०६ असार २०८३, शनिबार

काठमाडौँमा बालिकाहरूलाई यौनजन्य क्रियाकलापमा लगाउने दुई जना ट्याक्सीसहित पक्राउ

पुस २१, २०८२
काठमाडौं
काठमाडौँमा बालिकाहरूलाई यौनजन्य क्रियाकलापमा लगाउने दुई जना ट्याक्सीसहित पक्राउ

 बालिकाहरूलाई ललाईफकाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भई ललितपुर बस्ने २६ वर्षीय राजन तामाङ र दोलखा घर भई काठमाडौँको लोलाङ बस्ने ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गत पुस १२ गते राति साढे १२ बजे ठमेलस्थित सञ्चयकोष चोक नजिकै सडक खण्डमा बा २ ज २३२७ नम्बरको ट्याक्सीलाई शङ्कास्पद अवस्थामा फेला पारिएको थियो । प्रहरीले जाँच गर्दा उक्त ट्याक्सीको पछाडिको सिटमा दुई जना बालिकाहरूलाई राखिएको फेला पारेपछि उनीहरूको उद्धार गरेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका राजन र लक्ष्मणले विभिन्न व्यक्तिहरूसँग मोबाइलमार्फत महिला तथा बालिकाहरूको फोटो आदानप्रदान गर्ने र रकमको बार्गेनिङ गरी उनीहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको खुलेको छ । प्रहरीले बा २ ज २३२७ नम्बरको ट्याक्सी र रेडमी तथा सामसुङ कम्पनीका दुईवटा मोबाइल सेट समेत बरामद गरेको छ ।

पक्राउ परेकामध्ये लक्ष्मण तामाङको पृष्ठभूमि थप आपराधिक देखिएको छ । उनी विरुद्ध वि.सं. २०७३ साल असोज ३० गते जिल्ला प्रहरी कार्यालय दोलखामा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक  पवन कुमार भट्टराईले पक्राउ परेका दुवै जनामाथि ‘अभद्र व्यवहार’ र ‘मानव बेचबिखन तथा ओसारपसार’ कसूरमा थप अनुसन्धान भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्