
अर्घाखाँचीको पाणिनी गाउँपालिकाका सातवटा वडामा अहिले व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । दुई दशक अघिबाट शुरू गरिएको व्यावसायिक सुन्तला खेती अहिले पालिकाका लागि वरदान सावित भएको छ ।
त्यसमध्ये वडा नम्बर– १ का सबै घरधुरी सुन्तला खेतीमा लागेका छन् । साविकको पणेना गाविसमा पर्ने वडाका सबै ७३ घरधुरीका आँगनमा सुन्तला उत्पादन भइरहेको छ, जसमध्ये ४५ घरधुरी पूर्णरूपमा व्यावसायिक र बाँकी २७ घरधुरीले आंशिकरूपमा सुन्तला खेती गरेर नमूना वडाको पहिचान दिलाएका छन् ।
प्रत्येक घरधुरीले एक लाखदेखि २० लाखभन्दा बढीका सुन्तला बिक्री गरेर समृद्ध बन्नुका साथै आत्मनिर्भर बनेका छन् ।

वडाबाट अहिले गाउँपालिकाभर सुन्तला खेती विस्तार हुनुका साथै पाणिनीका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला बन्न पुगेको छ । पाखापखेरा पहेँला सुन्तलाका दानाले लटरम्म ढाकिएका छन् ।
सिम्लेमा सबैभन्दा धेरै सुन्तला खेती, उत्पादन र बिक्री गर्ने किसानमा पर्छन्, चिरञ्जीवी पौडेल । गत वर्ष झण्डै २५ लाखमा सुन्तला बिक्री गरेका चिरञ्जीवीले यो वर्ष पनि २४/२५ लाख बराबरको बिक्री गर्ने चटारोसहित सुन्तला टिपिरहेका छन् ।
‘गत वर्ष ८० रूपैयाँका दरले ३०० क्विन्टल सुन्तला बिक्री गरेको हुँ’, पौडेल भन्छन्, ‘अहिले गत वर्षभन्दा मूल्य बढी ८५ रूपैयाँमा बगैँचाबाट बिक्री भइरहेको छ ।’
यो वर्ष उनका ३०० बोटले उत्पादन दिएका छन् । अर्को वर्षबाट नयाँ २५० सुन्तलाका रूख उनको बगैँचामा थपिने छन् ।
‘मेरो सबै जग्गा खेत, बारी, पखेरो सुन्तलाले भरिएको छ,’ चिरञ्जीवी भन्छन्, ‘सुन्तला खेतीबाट सम्पूर्ण खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी लिन सक्षम भएको छु ।’
पाणिनी–२ पोखराथोकका किसान भाष्कर पौडेलले ७२ क्विन्टल सुन्तला ८८ रुपैयाँ प्रतिकेजी बेचेका छन् । उनका सुन्तला सन्धिखर्क फलफूल डिपोका जीवन खनालले खरिद गरेपछि उनले ६ लाख नगद पनि भित्र्याए ।
‘हाम्रो गाउँ सुन्तला खेतीको केन्द्र बनेको छ । मैले हरेक वर्ष ८/१० लाखका सुन्तला बिक्री गर्छु । गाउँ सुन्तलाको जोन बनेको छ,’ भाष्कर भन्छन्, ‘ विदेश जान नपर्ने, शहर झर्न पनि नपर्ने, गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ हुन्छ । हरेक वर्ष बिरुवा थप्दै गएका छौं । पहिले खाद्य बाली कोदो, मकै र धान खेती गर्ने ठाउँमा अहिले सबै नगदेबाली सुन्तलाका बोट मात्र छन् । आँगनको डिलदेखि खेतबारीसम्मै सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ ।’
गाउँमा जनशक्ति अभाव र अन्नबालीका लागि प्रतिकूल बनेको पाणिनीमा सुन्तला खेतीले किसानको दैनिकी फेरिएको गाउँपालिकाका कृषि अधिकृत मेघनाथ पौडेल बताउँछन् ।
पालिकाले किसानका लागि सिँचाइ, औँसा किरा नियन्त्रण, बगैँचा व्यवस्थापन, बगैँचा सुदृढीकरण, फलफूल ढुवानीमा अनुदान सहयोग प्रदान गर्दै आएको कृषि अधिकृत मेघनाथको भनाइ छ ।
सिम्लेकै रेवती पौडेलको परिवारले सो क्षेत्रमा सुन्तला खेतीको शुरूआत गरेको थियो । वि.सं. २०४५ मा परीक्षणका लागि दर्जन सुन्तलाका बेर्ना रोपिएका थिए ।
अहिले उनीहरूकै अगुवाइमा वि.सं. २०६० सालदेखि व्यावसायिक रूप लिएको हो । अहिले यहाँका सबै वडावासी र पालिकाका अन्य सातवटा वडामा गरेर ५०० भन्दा बढी किसान व्यावसायिक सुन्तला खेतीमा तल्लीन छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर– १ का वडाध्यक्ष कमलप्रसाद पोखरेलले वडावासी सबैले खाली ठाउँमा सुन्तला रोप्न थालेको बताए ।
‘८/१० वटा सुन्तलाको रूख वडाका सबै घरमा छन्,’ अध्यक्ष पोखरेल भन्छन्, ‘कसैले २५ लाखसम्म कमाउँछन्, कसैले १०, १५, २० लाखदेखि न्यूनतम् ५०/६० हजारको सुन्तला बिक्री गर्छन्, नगदेबाली सुन्तलामा वडाबासी निर्भर छन् ।’
पाणिनीको ८०० देखि १ हजार ४०० मिटरको उचाइमा रहेको चिसो मौसम सुन्तला खेतीका लागि उपयुक्त छ । विगतमा निर्वाहमुखी परम्परागत कृषि अन्तर्गत केही स्थानमा धान र कोदोजस्ता अन्नबाली हुने पाणिनी– ३ फिदिम, पाणिनी– ४ पटौती, पाणिनी– २ पोखराथोक अहिले सुन्तला उत्पादनको केन्द्र बन्न पुगेका छन् ।
उत्पादन र बिक्रीको आधारमा यस वर्ष पालिकाले सुन्तलाबाट झण्डै १५ करोड रूपैयाँ भित्र्याउने कृषि अधिकृत पौडेल बताउँछन् ।
अहिले फल लागेका तथा नयाँ र पुराना गरी करिब २० हजारभन्दा बढी सुन्तलाका बोटबोट बिरुवा हुर्किने र फैलिने क्रममा छन् ।

प्रतिरोपनी मुस्किलले दुई मुरी धान फल्ने भिरालो पाखोमा २० देखि २५ वटा सुन्तलाको बोट हुर्कने गरेको छ । यसले पनि किसानमा उत्साह थपेको छ । पाणिनीबाट शुरू भएको सुन्तला खेती अहिले अर्घाखाँचीका अन्य पालिका, पाल्पा, गुल्मीलगायतका जिल्लामा फैलिएको छ ।
नेपालमा मौसमी हिसाबले कार्तिकदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुन्तला उत्पादन भइरहेको पाइन्छ । सुन्तला टिपिसकेपछि बोटलाई कटिङ गर्नुपर्छ । सुकेका, भाँचिएका हागाबिँगा हटाउने, जिंक हाल्ने, कम्पोस्ट मलमा रासायनियक मल मिलाएर हाल्ने काम पनि गर्नुपर्छ ।
सुन्तलाका लागि समशीतोष्ण हावापानी उपयुक्त हुन्छ । ग्रीष्म तथा तातो हावा नचल्ने ठाउँ उपयुक्त मानिन्छ । हरेक वर्ष करोडौंको सुन्तला आयात हुँदा त्यसलाई रोक्न राज्यको ध्यान जानुपर्ने किसानहरूको माग छ ।
संघीय, प्रदेश र स्थानीय तहको सहयोग पाएपछि पाणिनीमा सुन्तला खेती गर्ने किसान बढेका मात्र छैनन्, उत्पादन पनि बढेको छ । उत्तर फर्केका भूभागका अधिकांश किसान प्राविधिक सहयोग, मल–बिउ, उपकरण अनुदानमा पाएपछि सुन्तला खेतीतिर आकर्षित छन् ।
पाणिनीमा गत वर्ष यो सिजनमा झण्डै २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यसपालि २३ करोड बढीको सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।