
बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका रामकृष्ण खतिवडा एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि उनलाई उक्त पदमा नियुक्त गरेको
सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए ।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यावसायिक अनुभव संगालेका छन् ।
उनी वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन् । उनले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थाको उच्च पदमा रहेर काम गरिसकेका छन् ।