन्दोलनमा आन्दोलनकारीले प्रहरीका ज्याकेट समेत लुटपाट गरेको पाइएको छ ।
प्रहरीले पक्राउ गरेकाबाट १३ वटा ज्याकेट बरामद गरेको छ । यो सँगै पक्राउ परेका आन्दोलनकारीबाट कम्प्युटरको सीपीयू, प्रिन्टर, डीएमएस बुट, फूलगियर, ह्यान्ड माइक, हेल्मेट, रुक्याक्स ब्याग, बर्सादी, सवारी ब्लु बुक, लाइसेन्स, प्रहरीको मोटोरेला सेटको ब्याट्री समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौंका प्रहरी युनिटबाट लुटपाट भएका हतियार प्रहरीले पूर्वमा झापादेखि इलामसम्म र पश्चिममा कैलालीको टीकापुरसम्मबाट बरामद गरेको छ ।
त्यस्तै, मधेश प्रदेशका सर्लाही, रौतहट, सिरहा, पर्सा र बाराबाट समेत हतियार लुटेरालाई पक्राउ गरेर मुद्दा चलाएको जानकारी भट्टराईले दिए ।
‘आन्दोलनकारीले भदौ २४ मा प्रहरीलाई देख्नै नहुने अवस्था थियो । कुट्नेदेखि मार्ने तहसम्मको तहमा पुगेका थिए,’ भट्टराईले लोकान्तरसँग भने, ‘हतियार लुटेर प्रहरीलाई एक हिसाबले निशस्त्र बनाउन खोजिएको थियो । प्रहरीले मनोबल उच्च राख्दै काम गर्यो र अहिले आमसमुदायमा प्रहरी चाहिने रहेछ भन्ने भाव पैदा भएको छ ।’