
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाको पाँचौँ तथा अन्तिम खेल सिड्नी क्रिकेट ग्राउन्डमा जारी छ । पाँचौँ टेस्टको चौथो दिन बुधबारको खेल जारी रहँदा अस्ट्रेलियन टोली जिततर्फ अग्रसर देखिन्छ ।
पाँचौँ टेस्टमा अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान स्टिभ स्मिथले एसेस टेस्टको ९६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । अस्ट्रेलियाको पहिलो पालीमा उनले शतक बनाए । कप्तान स्मिथले एक सय ३८ रनको महत्वपूर्ण पाली खेले ।
स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३७औँ शतक हो । यसका अतिरिक्त, एसेस टेस्टमा उनले बनाएको यो १३औँ शतक हो । योसँगै उनी एसेस शृंखलाको इतिहासमा ९६ वर्ष पुरानो कीर्तिमान तोड्दै सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा उक्लिएका हुन् ।
उनले इङ्ल्यान्डका पूर्वब्याट्सम्यान ज्याक हब्सको कीर्तिमान तोडेका हुन् । ज्याक हब्सले एसेस शृंखलामा १२ वटा शतक प्रहार गरेका थिए । अब उनी सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा तेस्रो नम्बरमा झरेका छन् ।
एसेस शृंखलामा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान भने सर डान ब्राडम्यान हुन् । उनले एसेस शृंखलामा १९ वटा शतक प्रहार गरेर इतिहास रचेका छन् । यो कीर्तिमान अझै लामो समय ब्राडम्यानकै नाममा रहने छ ।
एसेस शृंखलामा सर्वाधिक रन बनाउने सूचीमा पनि ब्राडम्यान कुल पाँच हजार २८ रनसहित पहिलो स्थानमा छन् । यो सूचीमा पनि स्टिभ स्मिथ तीन हजार ६ सय ८२ रनसहित दोस्रो स्थानमा र ज्याक हब्स तीन हजार ६ सय ३६ रनसहित तेस्रो स्थानमा आसिन छन् ।
स्टिभ स्मिथले भारतका महान क्रिकेटर सचिन तेन्दुल्करलाई पनि पछि पारेका छन् । स्मिथले सबैभन्दा कम पालीमा ३७औँ टेस्ट शतक पूरा गर्ने तेन्दुल्करको कीर्तिमान तोडेका हुन् । स्मिथले दुई सय १९ र तेन्दुल्करले दुई सय २० पालीमा ३७औँ टेस्ट शतक पूरा गरेका हुन् ।
यद्दपि, सबैभन्दा कम पालीमा ३७औँ टेस्ट शतक पूरा गर्ने खेलाडी अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ हुन् । उनले केवल दुई सय १२ पालीमा ३७औँ टेस्ट शतक पूरा गरेका थिए ।